त्यो अन्तिम सोधनी

त्यो अन्तिम सोधनी

प्रेमिका आमा, प्रेमी बाबा

उसको तल्लो पेटमा असाध्य पीडा भएपछि म आत्तिएँ। आत्तिनुका दुई कारण थिए। एक थियो, उसले सहन नसक्ने पीडा, अर्को थियो पैह्रो।

मलाई उसको आइयाले यति बिथोलेको थियो कि उसको हरेक चित्कार मेरो मुटुमाथि प्रहार भइरहेको छुरीजस्तो लाग्थ्यो। बरु उसको आँखामा आँसु थिएन, मेरो आँखामा आँसु टुटेन। मलाई उसको कति माया लाग्यो, शब्दसित त्यसलाई भन्ने क्षमता छैन।

क्षणक्षणमा ऊ पेट दुखेर कराइरहन्थी, म चुपचाप हेरिबस्थेँ।

मैले चुपचाप हेरिमात्र बस्नुको एउटा ठूलो कारण थियो- पैह्रो। अघिल्लो रात पैह्रोले उसलाई अस्पतालसम्म पुर्‍याउने बाटो नै बगाएको थियो। बस्थ्यौं सुरुमा। गाडी चल्ने बाटो छैन। गाडी नचल्ने बाटो पनि छैन। एउटै थियो, त्यो पनि पैह्रोले लग्यो।

जतिजति उसको पेटको दुखाइ बढ्दै थियो, उतिउति मेरो लाचारी बढ्दै थियो। तर, उसको पीडा यति बढ्यो कि अस्पताल नलगी धरै थिएन। पैह्रोले बाटो बगाएको छ। आफन्त, साथीभाइहरू सबै जुटेका छन्। उनीहरूले जुन हिम्मत दिइरहेका छन्, त्यसैको भरमा म टिकेको छु।

हरियो बाँस काटेर त्यसमा बोरा लगायौं। त्यसैमा उसलाई सुतायौं। र,  तेनेतेनेतेनेतेने गरेर बोक्यौं। पैह्रोमा पुगेपछि बिसायौं र विशाल पैह्रोमा बाटो खन्न थाल्यौं।

पैह्रोमा केही हद टेक्न सक्ने खुड्किलो मात्र बनाएर फेरि उसलाई बोक्यौं। एकैजनाको खुट्टा रड्कियो भने मेरी गर्भवती प्रेमिका भीरबाट खस्नेछिन्। तर, कसलाई पर्वाह र ?       

सपना, भविष्य, दुःख र संघर्ष बोकेर पहिलोपल्ट बाबा र आमा हुँदै गरेको उसको र मेरो जीवन त्यही पैह्रोमा अडिएको थियो।

तर, हामीले कसम खाएका थियौं, उसलाई अस्पताल पुर्‍याउनेछौं। त्यसैकारण धेरैको घुँडा घस्रियो। चोट लाग्यो। खुट्टै रड्कियो तरै पनि हामीले उसलाई लडाएनौं।

हामीले उसलाई पैह्रोबाट तार्‍यौं।

पैह्रो तरेपछि लाग्यो- संसारका सारा दुःखहरूबाट छुटकारा पाइयो।

पैह्रोबाट हरियो बाँसमा तारेर जलढका अस्पताल पुर्‍याए पनि उसको पीडा निको भएन। मासिक आठ सयका शिक्षकशिक्षिका हामी। गोजीमा उस्तो रकम पनि छैन। उसलाई लैजानुपर्ने भयो, कालेबुङ अस्पताल।

कसरी लगेँ ? मलाई त्यो भन्नु मन लाग्दैन।

०००

कति बजेको थियो थाहा छैन, तर मैले भर्खर जन्मिएको नानी रोएको सुनेँ।

अस्पतालको प्रसूतिगृहमा मेरै नानी नरोएको पनि हुन सक्छ। किनभने त्यहाँ अरू गर्भवती महिलाहरू पनि छन्। उसको अवस्था बिग्रिएको पनि हुन सक्छ, किनभने मलाई भित्र पस्न दिइएको छैन।

तर, आयो भर्खर जन्मिएको नानीको आवाज।

मेरो अनुहार डरले, भोकले, लाचारीले, संकोचले, अभावले, सुर्ताले यति बिग्रिएको थियो, साह्रै मायालाग्दो अनुहारको भएर एक्लै थिएँ प्रसूतिगृह बाहिर।

तर, तर आयो भर्खर जन्मिएको नानीको आवाज।

मैले खिड्कीबाट बाहिर हेरिबसेँ। उता नानी रोएको आवाज आइरहेको छ। यता केही थोपा आँसु आँखाबाट बिस्तारै खस्दैछ। मैले आँसु पुछिनँ। बरु रुन्चे अनुहार लिएर दुवै मुठ्ठी आकाशमा उचालेँ र बिस्तारै ‘यस्स्स’ भनेँ।

किनभने त्यो आवाज आरोहणकै थियो।

मेरो प्रेमिका आमा भई। उसको प्रेमी, बाबा।

प्रेमका दुश्मन

त्यतिखेर म प्रेमबाट भागिरहेको थिएँ।

म असफल प्रेमी थिएँ। खासमा मलाई प्रेम गर्न आउँदैन थियो। नआउने कुरा किन गरिरहनु र ?        यतिखेर सायद म प्रौढ बन्दै थिएँ। जीवनले ठेलेर मलाई असाध्य संकटको भीडमा हुत्याइदिएको थियो। माध्यमिक परीक्षा सक्नासाथ घर मेरो काँधमा उभियो। त्यो घर, जसका मक्किएका काठका दैलाहरू थिए। खिड्कीहरूको कब्जा मक्किसकेको थियो।

छानामा दुलाहरू थिए। त्यहीँबाट छिथ्र्याे घाम पनि, पानी पनि।

रातो माटोको भुइँ जो थियो, त्यसलाई गोबरमाटोले लिप्थिन् आमा र उज्यालो हुन्थ्यो घर। त्यही भुइँमा त हो, अखिल भारतीय एकता समाजका क्रान्तिकारी साथीहरू फाटेको धुसा ओढेर धेरैपल्ट सुतेका हुन्। र, देखेका हुन्- परिवर्तनको सपना।

साथीहरू मलाई जीवनको सपना देख्न सिकाइरहेका थिए। प्रेम, प्रियसी त नितान्तै अनुत्पादक थोक लागिसकेको थियो।

भान्साघर जो थियो, त्यहाँ जे पाक्थ्यो, त्यसले सायद परिवारको भोक पूरा मेटिँदैन थियो। भोक लागेको बेला प्रियसीको अनुहार याद आयो भने के हुन्छ ?        प्रेमीहरू नै जानुन् तर मलाई त असाध्यै रिस् उठ्थ्यो। प्रेमले मानिसलाई सपना देख्न सिकाउँछ। संघर्षको माने चिनाउँछ। संकटहरूसित लड्ने साहस दिन्छ। म पनि आफ्नो प्रेमिल संसारको हिरो थिएँ। तर, त्यो संसारमा मेरी प्रेमिकाहरू कोही साथ बसेनन्। सबैले छोडिगए।

एउटाले छोडिगए पनि अर्कोको मनमा पस्थेँ म। जुली हेर्दा जुली मनपथ्र्याे, सुली हेर्दा सुली। त्यो उमेर नै यस्तो थियो कि लाग्थ्यो- प्रेमबिना मानिस कसरी जिउँछन् ?        जब प्रेम टुट्थ्यो, तब लाग्थ्यो- प्रेमजस्तो दुश्मन जीवनमा अर्को छैन। खासमा प्रेमका दिनहरूसित मैले समय बिताउन पाइनँ। कुनै न कुनै बहानामा मन परेकी प्रियसीले रातो मसीले ‘ब्रेकलेटर’ लेखिदिन्थिन्। ती बदमास प्रियसीहरू थिए। त्यो समय मेरा भूतपूर्व प्रेमिकाहरू सपनामा समेत मलाई चिथोर्न आउँथे। र, मलाई असाध्य दुःखमा एक्लै छोडेर जान्थे। मलाई प्रेम र प्रेमिका संसारका सबैभन्दा घृणालु कुरा लाग्थ्यो।

दुईवटा प्रेम टुटेपछि मैले निर्णय गरेँ- अब म प्रेम गर्नेछैन।

म त काँधमा उभिएको घर बोकेर हिँड्ने भइसकेको थिएँ।

दुईवटा कोठाको साघुँरो त्यो घरको एक कुनामा खोकिबस्थे बाबा। बाबा टीबीका कीटाणुहरूसित लडिरहेका थिए। बाबाका लहरे खोकीसित हामीले प्रेम गर्न थालिसकेका थियौं। बाबा खोक्नुहुन्थ्यो, तब घर ब्युँझन्थ्यो। ब्युँझन्थेँ म। ब्युँझनु आँखा खोल्नु मात्र होइन। चेतना खोल्नु पनि हो। बाबा खोकेपछि नै त लाग्थ्यो, उनका लागि औषधिहरू किन्नु छ। उनलाई निको बनाउनु छ। काँधमा उभिएको घरलाई मैले लड्न दिनुहुन्न। बहिनीहरूको हत्केलामा बलियाबलिया अक्षरहरू थमाउनु छ। आमाको पोल्टामा भरिदिनु छ केही लुते नोटहरू। र, जिउनु छ- गरिबीलाई। ब्युँझनु भनेको जीवनबोध हुनु पनि हो। जिउनु पनि हो। नब्युँझनेहरू त मुर्दा हुन्। म त मुर्दा थिइनँ। म जिउँदो थिएँ।

बाबाको खोकीले मलाई सधंै जिउँदो बनाउँथ्यो।

मेरो प्यारो किसान कवि निर्मल आनन्दको एउटा कविता छ-

चराहरूभन्दा पनि पहिल्यै उठ्‌छन् बाबा।

उनीभन्दा अघि उठ्‌छ

उनको वृद्ध खोकी।

उठ्‌नेबित्तिकै ढोग्छन्‌ पृथ्वीलाई

अनि राख्छन्‌ खाली खुट्टा भुइँमा।

त्यसपछि ब्युँझन्छन्‌ निद्राबाट

रातभर अँध्यारोमा डुबेर गाँठो परेका गालीहरू।

त्यसपछि ब्युँझन्छ घर

ब्युँझन्छ गाउँ।

ठीक यसरी नै ब्युँझिसकेको थिएँ म। जीवन हत्केलामा राखेर हेर्न थालेको मानिसलाई प्रेमिका संसारकै सबैभन्दा ठूलो व्यंग्य बन्छ। लाग्थ्यो, प्रेम गर्नु फजुल कुरा हो। प्रेमका कुरा गर्नेहरू मेरा दुश्मन हुन्। म त प्रेमको दुश्मन भइसकेको थिएँ। टुटेका प्रेमले मलाई कठोर बनाइसकेको थियो। म रुमानी संसारबाट निस्किएर दुखानी जीवनतिर हाम्फाली सकेको थिएँ। यो जीवन जो छ, त्यसलाई कसरी जिउँदो राख्नु होला ?        मलाई कुनै मेलो थिएन। जुन घर काँधमा उभिएको छ, त्यसलाई नलडाइकन कसरी बोकिराख्नु होला ? मलाई कुनै मेसो थिएन।

मलाई बाबाको खोकीले लखेट्न थालिसकेको थियो।

कमाइ गर्ने बाबा थला परेपछि आमाको हत्केलामा ठेला फुटेको धेरै भइसकेको थियो। म त्यो ठेला हेरिरहन सक्तिन थिएँ। बहिनीहरू जब बत्तीबाट झरेको कालो धुलो आँखाका डिलमा दल्थिन्, तब मलाई मेरो औकात थाहा हुन्थ्यो।

त्यसपछि मैले घर छाडेँ।

सिक्किमको लालबजारमा इँटा र बालुवा बोक्नेहरूमध्ये म पनि एक थिएँ। संसारभरि ढुंगा फुटाएर जिउनेहरूमध्ये म पनि एक थिएँ। अलैंचीबारी फाँड्ने        श्रमिकहरूमध्ये म पनि एक थिएँ। सुन्तलाको भारी बोक्नेहरूमध्ये एक, देवाल लगाउने मिस्त्रीहरूमध्ये एक, सडकमा पिच गर्ने मधिसेहरूमध्ये पनि एक थिएँ।

त्यो संघर्षको बेला मैले भेटेँ उसलाई। र, सुनाएँ- जीवनको दुःख। देखाएँ संघर्षका चलचित्र। मेरो आँसु खस्दा उसको पनि आँसु खस्यो। म हाँस्दा ऊ रमाई। ऊ त मेरो प्यारी दोस्त भई। मुटु नजिकको। तर, मैले उसलाई भनिसकेको थिएँ, ‘म त प्रेमको दुश्मन पो हुँ त।’

जँड्याहा सर

सुरज कवि हुने तर्खरमा थियो। सुरज अर्थात् कवि सुरज रोसुरी। मचाहिँ कवि भइसकेको थिएँ। पत्रिकातिर मेरो नाम आउन थालिसकेको थियो। सुरज कवि त भइहालेको थिएन। तर, ऊ गोजीमा प्रेमपत्र बोक्ने भइसकेको थियो। मेरै घरको बाटो स्कुल गइरहेको सुरजलाई एकदिन मैले बाटोमै रोकेँ। गोजीबाट प्रेमपत्र निकालेँ र भनेँ, ‘उसम्म पुर्‍याइदेऊ।’

सुरज उसका साथीहरूबारे कुरा गरिरहन्थ्यो। म सबै साथीहरूलाई चिन्दै गइरहेको थिएँ। उसले वर्णन गरेको र मैले मन पराएको उसका ती साथीहरूमध्ये मैले एउटा छानेको थिएँ।

एकदिन उसले भन्यो, ‘तपाईंको चिठीले गर्दा साथी मसित बोल्नै छोडी। कस्तो मिल्ने साथी थियौं, तपाईंको चिठीले हामीलाई दुश्मन बनायो।’

मलाई ग्लानी भयो। त्यसपछि मैले उसलाई बिर्सिएँ। बिर्सिदिएँ। त्यसपछि ती दुश्मनहरू फेरि साथी बने कि ? मलाई थाहा छैन, मेरो प्रेमपत्र सुरजको गोजीमा नै फाट्यो कि ठेगानमा पुग्यो !

०००

दलगाउँबाट पैदल पाँच घण्टा हिँड्दा उसको घर पुग्थ्यो। ऊ जहाँ बस्थी, त्यहीँ हो हाम्री आमाको माइत। मावाली जाँदाआउँदा धेरैपल्ट उसलाई देखेको हो। न ऊ बोली, न म। हाम्रो बोली थुनेको थियो, सुरजले पुर्‍याएको त्यही चिठीले, मलाई सधैं यस्तै लाग्यो।

त्यसको केही वर्षपछि, जतिखेर बेरोजगारीको कुरूप सौन्दर्यसित म एक्लै लड्दै थिएँ, त्यतिबेला कान्छी छ्यामा हाम्रो घर आइन्। म मकै छर्न बारी खनिरहेको थिएँ। आमा-छ्यामा आधारातसम्म गुनगुनगुनगुन गरिरहिन्।

भोलिपल्ट बिहान छ्यामाले ओछ्यानमा भर्खर उठेर बसिरहेको मलाई भनिन्, ‘उतै आइज हौ तँ। बरु अलैंचीबारी फाँड्न जा, सुन्तला बोक, अलिकति पैसा पनि त हुन्छ।’

त्यसपछि म मावली सरेँ।

उसको घर आउनुजानु, दुःखसुख साट्नु त आदत बन्यो।

उसकी आमा मलाई जाँड छानिदिन्थिन्। पुरानो भान्साघरको भित्तामा अडेसिएर म सिल्भरको मगमा तन्तनी जाँड पिउँथेँ। म त शब्द बुन्ने शिल्पी। बुनेका शब्दहरू देखेर मक्ख पर्नेमध्ये ऊ एक प्रमुख पात्र हो। ऊ मेरा शब्दहरूसित लहसिन्थी। ऊ मेरा कविताहरूसित प्रेम गर्थी। मेरा कथाहरूसित खेल्थी। ऊ मेरो प्रिय पाठक थिई।

ऊ मेरो साथी भई। ऊ मेरो जीवनका हरेक रङ नियाल्ने कोसिस गर्थी। मेरा संकटहरू उसको पनि साथी बनिसकेको थियो। मेरा सुखहरू उसको ओठमा बास बस्थ्यो। मेरा दुःखलाई ऊ सानासाना औंलीहरूले सुम्सुम्याउँथी।

म भन्थे, ‘मलाई तिमीजस्तै साथी मनपर्छ।’

उ हाँस्थी। मलाई उसका दिदीय स्वाभावले तान्थ्यो। अभिभावकीय शालीनताले पनि तान्थ्यो। उसका प्रेमिल मुस्कान आफ्नो लाग्थ्यो। बिलेटले काटेकाजस्ता आँखाले घोच्थ्यो। मेरैजस्ता उसका दुःखहरू थिए। केही पीडा कहिले उसको मुटुमा सथ्र्यो, केहिले मेरा। हाम्रा सपनाको रङ एउटै थियो। विपनाका छाया पनि एउटै थियो।

एकदिन सुन्तलाको भारी डोकोभरि बोकिरहेको मलाई देखेर ठूलो मामाले भने, ‘भानिज माथि आऊ हौ, स्कुल पढाउनु।’

४५ मिनेटको बाटो हिँडेर पुगेँ मामाघर। एलबी सरले सोध्नुभयो, ‘पढाउन आउँछ ?        ’

मैले टाउको हल्लाएँ। त्यसपछि म भरियाबाट शिशु शिक्षा केन्द्रको सर भएँ।

सर भएको साँझ उसैले जाँड छानिदिई। मेरो जीवनको तिर्खा उसले छानेको जाँडले मात्र मेटिन्थ्यो। तर, ऊ भन्थी, ‘जँड्याहा सर।’

प्रेम प्रस्ताव

मैले भनेको थिएँ, ‘एचएसमा गुल्टियौ, त के भो। अर्कोपल्ट परीक्षा दिनु। घरकाले खर्च गर्न सकेन भने म सहयोग गर्नेछु।’ तर, उसको जिद थियो, अब नपढ्ने।

‘नपढ्ने ?        ,’

‘नपढ्ने।’

‘के गर्ने त ?        ’

ऊ हाँस्थी।

एकदिन उसलाई मैले भनेँ, ‘माथ्लो स्कुलमा ठाउँ छ, पढाउँछौ ?        ’

त्यसपछि ऊ माथ्लो स्कुलको मिस भई। म तल्लो स्कुलको सर। ४५ मिनेटको बाटो। सँगै जानु, सँगै आउनु। कहिले उसले घुर्काई। कहिले मैले। कहिले मैले जिस्क्याएँ, कहिले उसले। कहिले म रिसाएँ, कहिले ऊ। मलाई लाग्थ्यो, हामी त साथीभन्दा पनि माथि पुगिसक्यौं कि क्या हो !

बुझ्न मैले एकदिन उसलाई बाटैमा सोधेँ। उसले भनी, ‘साथीसम्म नै त छौं नि। किन र ?        ’

‘मलाई तिमीसित प्रेम भयोजस्तो लाग्न थालेको छ,’ यो मेरो प्रेम प्रस्ताव थियो।

०००

उसले मेरो प्रेम प्रस्ताव अस्वीकार गरी।

भनी, ‘हामी साथी मात्र हौं। यहाँबाट नबढौं।’

मलाई यो अस्वीकृति कलिला नानीको पाइतलामा परेको तीखो काँटीजस्तो लाग्यो। उसको मन ढुंगा। मेरा दुःखहरूमा रसाउने उसका आँखाहरू नक्कली लागे। मेरा सुखहरूमा रसाउने उसका आँखाहरू पनि नक्कली। अवसादहरू टिपेर मेरो मनमा सपना रोप्ने उसका मीठा अभिव्यक्तिहरू जम्मै फोस्रा। मलाई ऊ क्रूर असिनाजस्तो लाग्यो, जो बज्रन्छ कोमल गुलाबको फूलमा।

तर, अस्वीकार गर्नु उसको हक हो। ऊ त्यही हकले जिइरहेकी मेरो जिग्री साथी पनि त हो।

मैले उसको अस्वीकृतिलाई स्वीकारेँ।

आत्मग्लानीको थोपा सधैं तप्किन्थ्यो मुटुमा र त्यसले विस्तारै खोतल्थ्यो भित्र कहीँ। यस्तोमा पनि आउँथ्यो, उसको मलिन अनुहार र निद्रा फुकिदिन्थ्यो आँखाबाट। केही अल्झेजस्तो हुन्थ्यो मनमा। त्यो कहिले पीडा हुन्थ्यो, कहिले अप्राप्ति। मलाई लाग्यो, प्रेमको गाउँ यस्तै उजाड हुन्छ। त्यसलाई यस्तै हुन दिउँ। तर, मानिसलाई प्रेमले सधैं लखेट्छ। पीडाले सुम्ल्याउँछ। मेरो प्रेम त फेरि पनि हार्‍यो। हार्नैको लागि म प्रेम गर्दो हुँ।

प्रेमले चुटेको मानिसको मुटु बलियो हुँदैन। मेरो पनि थिएन।

‘मिस,’ बाटोमा एकदिन भनेँ, ‘मैले हाम्रो असफल प्रेमको कथा लेखेको छु, त्यसको पहिलो पाठक तिमी नै भइदेओस् भन्ने लागेको छ, पढ्छौ ?        ’

मैले कुनै साहित्यिक पत्रिकामा च्यापेर त्यो कथा दिएँ। वास्तवमा त्यो कुनै कथा थिएन। १६ पृष्ठको माफीनामा पत्र थियो। हरेक पन्नामा मेरा मुटुका टुक्राहरू थिए। थोपाथोपा आत्मव्यथा थियो। अस्वीकरणले भत्किएको इगोको ध्वस्त अनुहार थियो।

त्यो माफीनामा पत्रमा मेलै लेखेको थिएँ, ‘तिम्रो सपना कुल्चने मलाई कुनै अधिकार छैन। म क्षमा याचना गर्छु।’

तर, त्यसको उत्तर उसले लेखिनँ। म हरेक बिहान समुस्कान एउटा पत्र उसलाई दिन्थें। हरेकपत्रमा एउटा कविता पनि हुन्थ्यो। समुस्कान ऊ पत्र थाप्थी। तर, जवाफ दिन्नथी। उसले जवाफ नलेखेसम्म मैले उसलाई पत्र लेखिरहेँ। हरेक बिहान म एउटा पत्र उसलाई दिन्थेँ र हरेक साँझ उत्तर पर्खन्थेँ। तर, महिनांैसम्म त्यो साँझ आएन, जसलाई मैले पर्खिएको थिएँ।

इंगल्यान्डका कवि ब्राउनिङले प्रेमिका कवि बेरेटलाई लेखेको पत्रमा भनिएको छ, ‘शब्दले मेरो भावनालाई बोक्न सक्दैन बेरेट।’ खासमा ब्राउनिङलाई लाग्थ्यो, बेरेटलाई भनुँ लागेको आफ्नो मनको कुरा शब्दले कहिल्यै बोकिदिएन र भन्ने कुरा जहिल्यै बाँकी रहन्थ्यो।

दोस्तोएवयस्कीले ऐनालाई लेखेको पत्रमा छ, ‘ऐना, मलाई अभिव्यक्तिमा कहिल्यै विश्वास लागेन। जुन दिन तिमीले मलाई अनुभूत गर्छौं, त्यही दिन मैले केही भनिरहेको तिमी चाल पाउनेछौ।’

अब्राहम लिंकनले पनि मेरी ओवन्सलाई लेखेका छन्, ‘यो पत्र लेख्नुअघि दुईपल्ट पत्र लेखिसकेँ। र, पनि म सन्तुष्ट भइरहेको छैन। के गरौं ?        ’

त्यसरी मैले पनि सैयौं पत्र लेखेँ। प्रेम पत्रहरूको नियति यस्तै त हुन्छ नि, जस्तो ब्राउनिङको थियो, जस्तो दोस्तोएवयस्कीको थियो, जस्तो अब्राहम लिंकनको थियो, जस्तो मेरो थियो।

त्यस रात मैले निर्णय गरेँ, अब म यो पीडा शिविरबाट सधैंका निम्ति मुक्त हुनेछु। शब्दहरूले बोक्न नसकेका र बाँकी रहेका सारा प्रश्नहरूलाई एक वाक्यमा छोट्ट्याएँ। र, मैले त्यो अन्तिम पत्रमा लेखेँ, ‘के तिमी मलाई प्रेम गर्छौं ?        ’

मैले त्यो पत्रको शीर्षक राखेको थिएँ, ‘मेरो जीवनको अन्तिम सोधनी, तिमीलाई।’

०००

एक दिन मैले सुरजलाई भनेँ, ‘मेरो कवि भाइ, मैले भक्तिलाई बिहे गरेँ।’

सुरजले मलाई पाँच मिनटजस्तो हर्‍यो। मलाई थाहा छ, त्यो उसको लागि समाचार भयानक अप्रत्याशित थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.