जनप्रतिनिधिले सुरु गरे पाहापालन
दोलखा : औषधीय गुणले भरिपूर्ण तर दुर्लभ हुँदै गएको भ्यागुता प्रजातिभित्र पर्ने पाहाको दोलखामा व्यावसायिक पालन सुरु भएको छ। जिल्लाको दक्षिणी मेलुङ गाउँपालिका–५ का वडाध्यक्ष मानबहादुर मगरले पाहाको व्यावसायिक पालन गर्न सुरु गरेका हुन्।
इमान्दार राजनीति गर्दा हातमुख जोड्नसमेत समस्या हुँदै गएपछि आफू व्यावसायिक पाहापालनतर्फ आकर्षित भएको जनप्रतिनिधि एवं पाहापालक किसान डाँडाखर्कनिवासी मगरको भनाइ छ। आफू सानैदेखि पाहाको मासुको सोखिन भएकाले अरूले पनि यसका लागि खोला–खोला धाउन नपरोस् भनी व्यावसायिक पाहापालन थालेको उनको भनाइ छ। डाँडाखर्कस्थित दुधिलेमा रहेको उनको पाहा फार्म सम्भवतः नेपालमै पहिलो हो। पाहा पहाडी भेगमा पाइने भ्यागुता प्रजातिकै वंशज हो।
सामान्य भ्यागुताभन्दा शरीर अलि छोटो तथा खुट्टा अलि लामो हुने पाहा परम्परागत रूपमा उच्च रक्त श्राव तथा पेटसम्बन्धी रोग लाग्दा औषधिको रूपमा प्रयोग गरिएको पाइन्छ। गाउँ घरतिर विशेषगरी सुत्केरी महिलालाई छिटो स्वस्थ बनाउन पाहाको मासु खुवाउने गरिन्छ। साथै बाथ रोगका बिरामीले पनि पाहाको मासु प्रयोग गर्ने गरेको पाइएको छ। मानवीय जीवनका लागि अत्यन्तै उपयोगी र औषधीय गुणले भरिपूर्ण तथा वातावरण अनुकुलता मिलाए पालन गर्न पनि सजिलो भएकाले आफूले सुरु गरेको उनको भनाइ छ।
स्थानीय खोला खोल्सीमा पाइने पाहालाई पोखरीमा व्यवस्थित ढंगले पाल्न आफूले ६ लाखको लागतमा पोखरी तथा अन्य पूर्वाधारको निर्माण गरेको मगरले बताए। सानैदेखिको पाहा मार्ने सीप र सोखलाई अहिले व्यवसायमा परिवर्तन गर्न खोजेको उनको भनाइ छ। फार्ममा कालो तथा फुस्रो रङका दुई प्रकारका गरी एक सयवटा पाहापालन गरिएको छ। पाहाले के खान्छ, कसरी बस्छ भन्ने कुराको आफूलाई राम्रो ज्ञान भएकाले नै आफू यसतर्फ आकर्षित भएको मगरले बताए। यो वर्ष पाहाहरूले फूल पारी बच्चा काढेपछि आगामी वर्षबाट व्यावसायिक पाहा उत्पादन गरिनेछ।
काठमाडौंका ठूला रेष्टुरेन्टहरूमा पाहाको माग उच्च रहेको मगरले बताए। उत्पादन गर्न सके पाहाको व्यापारका लागि बजारको समस्या नभएको उनको भनाइ छ। आफूसँग भएको परम्परागत ज्ञान र सीपलाई व्यवसायमा उपयोग गर्न सकेमा त्यसबाट नै व्यक्तिगत तथा सामूहिक सम्वृद्धि आउने मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताए।