पूर्वी नवलपरासीका पहाडी क्षेत्रमा धमाधम सडक निर्माण
कावासोती : पूर्वी नवलपरासीका पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाहरुले धमाधम सडक निर्माण गर्न थालेका छन्। नयाँ सडक निर्माण र सडक स्त्तरोन्नतीलाई प्राथमिकता दिएर उनीहरुले बजेट विनियोजन गरेपछि कामले तिव्रता पाएको छ।
बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकाले अहिले सडक निर्माणलाई जोड दिएका छन्। बुलिङटार गाउँपालिकाले यसवर्ष २६ कि.मि. सडक निर्माण गर्दैछ।अध्यक्ष शशिकिरण बस्ताकोटीका अनुसार बुलिङटार चक्रपथ निर्माणका लागि १२ कि.मि. नयाँ ट्रयाक खोल्ने काम हुँदैछ। सबै वडालाई छुने गरि चक्रपथको निर्माण थालिएको हो। यसैवर्ष चौध कि.मि अन्य सहायक सडकको पनि स्त्तरोन्नती गरिने अध्यक्ष बस्ताकोटीले जानकारी दिए।
बौदिकाली गाउँपालिकामा यसवर्ष झण्डै एक सय कि.मि सडक स्त्तरोन्नती गर्ने तयारी गरेको छ। गाउँपालिका भित्रको चक्रपथ अन्तरगत पर्ने झण्डै ६० कि.मि सडक स्त्तरोन्नती हुँदैछ। उक्त चक्र पथले गाउँपालिका कार्यालय छोएको छ। अन्य ४० कि.मि सहायक सडक निर्माण तथा स्त्तरोन्नती गरिने गाउँपालिकाले जनाएको छ।
हुप्सेकोट गाउँपालिकाले १५ कि.मि. ग्रामीण सडक स्त्तरोन्नती गर्दैछ। जसमध्ये ७ कि.मि. कालोपत्रे गरिने अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन्। बाँकी आठ कि.मि. कालोपत्रेको लागि पूर्वधार निर्माण गरिने छ।