दूध आयातमा कर बढाउन माग
इटहरी : नेपाल भरका दुग्द्य व्यवसायीहरुले विदेशी दूध आयातमा अन्तःशुल्क बढाउन र स्वदेशी उत्पादनमा कर घटाउन माग गरेका छन्। सरकारी नीतिका कारण स्वदेशका दुग्ध किसानदेखि व्यापारीहरु मारमा परेको जनाउँदै स्वदेशी उद्योगको प्रवद्र्धनका लागि नीतिगत त्रुटि सुधार गर्न माग गरेका हुन्।
सुनसरीको इटहरीमा डेरी उद्योग संघको दशौं वार्षिक साधारण सभामा बोल्दै दुग्द्य व्यवसायीहरुले भारतीय दूध बजारमा स्वदेशीभन्दा ९ रुपैयाँ सस्तोमा उपलब्ध भइरहेको गुनासो गरे। संघका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले भारतीय दूधमा भन्सारलगायतका कर बढाई स्वदेशी किसान तथा बिक्रेतालाई कर छुट दिन माग गरे।
सरकारले दुग्ध पदार्थमा दिँदै आएको ५० प्रतिशत भ्याट छुट सरकारले खारेज गरिदिएपछि थप समस्या भएको उनले बताए। नेपाली बजारमा विदेशी दूध आइरहेको र नेपाली दूधले सोचेअनुसारको बजार नपाएको उनको गुनासो थियो। विदेशी दूधको निर्वाध आयातका साथै आयातित दूधजन्य उत्पादनको कम बिजकिकरणका कारण विदेशी दूध सस्तोमा आइरहेको उनको भनाइ थियो।
यता प्रदेश १ सरकारले किसान तथा उद्योगीहरुको समस्या समाधान गर्ने गरी नीति ल्याउने आश्वासन दिएको छ। प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दूध निर्यात गर्ने गरी नीति लागू गरिने जानकारी दिए।
डेरी उद्योग संघका अनुसार अहिले प्रदेश १ बाट २५ देखि ३० हजार लिटर दूध दैनिक उत्पादन भइरहेको छ। आगामी वर्षदेखि वार्षिक ३० हजार मेट्रीक टन दूध काठमाडौं पठाउने योजना बनाइएको छ। काठमाडौं र छिमेकी देशको माग धान्ने गरी दूध उत्पादनलाई प्रवद्र्धन गरिने मन्त्री कार्कीले जानकारी दिए।
नेपालमा अहिले वार्षिक ७ लाख मेट्रिक टन दूध अभाव रहेको बताइएको छ। दुग्ध उत्पादनको योगदान राष्ट्रिय उत्पादनमा ९ प्रतिशत रहेको बताइएको छ। दुग्ध उत्पादनकै कारण वार्षिक १२ अर्व रुपैयाँ शहरबाट गाउँका किसानसम्म पुगिरहेको संघले जनाएको छ।