कैलालीमा १२ हजारभन्दा बढी चालक कारबाहीमा
धनगढी : कैलालीमा १२ हजार बढी चालक कारबाहीमा परेका छन्। चालु आर्थिक वर्ष २०७५/७६ को पुससम्म जिल्ला ट्राफिक कार्यालय कैलालीकाअनुसार पुषसम्म १२ हजार आठ सय ५६ चालक कारबाहीमा परेको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गर्ने देखि लिएर लाइसेन्स नभएका सवारी चालक कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यलय कैलालीका प्रमुख अनिलकुमार उप्रेतीले बताए।
कारबाहीमा सबैभन्दा बढी पुष महिनामा परेका छन्। पुस महिनामा मात्रै तीन हजार ३७ चालक कारबाहीमा परेका छन्। सबै भन्दा कम भदौमा १५ सय ७७ सवारी चालक कारबाहीमा परेको उप्रेतीले जानकारी दिए। सोही महिनामा मादक पदार्थ सेवन गर्ने दुई सय ८१ चालक कारबाहीमा परेका छन्।
६ महिनामा चालक कारबाहीबाट ७४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ। सोही अवधिमा भएका ७४ सवारी दुर्घटनामा ३४ जनाको मृत्यु र १ सय २२ जना घाइते भएका छन्।
ट्राफिक प्रहरीले गलत बत्ती संकेतका कारण दुर्घटना बढ्दै गएको जनाएको छ। ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख अनिलकुमार उप्रेतीले एउटा सवारीसाधनले अर्को सवारी साधनलाई उछिन्न खोज्दा गलत बत्ती संकेत प्रयोग हुँदै आएको बताए ।
अगाडि गुडिरहेको सवारीसाधनले पछाडिबाट उछिन्न खोज्ने सवारीसाधनलाई साइड दिँदा दायाँतिरको साइड लाइट बाल्ने चलन छ। फेरि त्यही गाडीले दायाँतिर क्रस गर्दा पनि त्यही दायाँतिरको साइड लाइट बाल्ने प्रवृत्तिले पछाडिका सवारीसाधनले साइड दिएको कि बाटो क्रस गर्न खोजेको भन्ने अन्योलमा परी सवारी दुर्घटना हुने गरेको उप्रेतीले बताए।
पछाडि रहेको गाडीलाई ओभरटेक गर्ने संकेत दिँदा बायाँतिरको साइड लाइट प्रयोग गर्नुपर्ने उनले बताए। 'सवारी चालकलाई हरेक शुक्रबार प्रशिक्षण दिने गरेको छौँ', उनले भने, 'विद्यालय, टोल समुदायमा अन्र्तक्रिया कार्यक्रम गर्ने गरेका छौं।'
तीन सय ७० चालकलाई प्रशिक्षण र दुई हजार दुई सय ४४ स्कुल सम्र्पक कार्यक्रम गरेको उनको भनाई छ। उप्रेतीले नेपालमा सवारी दुर्घटनामा परी प्रतिदिन ५ देखि ७ जनाको ज्यान जाने गरेको छ भने १४ देखि २० जना अपांग हुने गरेका छन्।
ट्राफिक नियम पालना गर्न नजान्दा झन्डै ९१ प्रतिशत, चालकको लापरबाहीले ३ प्रतिशत र तीव्र गतिका कारण २ प्रतिशत सवारी दुर्घटना हुने गरेको बताए।