अब हिटिङ पुलमा पौडी

अब हिटिङ पुलमा पौडी

नेपालका अधिकांश पौडी खेलाडीको एउटै गुनासो हुन्छ, ‘६ महिना प्रशिक्षण गरेर कसरी पदकको आशा गर्नु ? ’ गर्मी महिनामा मुस्किलले ६ महिना प्रशिक्षण गर्ने उनीहरूले अर्को ६ महिना भने पौडीबाट टाढा रहनुपर्ने बाध्यता छ। नेपालमा हिटिङ पौडी पोखरी नहुँदा खेलाडीले वर्षैभरि प्रशिक्षण गर्न सकिराखेका छैनन्।

गर्मीमा ६ महिना मात्र प्रशिक्षण गर्दै आएका खेलाडीले जाडो मौसममा पनि नियमित प्रशिक्षण गर्न पाएका छन्। कालोपुलमा रहेको बेस्ट भेन्युमा हिटिङ पौडी पोखरी सञ्चालनमा आएपछि पौडीका खेलाडीले नियमित प्रशिक्षण गर्न पाएका हुन्। हीरारत्न हललाई ब्याङवेटमा परिणत गरी छेवैमा हिटिङ पौडी पोखरी निर्माण गरिएको छ।

नेपाली खेलाडीलाई लक्षित गरी गत मंसिरदेखि अत्याधुनिक प्रविधियुक्त हिटिङ पौडी पोखरी सञ्चालनमा ल्याएको बेस्ट भेन्युका सञ्चालक राजेन्द्र प्रजापतिले जानकारी दिए। उनले आफ्ना छोरा मिराज प्रजापति पनि पौडीको राष्ट्रिय खेलाडी भएकाले उसकै सल्लाहअनुसार हिटिङ पोखरी सञ्चालनमा ल्याएको बताए।

‘मेरो छोरा पनि पौडीको खेलाडी हो। नेपालका खेलाडीको समस्या देखेर हिटिङ पोखरी निर्माण गरिएको हो’ राजेन्द्रले भने ‘अब खेलाडीले जाडोमा कठ्यांग्रिएर बस्नु पर्दैन र आफ्नो टाइमिङको पनि चिन्ता लिनु पर्दैन।’

करिब तीन करोड रुपैयाँको लगानीमा निर्माण भएको अत्याधुनिक हिटिङ पौडी पोखरी २५ मिटरको छ। साढे चार फिट गहिराइको पोखरीमा ६ लेन छ। त्यसैले यहाँ जाडो मौसममा पनि प्रतियोगिता सञ्चालन गर्न मिल्ने पौडीका प्रमुख प्रशिक्षक शंकर कार्कीले जानकारी दिए। ‘केही होटेल र रिसोर्टमा हिटिङ पुल भए पनि प्रतियोगिता सञ्चालन गर्न सक्ने स्थिति थिएन’ उनले भने बेस्ट भेन्युमा भने प्रतियोगिता पनि सञ्चालन गर्न सकिन्छ।

बेस्ट भेन्युमा तातोपानीमा पौडी खेल्ने सुविधाका साथै सौना, कार्डियो र नसासम्बन्धी रोगीलाई लक्षित गरी सालबाथको पनि सुविधा रहेको सञ्चालक राजेन्द्रले जानकारी दिए।

हिटिङ पोखरीमा पौड्न मासिक १५ हजार रुपैयाँ खर्चनु पर्दछ। खेलाडीका लागि भने १० हजारमा यो सुविधा उपलब्ध गराउँदै आएको सञ्चालक राजेन्द्रले बताए। उनले खेलाडीका लागि केही सहुलियत उपलब्ध गराउँदै आएको बताए।

अहिले हरेक क्षेत्रका मानिस सधंै तनावमा रहने भएकाले उनीहरूलाई तनावमुक्त बनाउन विभिन्न सुविधासहितको बेस्ट भेन्यु सञ्चालनमा ल्याएको बताए। उनले ब्याङवेट र हिटिङ पौडी पोखरी सञ्चालनमा आइसकेको र फिल्म हल केही समयपछि नै सञ्चालनमा आउने उनको भनाइ छ।

पौडीका प्रमुख प्रशिक्षक शंकर कार्कीले पुसदेखि हिटिङ पुलमा खेलाडीको प्रशिक्षण सुरु गरिएको बताए। ‘हिटिङ पोखरीमा पुस ५ गतेदेखि प्रशिक्षण सुरु गरिएको हो’ कार्कीले भने ‘राष्ट्रिय टिमको विशेष प्रशिक्षणमा रहेका शुभम् श्रेष्ठ र टिसा शाक्यलगायत राष्ट्रिय तथा जुनियर खेलाडी प्रशिक्षण गरिरहेका छन्।’ उनले नियमित प्रशिक्षणले खेलाडीको प्रदर्शनमा निकै सुधार आएको बताए।

यसैगरी यू–१४ की राष्ट्रिय खेलाडी समिराशोभा थापाले पहिले ६ महिना मात्र पौडी खेल्दै आएकोमा हिटिङ पुलमा लगातार पौडी खेल्न थालेपछि आफ्नो प्रदर्शनमा सुधार आइरहेको बताइन्। ‘पहिले ६ महिना खेल्ने र ६ महिना त्यत्तिकै बस्नुपथ्र्यो। यसले गर्दा आफ्नो पर्फमेन्समा नै असर पथ्र्यो। हिटिङ पुलमा प्रशिक्षण गर्न थालेपछि टाइमिङमा पनि सुधार आएको छ’ उनले भनिन्।

यसैगरी राष्ट्रिय खेलाडी अनुभव सुब्बाले लगातार पौडी खेल्दा टाइमिङमा सुधार भइरहेको बताए। ‘पहिले जाडो मौसममा घरमै बस्नुपथ्र्यो’ उनले भने ‘अहिले नियमित रूपमा प्रशिक्षण गर्न पाइरहेको छ। यसले आफ्नो टाइमिङमा पनि सुधार ल्याएको छ।’ उनले सर्वसाधारणका लागि लक्षित गरी एउटा मात्र हिटिङ पुल सञ्चालनमा रहेकाले आगामी दिनमा अरू पौडी पोखरी पनि सञ्चालनमा आउनु पर्ने बताए।

यसैगरी उमेरसमूहकै खेलाडी उपास्ती महर्जन, अनुष्का पोखरेललगायतका खेलाडीले पनि जाडो मौसममा पनि प्रशिक्षण गर्न पाउँदा टाइमिङमा सुधार आउनुका साथै स्ट्रोक पनि राम्रो भइरहेको बताए।

मुख्य प्रशिक्षक कार्कीले हिटिङ पुल सञ्चालनमा आएदेखि नियमित प्रशिक्षण हुँदै आएकोले खेलाडीको प्रदर्शनबाट खुसी रहेको बताए। उनले आगामी दिनमा खेलाडीहरूले अझ राम्रो प्रर्दशन गर्ने आशा व्यक्त गरे।

एसियाली खेलकुदपछि अन्य खेलका खेलाडीको नियमित प्रशिक्षण नभइरहेको अवस्थामा पौडी संघको विशेष पहलमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका ३० खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको उनले जानकारी दिए। उनले हरेक दिन साँझ तीन घण्टा प्रशिक्षण भइरहेको बताए। उनले हिटिङ पुलमा लाग्ने खर्च पौडी संघले पाँच हजार र अभिभावकले पाँच हजार रुपैयाँ तिर्दै आएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.