मौसम बदलीसँगै वर्षा र हिमपात, भोलिदेखि सुधारको संभावना
काठमाडौं : पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर सुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव बिहीबार रातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै उनले पूर्वतिर भने शनिबार पनि अहिलेकै अवस्थाको बदली रहने बताइन्।आइतबार भने तुलनात्मकरुपमा मौसममा केही सुधार आउनेछ।
काठमाडौँ आसपासका क्षेत्रमा आज दिउँसो आकाश केहीबेर खुले पनि पुनःबदली भई वर्षा हुने जानकारी दिँदै वरिष्ठ मौसमविद् कँडेलले भनिन्, 'दिनभर लगातार वर्षा भने हुँदैन, उच्च पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा कम बदली हुन्छ।'
शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएको छ। मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ। आकाश खुल्ने र तुरुन्त घाम लाग्ने खालको नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ। विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको हो।रासस