दोलखाको उच्च भेगमा अति चिसोले बिरामी बढे
चरिकोट : लगातारको हिमपात र वर्षाको कारण चिसो अत्यधिक बढेपछि दोलखाको उच्च पहाडी भेगका बासिन्दाहरु हाइपोथर्मिया (शीताङ्ग)का कारण बिरामी हुन थालेका छन् ।
हिमपात र झरीपछि जिल्लाको उच्च पहाडी क्षेत्रको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ । दोलखा जिल्लाको कालिञ्चोक, बिगु, लामाबगर, वेदिङ, कोप्लाङ, चेर्दुङ, सैलुङ आसपासका बासिन्दाहरु अत्याधिक चिसोका कारण बिरामी पर्न थालेका हुन् ।
दुई सातादेखि परेको हिउँ बिलाउन नपाउँदै थपिएको हिउँ र वर्षाले ती क्षेत्रको जनजीवन कष्टकर बनेको छ । जिल्लाका उच्च पहाडी भेगमा हिमपातसँगै बिहानदेखि नै वर्षा भइरहेको छ ।
लगातारको चिसोका कारण संकलन गरिएका दाउरा पनि सकिएपछि कालिञ्चोक कुरी क्षेत्रमा पुगेका करिब डेढ दर्जन पर्यटक बिरामी पर्न थालेको कुरीका होटल व्यवसायी सोनाम तामाङले जानकारी दिए ।
हिउँ खेल्दा खेल्दा शरिरको तापक्रम घट्न थालेपछि पर्यटकहरु हाइपोथर्मियाले बिरामी पर्न थालेका हुन् । अत्याधिक चिसोका कारण सैलुङ क्षेत्रका बासिन्दा पनि बिरामी पर्न थालेको स्थानीय साङ्गे तमाङले बताए ।
शरिरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा कम भयो भने हाइपोथर्मियाले बिरामी बनाउने चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा. क्षमता घिमिरेले बताइन् । भिन्न कारण अत्यधिक चिसो भइ शरिरको तापक्रम अत्यन्तै कम हुनुलाई हाइपोथर्मिया अर्थात शीताङ्ग भनिने डा. घिमिरेले बताउँछिन् ।