चौथो राष्ट्रिय पुरुष भलिबल : फाइनलमा पुगे गण्डकी प्रदेश र नमूनादीप
रामेछाप : मन्थलीमा जारी मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेश र नमूना दीप युवा क्लब पुगेका छन् ।
शुक्रबार भएको सेमीफाइनलमा दुवै टिमले जित निकाल्दै फाइनल यात्रा तय रहेका हुन् । सेमीफाइनलको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई २५–२१, २५–९ र २५–२० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
दोस्रो सेमीफाइनल खेलमा नमूना दीप युवा क्लबले शान्तिदीप युवा क्लबलाई २५–१८, २१–२५, २६–२४ र २५–१३ (३–१ कोे सेट) को अन्तरमा पराजित गर्दै फाइनल पुगेको हो ।
प्रतियोगितामा तेस्रो स्थानमा लागि प्रदेश नम्बर १ विरुद्ध शान्तिदीप युवा क्लब प्रतिस्पर्धा गर्नेछन् । रामेछाप सिभिल च्याम्पियनसिप प्रतियोगितामा ९ टिमले सहभागिता जनाएका थिए।
सहभागी सबै टिमहरुमा राष्ट्रिय खेलाडीहरु समावेश छन् । फाइनल खेल शनिबार हुने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए ।
मन्थली नगरपालिका सहआयोजक रहेको प्रतियोगिताको विजेता टोलीले ३ लाख, दोस्रोले २ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले १०÷१० हजार नगद पाउने छन् ।
प्रतियोगितामा सहभागी टिमका खेलाडीको भत्ता र यातायात खर्च आयोजकले व्यहोरेको छ । प्रत्येक खेलाडीलाई दैनिक १२ सय भत्ता दिइएको छ । अघिल्लो संस्करणको उपाधि सुदूरपश्चिमले चुमेको थियो ।