विपी राजमार्गमा टिपर दुर्घटना हुँदा दुईको मृत्यु
बनेपा : विपी राजमार्गमा जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ। सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा बुधबार साँझ बा ४ख ९४३८ नं को टिपर दुर्घटना हुँदा तेमाल गाउँपालिका–९ का २२ वर्षीया कृष्णमाया माझी र १६ वर्षीय चुनपाई लामाको मृत्यु भएको काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए। उनका अनुसार रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको टिपर कमेरेफाँटस्थित विपी राजमार्गमा अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।
घाइतेमध्ये तेमाल गाउँपालिका–९ का १२ वर्षीय दिनेश तामाङ र १२ वर्षीय नीरज माझीको अवस्था गम्भीर रहेकाले ट्रमा सेन्टरमा लगिएको र अन्य घाइतेमध्ये सात जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकीको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ। प्रहरीले टिपर चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ का ३७ वर्षीय खड्क माझीलाई नियन्त्रणमा लिई घटनाबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।