कालीगण्डकीमा गाडी खसालेर युवतीको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद
बेनी : म्याग्दीको रघुगंगा गाँउपालिका १ तिप्ल्याङमा सात महिनाअघि भएको ‘रहस्यमय दुर्घटना’ सम्बन्धी मुद्दामा म्याग्दी जिल्ला अदालतले पीडितको पक्षमा फैसला गरेको छ।
अन्नपूर्ण गाउँपालिका ७ घराम्दीकी २० वर्षीया सविता नेपालीलाई अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै बेनपा ९ का ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवी) लाई सर्वस्वसहित जन्मकैद र जरिवाना तिराउने फैसला गरिएको हो।
जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार कर्तव्य ज्यान मुद्दामा मुलुकी ऐन २०२० अनुसार खड्कालाई दोषी ठहर गरेको हो। दोषीलाई सर्वस्व सहित २० वर्षको जन्मकैद, अपहरण तथा शरीर बन्धक बनाएकोमा आठ वर्ष र पीडित महिला भएकाले थप दुई वर्ष गरी तीस वर्ष कैद सजाय गर्ने फैसला सुनाइएको श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिए।
बुर्लाकोटीका अनुसार खड्कालाई एक लाख रुपैयाँ र अपहरण अवधिको दैनिक पाँच सय रुपैयाँका दरले जरिवाना तिराउने फैसला भएको छ। सबिताकी छामा विष्णु परियारले अदालतको फैसलाबाट न्यायको महशुस गरेको बताइन्। अदालतको फैसला अनुसार खड्कालाई बुधबार साँझ जिल्ला कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले बताए।
‘रहस्यमय दुर्घटना’
२०७५ असार १४ गते लु २ च २४५४ नम्बरको जिपमा यात्रा गरिरहेकी सविता नेपालीलाई बेनी–जोमसोम सडक अन्तरगत तिप्ल्याङ खण्डको सडकबाट कालीगण्डकीमा खसालेर चालक बेपत्ता भएका थिए। चालक खड्का छ दिनपछि असार २० गते पोखरा प्रहरीको सम्पर्कमा आए।
कालीगण्डकीमा बेपत्ता भनिएका चालक जीवितै फेला परेपछि सविताकी आमा राधिकाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले खड्काका विरुद्ध कर्तव्य, ज्यान, अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दा चलाएको थियो। प्रहरी नायक उपरीक्षक वीरबहादुर बुढाका अनुसार मोबाइल ‘ट्यागीङ’ गर्दा चालक पोखरामा रहेको देखिएपछि आफन्तको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
कालिगण्डकीमा खसेको जीप असार १५ गते करिब पाँच सय मिटर तल बेगखोलामा भेटिएको थियो। यो घटनाले दुई दशकअघि चितवनको दासढुङ्गामा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रीत सवार गाडी त्रिशुलीमा खसेको घटनाको झल्को दिएको छ। भण्डारी र आश्रीतको निधन भए पनि चालक निर्मल लामा जिवितै थिए।
यस्तो थियो कारण
सविताको शव नभेटिए पनि मोबाइलमा भएको कुराकानी, रविको बयान, दुर्घटनाअघि सविता र रविको सम्बन्धको विषयमा घराम्दीमा भएको छलफलको निष्कर्ष र प्रत्यक्षदर्शीको वयानको आधारमा मुद्दा चलाइएको थियो।
रविले घराम्दीबाट पोखरा जाने यात्रु भएको भनेर आफूलाई बोलाएर भेला भएका गाउँलेले सवितालाई गर्भवती बनाएको आरोप लगाएको बताउँदा छागाबाट खसेजस्तै भएको बयान दिएका थिए।
छलफलका क्रममा नेपालीको पेटमा रहेको तीन महिनाको गर्भलाई स्वीकार गरेका थिए। तर उक्त आरोपको भने पुष्टि भएको छैन।
खड्काले चलाउने बोलेरो जीप घराम्दीकै व्यवसायीको थियो। कक्षा १२ को परीक्षा दिएकी सविता बेनीमा बसेर पढ्थिन्। घराम्दी–बेनी आउने जाने क्रममा २०७४ माघमा भएको चिनजान विकसित भएर शारीरिक सम्बन्धसम्म पुगेको गाउँलेसमक्ष दुवै जनाले स्वीकार गरेका थिए।
छलफलपछि रविले नेपालीलाई संगै लिएर जाने बताएका थिए। रवि विवाहित हुन् भने सविता अविवाहित। घराम्दीबाट बेनीतर्फ हिँड्ने क्रममा सँगै आउन खोजेका आमा समूह र सविताका आफन्तलाई गाडी फर्काएर आउँछु भन्दै हिँडेका रवि गाडी कुदाएर सवितालाई मात्र लिएर गएका थिए।
मानसिक तनावले गर्दा गाडी नियन्त्रणभन्दा बाहिर गएर दुवै जना कालीगण्डकीमा खसेको खड्काले बताए पनि कुनातर्फको साइडबाट हिँड्नुपर्ने गाडी कसरी डिलबाट खस्यो भन्ने शंका थियो।
रविले घराम्दीबाट सवितालाई लिएर बेनीतर्फ हिँडेपछि उनका साथीसँग मोबाइलमा रुँदै गरेको कुराकानीको रेकर्ड अनुसन्धानमा सहयोगी भएको थियो।
सवितासँग शारीरिक सम्पर्क राखेको स्वीकार गरेका रवीले महिनावारी रोकिएको बारेमा आफूलाई जानकारी नै नगराई एक्कासी गाउँले सामु उभ्याएर धोका दिएको प्रहरीसँगको अनुसन्धानको क्रममा गुनासो गरेका थिए।