गुरुकुलमा ‘मुनामदन’
विराटनगर : विराटनगरस्थित सुशीला कोइराला नाटकघर आरोहण गुरुकुल दर्शकले भरिभराउ थियो । त्यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’ मा आधारित नाटक मञ्चन हुँदै थियो । उपस्थित दर्शकमा निक्कै नाटक हेर्न उत्सुक देखिन्थे ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मुनामदनको श्लोकवाचन गरेर नाटकको उद्घाटन गरेसँगै दर्शकको गडगडाहट तालीले हल गुञ्जिएको थियो । तर नाटक सुरु भएपछि भने सबै शान्त भए । मन छुने नाटकले सबैको ध्यान खिचिदियो । फागुन २ गतेसम्म प्रतिदिन दुई सो नाटक मञ्चन गरिनेछ । मेयर पराजुलीले साहित्य, संगीत र कलाकारिता क्षेत्रलाई महानगरको सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्राज्ञ विवश पोखरेल, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरी, आयोजक संस्थाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य राखेका थिए । मुनामदनका कारुणिक र दुखान्त वेदना समेटेर तयार पारिएको नाटक हेर्ने प्रायका आँखाबाट आँसु बगेको देखिन्थ्यो ।
‘मैले यति दुःख र पीडा समेटेर तयार पारेको नाटक कहिल्यै हेरेको थिइनँ । साँच्चै नाटकले मुनामदनले भोगेका कष्ट र पीडालाई प्रष्टसँग उतारेको छ,’ नाटक हेर्न गुरुकुल पसेकी खोटाङ हलेसी नगरपालिकाकी उपमेयर विमला राईले भनिन्, ‘सुरुदेखि नै मेरा आँखा रसाउन थालिहाले । अन्तिमसम्म पनि नाटकमा देखाइएको पीडाले छटपटी भइरहयो ।’ उनले साँच्चै नाटकले मुनामदनको यथार्थ चित्रण गरेको बताइन ।
युवा साहित्यकार कटवाल दीपकले नाट्य रूपान्तरण गरेको नाटकको निर्देशन सविन कट्टेलले गरेका हुन् । विराट आदर्श साहित्य मञ्चनको आयोजना सुरु भएको नाटकमा रेजन राई, लकेश लम्साल, वर्षा न्यौपाने, जीविका लिम्बू, सरु कटवाल, सम्झना आचार्य, मिलन चाम्लिङ, नवराज गिरी, मुस्कान तिम्सिना, नवराज नेपाल, सन्देश बाह्रकोटीलगायतले अभिनय गरेका छन् । नाटकमा सहभागी सबै कलाकार विद्यार्थी हुन् ।
मञ्चले युवा पुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोच र असल नागरिक बन्न प्रेरित गरेको अध्यक्ष कटवाल दीपकले बताए । यसअघि पनि यो नाटक आरोहण गुरुकुल, काठमाडौंको शिल्पी थिएटर र विराटचोकमा मञ्चन भइसकेको छ ।