सांस्कृतिक र धार्मिक आक्रमणको इतिहास

सांस्कृतिक र धार्मिक आक्रमणको इतिहास

कुनै देशले युद्धमा पराजित भई भूमि गुमाए अर्को पुस्ताले युद्ध गरेर पनि फिर्ता लिन सक्छ। तर कुनै मुलुक सांस्कृतिक रूपमा समाप्त गरिए त्यो पराजय सधैंका लागि हुने खतरा हुन्छ। मुलुकलाई सांस्कृतिक रूपमा आक्रमण गर्दा त्यो मुलुकका धर्म, परम्परा, संस्कार, प्रचलन, व्यवहार, भाषा, गीत, संगीत, कला, सामाजिक सद्भावका सूत्रलाई विस्थापित नै गर्ने, भत्काउने, कमजोर पार्ने भ्रमित गर्ने वा कुण्ठित बनाउने मध्ये जे र जति सक्यो त्यति गरिन्छ। यस्तो सांस्कृतिक पतन गराउन अवस्थाअनुसार भय, लोभ र लालच देखाइन्छ।

पूर्वीय दर्शनमा मानिस दिव्यात्मा मानिन्छ। जन्मजात पापी मानिँदैन। दुई हजार वर्षअगाडि कसैले गरेको भनिएको पाप मानव जाति जीवित रहेसम्म सर्ने ‘मौलिक पाप’ को भय देखाएर स्वर्गको टिकट काटिदिने बन्दोबस्ती यताका दर्शनमा देखिँदैन। मानिस असल कर्मले देवत्व प्राप्त गर्न सक्ने, कुनै एउटा मात्र ईश्वरको छोरो हुन पाउने र बाँकीमध्ये गोरो वर्णको व्यक्ति मालिक तथा कालो र गहुँगोरो व्यक्ति जन्मजात दास हुनुपर्ने मान्यता छैन।

कालो वर्णका कृष्ण र कालै वर्णकी काली देवदेवी मानिन सक्छन्। यता उपचारका लागि वनस्पतिमा आधारित आयुर्वेद थियो, चमत्कारको छल थिएन। उता युरोपमा पेगन धर्म मान्नेलाई अर्को धर्म मानेकै कारण अत्याचार गरी आमसंहार गरेको इतिहास छ। अमेरिकामा आदिवासीलाई क्रूरतापूर्वक मार्न स्थानीय सरकारले कुकुर पाल्थ्यो र गोराहरूले निवेदन दिएर कुकुर लगी रेड इन्डियनलाई मार्न पाउँथे। यताको महाभारत नियमबद्ध युद्ध थियो, सूर्योदय पूर्व र उप्रान्त लडाइँ गर्न पाइँदैन्थ्यो।

यताका सभ्यता विस्थापित गर्न आएका पश्चिमाहरूले अन्यत्र गएर क्रूर र अमानवीय व्यवहार गरेका, युद्ध छेडेका, सम्पदा लगेर म्युजियममा राखेका, जात, जाति, भाषा, नाक आदिका आधारमा विभाजनका बीउ रोपेका, द्वन्द्व गराउन र बढाउन मद्दत गरेका धेरै उदाहरण छन्।

समान रङ, समान विश्वास र स्वार्थ भएका केही मुलुकका एजेन्डामा चल्ने त्यतैका गैरसरकारी संस्थाहरू झन् आक्रामक रूपमा हिमवत् सभ्यता र संस्कृति विस्थापित गर्न लागि परेको अब छिपेको छैन।

संसारका स्रोत एकै रङका मानिसतिर तान्ने तथा संसारका अरू सभ्यता र संस्कृति समाप्त गरी आफ्नो मात्र विश्वासको दिग्विजय गर्दै अरूलाई हाम्रा सन्तानको पापको बोझ बोकाई असभ्य भन्दै दास बनाउने कट्टरवादी सोच लोकतन्त्र, मानव अधिकार, समाजवाद, रूपान्तरण, क्रान्ति, उदारवाद, न्याय र सत्य केहीको पनि नजिक छैन। यस आलेखमा नेपाललाई धार्मिक र सांस्कृतिक रूपमा समाप्त वा झन् कमजोर पार्न विगतमा के भएको रहेछ भन्नेबारे चर्चा गरिनेछ।

यो आलेख मूलतः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०६० सालमा प्रकाशित गरेको ‘तिब्बत र नेपालमा इटालियन धर्म प्रचारकहरू’ भन्ने (लुच्यानो पोतेकको सम्पादन र सुरेन्द ढकालको अनुवाद) किताबमा आधारित छ।

प्राचीन कालका सेन साई, फाहियान र ह्वेन साङ जस्ता चिनियाँ विद्वान् यात्रीहरूका वर्णन नेपालको इतिहासको महŒवपूर्ण हुन्। नेपालमा सत्रौं शताब्दीदेखि इसाई पादरीहरू देखा परे। ती पादरी सुरुमा मानसरोवरतिर भागी बसेका भारतीय इसाईहरूलाई खोजी गर्न तिब्बत जान र फर्कन काठमाडौं आउने गरेका थिए। पछि यहाँ पनि आफ्नो केन्द्र बनाए। तिब्बतबाट सन् १७३२ मा पादरीहरू धपाइएपछि तिनीहरूले नेपालमा आफ्नो गतिविधि बढाए र यहाँका तीनै सहरमा सक्रिय रहे। (पृ. औ)

नेपालमा आउने तिब्बती यात्री यहाँ मानिसहरूको धर्म परिवर्तन गराउन आएको देखिँदैन। नेपालको धर्म, संस्कृति, सम्पदा र हितविरुद्ध ती बौद्ध विद्वान् र तीर्थयात्री संलग्न रहेको पाइँदैन। यस्तै सुरुसुरुमा नेपाल आउने पादरीहरू पनि नेपालमा धर्म परिवर्तन गराउनेभन्दा नेपाललाई तिब्बत आवतजावतको सजिलो बाटोका रूपमा प्रयोग गर्न आउनेजाने गरेको भनिएको पाइन्छ। तिब्बतबाट धपाइएपछि भने उनीहरूले नेपालमा धर्म परिवर्तन गराउने गतिविधि बढाएको भन्ने आशय देखिँदो रहेछ।

काठमाडौं उपत्यकामाथि विजयपछि पृथ्वीनारायण शाहले पादरी र नेपाली इसाईहरूलाई देश छाड्न निर्देशन दिए। नेपाल छाड्ने आदेशपछि पादरी जुइस्पे ५८ जना नेपाली इसाईसहित ४ फेब्रुअरी १७६९ बेतिया जान काठमाडौं छोडे। पादरीहरूले आफ्ना कुरा जस्तोसुकै राम्रो प्रकारले राखे पनि फिरंगीहरूलाई त्यसबेलासम्म अछूत भनी हेर्ने गरिन्थ्यो। साथै किनलकको आक्रमणमा पादरीहरूको हात रहेको भनी गोर्खालीहरू सम्झन्थे। (पृ. च)

सुरुमा आउनेहरूले पछि आउनेहरूलाई नेपालमा पूरै पादरीजस्तो देखिई वा औषधीमूलो लिई वैद्यका रूपमा नभई व्यापारीका साथमा जानु राम्रो हुने बताएको पाइन्छ। (पृ. ट)

सन् १७१६ मा पादरीले लेखेको पत्रमा जुलाई २० का दिन पादरीहरूविरुद्ध जनअसन्तोष भई हुलदंगा भएको, मालसामान लुटिएको र यसको नेतृत्व ब्राह्मणहरूले गरेको उल्लेख गरिएको छ। पछि राजा भाष्कर मल्लले जनतालाई सम्झाएपछि स्थिति शान्त भएको भनिएको छ। (पृ. ड) त्यसबेला पादरीहरूले खासगरी ब्राह्मणहरूलाई मूर्तिपूजक भनी हेय दृष्टिले हेर्ने र अपमान गर्ने गरेको पनि सो पत्रमा उल्लेख छ। (पृ. ढ)

सन् १७१७ जुलाई २९ का दिन लेखिएको पत्रमा सन् १७१६ मा पादरीविरुद्ध नेपालीहरूले चलाएको आन्दोलन, नेपालीहरूको धर्म परिवर्तन, हिन्दु देवीदेवताको खिल्ली उडाएको समेतका कुरा उल्लेख छ। (पृ. ढ) पत्रमा पादरीले उनको जिन्दगीमा पहिलोपटक दुई नेवार केटा र एक नेवार केटीको धर्म परिवर्तन गराएको व्यहोरा छ। उनले गणेशको वाहनलाई मुसो लेख्नुको सट्टा सुँगुर लेखेको देखिन्छ। (ण)

१७ जुन १७२१ मा लेखिएको पत्रमा नेपालमा राक्षसी प्रवृत्ति, आन्दोलन, आतंक, युद्ध र मृत्युका घटना भइरहने भनी उल्लेख गरिएको छ। तर तात्कालिक स्थानीय स्रोतमा भने यो वर्णन प्रमाणित हुँदैन। नेपालीहरू आफ्नो धर्मप्रति संवेदनशील भएको तर पादरीहरू त्यसको विरोधी भएकाले यस्तो वर्णन गरेको हो। यस पत्रमा पनि पादरीहरूले पूर्वीय धर्म दर्शनबारे नकारात्मक टिप्पणी गरेको पाइन्छ। त्यो पत्रमा पादरीले १५ जना नेपालीको धर्म परिवर्तन गराएको र चारजना गराउने क्रममा रहेको उल्लेख छ। (पृ. त)

धर्म प्रचारकहरूले भारतमा सहयोग पाए पनि लद्दाखी सरकारले उनीहरूको जीवन कष्टपूर्ण बनाएको थियो। फलतः तिब्बतीहरूको धर्म परिवर्तन गर्ने कार्य असम्भव भएको थियो। तिब्बतमा बसेर धर्मप्रचार गर्नु आर्थिक दृष्टिले पनि बेकार भएको थियो। परिस्थितिको मूल्यांकन गरी निर्णय गर्नुपूर्व सन् १६३५ मा न्युनो कोरेस्मा र माक्र्वेसलाई लद्दाखबाट निस्कासन गरियो। सन् १६३७ मा पुनः आफ्ना गतिविधिमा संलग्न भएकोमा मालपिगीलाई निस्कासन गरियो भने माक्र्वेसलाई कैद नै गरियो। (पृ. ९)

नेपाल प्रवेश गर्ने पहिलो युरोपेली काब्राल सन् १६२८ मा तिब्बतबाट बंगाल फर्कंदा नेपाल भएर फर्के पनि उनले नेपाल उपत्यकाबारे चर्चा गरेका थिएनन्। सन् १६५४ तिर धार्मिक गतिविधि गर्ने गरी कोही नेपाल पुगेको सूचना छैन। व्यापारीका रूपमा आएको कुरा भने इन्कार गरिएको छैन। (पृ. ११, १२)

सन् १६६७ मा मिसन स्थापना गर्ने कार्यको सुरुवात भए पनि सो कार्यका लागि खटाइएको पादरीले नेपालमा पाइला टेके–नटेकेबारे शंका व्यक्त गरिएको छ। सन् १७६९ मा नेपाल आएको अर्मेनेली नागरिकसँग ‘कसैले पनि भेटेन र एक्लोपन महसुस गरी फर्के’ भनिएको छ। (१३) सन् १७०७ मा तिब्बतबाट नेपाल भएर जाने पादरीहरूलाई प्रवेश शुल्क लगाइए पनि १७१५ मा शुल्क फिर्ता गरियो। फेरि १७२२ मा भने देशनिकाला नै गरियो। (२५)

स्थानीय सभ्यता, संस्कृति र धर्महरू परचक्रीबाट जोगाई सांस्कृतिक आमहत्या हुन नदिने भन्ने नै आजको एउटा प्रमुख समस्या हुन सक्छ। किनकि विश्वका सबै सभ्यता, संस्कृति र धर्म विश्वका सम्पदा हुन्।

सन् १७९३ मा कर्नेल कर्कपेट्रिक मिसन र सन् १८०२ मा कप्तान नोक्स मिसन नेपाल आई सूचना संकलन गरी फर्के। गोर्खाली र अंग्रेजबीच लगातार रूपमा रहेको सीमासम्बन्धी विवादका कारण सन् १८१४ मा लडाइँ भयो र दुई वर्ष चल्यो। सन् १८१६ मा सुगौली सन्धि भई नेपालले तराईका केही भाग गढवाल, कुमाउ र सिक्किम नेपालबाट काटेर लिई नेपालको स्वतन्त्र अस्तित्व दिइयो भन्ने उल्लेख छ। (२९)

सन् १७४५ मा तिब्बतमा पतनपछि यसलाई काठमाडौं सारियो। सन् १७६९ मा काठमाडौंबाट मिसन फर्काइएपछि यो मिसन पटना (भारत) मा रह्यो। हिमालय देशमा भएका असफलतापछि केपुचिनहरू पटना फर्कन्थे। (४४, ४५)

सन् १७०७ मा आएका दुई पादरी (जुसेप्पे र टोउर) ले काठमाडौंमा ‘आफ्नो उपस्थिति नदेखाउन’ ठूलै कोसिस गरे पनि सबै प्रयास विफल भयो। यात्राका क्रममा नेपालको भूमि प्रयोग गरेवापत ठूलै राहदानी रकम तिर्नुपथ्र्यो। उनीहरू काठमाडौं छोडी सोही साल जुन महिनामा ल्हासा पुगे। सन् ९४६० तिब्बत जान हिँडेका पादरीहरू केही दिन काठमाडौंमा बस्दा पनि नेपालमा कसरी धर्म प्रचार गर्ने भन्ने योजना बनाउँथे। (५६)

सन् १७२२ मा काठमाडौंका मल्लराजाले आफ्नो देशबाट केपुचिन पादरीहरूलाई देशनिकाला गरिदिए। जसको कारण यही हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन। त्यसपछि मिसन भादगाउँ सारियो (६४)। सन् १७२६ तिर धर्म प्रचारकले ल्हासास्थित नेपालीहरूसँग सम्पर्क बढाए। केपुचिनको संख्या त्यतिबेला दुई मात्र थियो (६१)। सन् १७३२ मा ल्हासामा रहेका धर्म परिवर्तन गराइएका नेपालीहरूको साथ लागी पादरी काठमाडौंतिर लागे भनिएको छ। (६२)

सन् १७३२ मा आएका ती पादरी काठमाडौं बसे। क्याथोलिक धर्मले आफ्ना धर्मावलम्बीको आस्था डग्मगाइदिएको शंकामा राजाले उनलाई कैदमा राखे। ती पादरी पाँच–छ महिना कैद बसे। केही पैसा तिरेर भए पनि राजाको डर र शंका निवारण गरी कैदमुक्त गर्ने प्रयास गरियो। सन् १७३५ मा नेपालको दोस्रो मिसन समाप्त भयो। (६५)

सन् १७४४ तिर ल्हासामा मिसन असफल भएपछि नेपालको मिसनमा सक्रियता बढाइयो। त्यसबेला छुवाछूत र धर्म परिवर्तनबाट आउन सक्ने तर्कपूर्ण नतिजा र जातबाट गरिने निष्कासन मुख्य सामाजिक समस्या थिए। मुद्दा चल्न सक्ने स्थिति थियो। जय प्रकाश मल्लले पुनः गद्दी हात पारेपछि धर्म प्रचारकलाई राम्रो नजरले हेर्न छोडे। (७७)

नेपालको आकाशमा कालो बादल मडारिन लाग्यो। गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यका विजय गर्ने कार्य सुरु गर्न थाले। धर्म प्रचारकहरूले सन् १७५५ मा उनीसँग गएर ‘क्रियाकलाप गर्न’ भेट गरे पनि उनले त्यसो गर्न दिन सोझै निषेध गरे। त्यतिबेला धर्म प्रचारकहरूले थुप्रै तीतो अनुभव सँगालिसकेका थिए। (७८)

पृथ्वीनारायणले नुवाकोट जितेपछि धर्मप्रचारकको क्रियाकलाप यिनको शुभेच्छामा भर पर्न गयो। ‘निरंकुश, निर्दयी र अरूका कुरामा झट्ट विश्वास नगर्ने’ यी राजाले धर्मप्रचारकप्रति अलिकति पनि ध्यान दिएनन्। उनीहरूका कुरा सुन्दा पनि सुनेनन्। काठमाडौं र पाटन जिते पनि उनको दृष्टिकोणमा कुनै परिवर्तन आएन। गोरखालीहरूको ‘कट्टर हिन्दुवाद’ ले धर्म परिवर्तन गराउने कुनै सम्भावना पैदा गरेन।

तसर्थ ‘आयुक्तको निर्देशन नपर्खीकन पादरी जुसेप्पे दा रोभातोको जिम्मामा नेपाली क्रिस्चियनलाई बेतिया पु¥याउने सामूहिक निर्णय’ भयो। पृथ्वीनारायण शाहको ‘अनुमति पाएर’ फेब्रुअरी ४, १७६९ मा उनीहरू बेतियातर्फ लागे। बाँकी रहेका धर्मप्रचारकहरू पनि अनुमति लिएर तराई झरे। पुरानो नेपालमा धर्मप्रचारकले काम गरेका भए पनि अब उनीहरूको काम इतिहासको पानाबाट बिलायो। (७९)

केपुचिनहरूले धार्मिक चालचलन र संस्कार बलियो भएको राज्यमा अरूको धर्म प्रचार गर्न सजिलो नहुने अकाट्य कुरा कहिल्यै बुझेनन्। पोपहरूको रोममा जसरी एक क्रिस्चियनलाई बौद्ध धर्मको अनुयायी बनाउन असम्भव छ, ल्हासामा गएर क्रिस्चियन मिसनले सफलता पाउन हुन्छ। (९६) नेपालमा भने स्थिति अलि सजिलो थियो। यहाँ यिनीहरूको विरोध ‘ब्राह्मणहरू’ ले मात्र गरेका थिए। ब्राह्मणहरू धर्म परिवर्तनको विरुद्धमा थिए। उनीहरूको विरोध संगठित भने थिएन। (९७)

पादरीहरूमध्ये केहीले नक्सासमेत बनाएर (मुख्यालय) पठाएको देखिन्छ। केही नक्सा किताबमा उद्धृत छन्। (१०४) पादरी र कर्कप्याट्रिकले पृथ्वीनारायणको विरोध र अपमान गर्ने–गराउने र खासगरी कट्टरपन्थी विदेशी र तिनका गैरसरकारी संस्थाले ब्राह्मणको विरोध गर्ने–गराउने कारण उनीहरू विदेशीबाट यहाँ गराइने गरेको जासुसी र धर्म परिवर्तनको विरुद्धमा भएकाले रहेछ भन्ने कुरा यो किताबबाट देखिँदो रहेछ। साथै उनीहरूले रूप बदलेर आउने र बस्ने लोभलालचमा पार्ने, धर्मप्रचारको नाममा धर्म परिवर्तन गराउने, अरूको धर्म, संस्कृति र आस्थाको विरोध गर्ने–गराउने गरेको पनि देखिँदो रहेछ।

कुरा नबुझी स्थानीय धर्म, संस्कृतिविरुद्ध लेखी पठाउने प्रवृत्ति त्यो बेला पनि रहेछ। त्यो बेला उनीहरूको रिलिजन, राजनीति, रणनीति र पादरीबीच सम्बन्ध रहेको पाइँदो रहेछ। आजको नेपालको अवस्था नेपालीहरू जानकार छन्। स्थानीय सभ्यता, संस्कृति र धर्महरू परचक्रीबाट जोगाई सांस्कृतिक आमहत्या हुन नदिने भन्ने नै आजको एउटा प्रमुख समस्या हुन सक्छ। किनकि विश्वका सबै सभ्यता, संस्कृति र धर्म विश्वका सम्पदा हुन्।

विश्व यी सबको साझा फूलबारी रहन दिन मरुभूमिबाहेकका सभ्यताको रक्षा पनि आवश्यक छ। राष्ट्रसंघ र खासगरी युनेस्को यसका लागि अगाडि आओस्। नेपालीहरूको आफ्नो कर्तव्य त छँदैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.