आधुनिक समाज निर्माण गर्न नयाँ संस्कार र संस्कृति चाहिन्छ : माधव नेपाल
बर्दिबास : आधुनिक समाज निर्माणको लागि नयाँ संस्कार र संस्कृतिको खाँचो रहेको नेकपाका नेता माधवकुमार नेपालले बताएका छन् ।
महोत्तरीको बर्दिबासस्थित सामुहिक परिवार आधारशिलाको १६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता नेपालले नयाँ संस्कृतिले मात्र समाज रुपान्तरण हुने उनले बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘हातमा रहेको सीपलाई सहकारीमार्फत आम्दानी गर्न सक्नु पर्छ । यसले अवश्य फड्को मार्छ ।’
समाज र राज्यलाई परिवर्तन गर्नका लागि शिक्षाको अत्यन्त भुमिका रहेकोले प्रदेश सरकारलाई ठोस रुपमा शिक्षा नीति लागु गर्नुपर्नेमा नेता नेपालले जोड दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष एवं शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले देशलाई समाजवादतर्फको विकासको लागि पार्टी र सरकारले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने औँल्याए । साथै समाजवाद विकासको लागि सामुहिक प्रयासको आवश्यकता रहेको उनको भनाइ छ ।