बैतडीमा वर्षमै पाँचौ पटक हिमपात, विद्युत सेवा अवरुद्ध

बैतडीमा वर्षमै पाँचौ पटक हिमपात, विद्युत सेवा अवरुद्ध

बैतडी : बैतडीका उच्च लेकाली क्षेत्रमा यो वर्ष पाँचौं पटक हिमपात भएको छ। माघ दोश्रो साता भएको हिमपात पग्लन नपाउँदै फेरि हिमपात हुँदा यहाँको जनजीवन कष्टकर भएको छ।

जिल्लाका सतबाँझ, खोड्पे, श्रीभावर, ग्वाल्लेकधुरा, सिगासधुरा, जित्कीजुँवाड, ढोले, भञ्ज्याङ लगायतका क्षेत्रमा बिहीबार राति हिमपात भएको स्थानीयबासीहरूले बताएका छन्। हिमपातका कारण अत्यधिक चिसो बढेको छ। बिहीबार बिहानैदेखि पानी परेको र राती हिमपात भएको सतबाँझका स्थानीय देवदत्त भट्टले बताए। उनले भने ‘हिमपातका कारण बाहिर निस्कन मुस्किल भएको छ। हिमपताले निकै चिसो बढाएको छ।’

हिमपातले स्थानीयहरूलाई दैनिक कामकाज गर्न अप्ठ्यारो भएको श्रीभावरकी मानमती साउँदले बताइन्। उनले भनिन् ‘पहिला परेको हिउँ पग्लन नपाउँदै फेरी हिमपात हुँदा जनजीवन कष्टकर भएको छ। वस्तुभाउका लागि समेत समस्या भएको छ।’

सिगास गाउँपालिका बेडल्धुरा, सिगासधुरा लगायतका क्षेत्रमा भारी हिमपात भएको स्थानीय भानसिंह धामीले बताए। उनले भने ‘पहिला परेकै हिमपात पग्लेको थिएन। फेरि हिमपात हुँदा यहाँको जनजीवन निकै कष्टकर भएको छ।’

हिमपातका कारण सिगास गाउँपालिकाको केन्द्र गर्जे पुग्ने बाटो नै अवरुद्ध भएको सिगास गाउँपालिका गाँजरीका गोविन्दसिंह धामीले बताए। उनले भने ‘पहिलाकै हिउँ दुईतीन फिट बाँकी थियो। फेरी हिमपात हुँदा आवतजावतमै समस्या भएको छ। गाउँपालिकामा केही काम परे पनि जान सक्ने अवस्था छैन।’

हिमपातका कारण बाहिर निस्कन नै मुस्किल भएको स्थानीय व्यापारी लालसिंह धामीले बताए। उनले भने ‘यो वर्ष करिब १० वर्षपछि यसरी हिमपात भयो। हिमपातले बालबालिकाहरूलाई विद्यालय जान समेत मुस्किल भएको छ।

विद्युत सेवा अवरुद्ध

बिहीबार बिहानैदेखि भएको वर्षा र हिमपताले विद्युत सेवा समेत अवरुद्ध भएको छ। डडेल्धुराको स्याउलेमा समस्या आएका विद्युत सेवा प्रवाह हुन नसकेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख मोहन जोशीले बताए।

उनले भने ‘हावाहुरी, वर्षा र हिमपातले विद्युत सेवा प्रवाहमा समस्या आएको छ। मौसममा सुधार आएपछि बिग्रेको ठाउँमा मर्मत गरेर विद्युत सेवा सुचारु हुनेछ।’

यसैबीच बिहीबार वर्षासँगै परेको चट्याङले शिवनाथका हरिचन्दको भैंसी मरेको छ। दिउँसो साढे १२ बजेतिर परेको चट्याङले चन्दको गोठमा बाँधेको भैंसी मरेको हो।

किसान खुसी

बेलाबेलामा हिमपात र हिउँदे वर्षा हुँदा बैतडीका किसान खुसी भएका छन्। सिंचाइको अभाव भएका ठाउँमा हिमपताले सिंचाइको काम गरेको अगुवा किसान कृष्णदत्त भट्टले बताए। उनले भने ‘गहुँखेतीका लागि यो हिमपात बरदान भएको छ। हिउँले सिँचाइको काम गर्छ। हामीले हिउँदेबालीको उत्पादनमा पनि वृद्धि हुने आशा गरेका छौं।’

हिमपातले हिउँदेबालीमा लाग्ने विभिन्न किसिमका रोगकीराहरु पनि नष्ट गर्ने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने ‘पछिल्लो समयमा लाइकीरा, खुम्रेकीरा लगायतका प्रकोप देखिने गरेको छ। हिमपातले यी कीराहरुको प्रकोप समाप्त हुन्छ। यसले बालीनालीलाई हुर्कन सहज हुन्छ।’

हिमपातले लेकाली क्षेत्रमा आलु लगाउने तयारी गरिरहेका किसानहरूलाई समेत सजिलो भएको चन्दले बताए। उनले भने ‘बैतडीका उच्च लेकाली क्षेत्रमा आलु लगाउने तयारी भएको छ। यो हिमपताले आलु लगाउने किसानहरूलाई निकै फाइदा पुगेको छ।’

हिमपातले तरकारी खेतीमा लागेका किसानहरुलाई समेत सजिलो भएको अगुवा किसान परमानन्द भट्टले बताए। उनले भने ‘तरकारीका बेर्ना राख्न सहज भएको छ। हिउँदे तरकारीबालीका लागि हिमपातले सिंचाइको काम गरेको छ।’

यस्तै हिमपातले हिउँदे फलफूलका बिरुवाहरूका लागि पनि राम्रो भएको छ । ‘हिउँदे फलफूलका बिरुवामा पालुवा आउने समय भएको छ। किसानहरूले नयाँ विरुवा पनि रोपेका छन्। यो हिमपातले फलफूलका लागि राम्रो गरेको छ’ सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले भने, ‘हिउँदे फलफूलका विरुवा रोपेका ठाउँमा हिमपताले सिंचाइको काम गरेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.