नगरकोटी डिएन

नगरकोटी डिएन

शब्दको जादुगर

नाटक ‘बाथ–टब’को पहिलो सो हेरेपछि भीड छिचोल्दै नजिकको कफी हाउसमा पस्यौं। नाटकको आकर्षण त थियो नै, त्यसैको छेकोमा लेखक, मित्रहरूसँग भेट्न, गफिन पाइने लालसा पनि थियो। कफी हाउस पर्याप्त सुन्दर र शान्त रहेछ। हामी ६ जना थियौं- निर्देशक नवीन सुब्बा, आख्यानकार गनेस पौडेल, पत्रकार लक्ष्मण श्रेष्ठ, कवि चन्द्रवीर तुम्बापो र म। आख्यानकार राजन मुकारुङ सायद चुरोट सल्काउन क्याफेबाहिर निस्किए।

कफी मग आइपुग्छ। म जेर्ड डायमन्डको किताब ‘गन, जर्म एन्ड स्टिल’को चर्चा गर्छु। त्यो सुब्बाको ‘प्रिय पुस्तक’ रहेछ। केही छिन पर्खेर भर्खर हेरेको नाटकको सन्दर्भतिर संकेत गर्दै नवीन सुब्बा भन्छन्, नगरकोटी शब्दको जादुगर हो। त्यस विचारमा म शतप्रतिशत सहमत हुन्छु। त्यसको कारण छ। मैले पनि नगरकोटीलाई ‘शब्दको जादुगर’ नै सोचेको छु। कतै प्रकट गरिनँ। मनमै सीमित थियो। कस्तो संयोग ! म भित्रभित्रै मुस्कुराएँ। विगतमा मैले कारण खोजेकै हुँ- उनी के कारणले त्यति पृथक् उभिन सकेका हुन् ? घोत्लिएकै हुँ। नगरकोटीका सिर्जनासँग करिब ६ वर्षदेखि नजिक हँदा र भेटेसम्म उनका आख्यान, संस्मरण, कथा, नाटक बुत्याउँदा उनी पृथक् उभिनुमा तीनवटा आधार भेटेको छु।

पहिलो, उनी अन्य धेरै लेखकका विपरीत, वरपर भएका शब्दलाई जे–जस्तो रूपमा छन्, त्यसलाई सरासर प्रयोग गर्दैनन्। सधँं होइन तर खास सन्दर्भमा। हाम्रै वरपर भएका शब्दलाई जोडेर भिन्न ध्वनि र बेग्लै अर्थ दिने शब्द बनाउँछन्। जस्तै- दारू र महललाई जोडेर दारूमहल। दारूलाई भट्टीबाट निकालेर महलमै राखिदिन्छन् उनी। हुन पनि अचेल महल, मन्त्री क्वार्टरमा दारूलाई अत्यधिक रुचाइएको छ। दोस्रो, उनी ध्वनिमा प्रशस्त खेल्छन्। शब्दमा निहितार्थ ध्वनिमा उनको बिछट्टको मोह छ। जस्तै- ‘बाथ–टब’मा निःशब्द शमशेर राणाले सिरियल किलरलाई ‘तिमी त मेरो मानस पुत्र हौ’ भन्दा सिरियल किलर (नाटकमा आख्यानको पात्र) भन्छ- तिमी मेरो मानस पितृ हौ। त्यस्तै, ‘तिमीले त मलाई श्रद्धा गर्नुपर्छ’ भन्दा, पिस्तोल ताक्दै सिरियल किलर भन्छ, ‘ श्रद्धा होइन, अब श्राद्ध गर्छु।’ शब्दको ध्वनि, अर्थको विपर्यास र जुन परिस्थितिमा शब्दको प्रयोग भएको छ, त्यो अनौठो लाग्छ। यी केही उदाहरण मात्र हुन्। तेस्रो, प्रचुर कल्पनाशीलता। यसबारे धेरै भनिरहनु पर्दैन।

रोला बार्थभन्दा पर

बाथ–टबमा तीन पात्र छन्- निशब्दशमशेर राणा, अनिद्रा र सिरियल किलर। अनिद्राको पागल प्रेमी अदृश्य पात्र हो। निशब्दशमशेर लेखक। अनिद्रा टाइपिस्ट। सिरियल किलर भने थाल्दै गरेको अब्सर्ड थ्रिलरको पात्र। ऊ कसो–कसो लेखककै अगाडि देखा पर्छ। आफूलाई सिरियल किलर बनाएकोमा तीव्र असहमति जनाउँदै जोगी बनाउन कर गर्छ। ऊ भन्छ- पात्र वा चरित्र स्वतन्त्र सत्ता हो, तसर्थ लेखकले पात्रउपर निरकुंशता लाद्न पाउँदैन। सार त्यति हो। सन्दर्भ र डिटेल भने प्रस्तुतिमा गज्जबले अनुभूत गर्न सकिन्छ।

सन्दर्भमै रोला बार्थतिर केही बेर फर्कौं। इसं १९६७ मा रोला बार्थको निबन्ध ‘लेखकको मृत्यु’को अंग्रेजी अनुवाद प्रकाशित भएको थियो। त्यो निबन्धले ठूलो हलचल मच्चायो। त्यसको परकम्प अझै अनुभव हुन्छ। बार्थको मतमा- पाठको एउटै अर्थ हुँदैन जसरी लेखकले दाबी गर्छ। तसर्थ बहुल पाठकले लगाउने अर्थ नै अन्तिम हो। सारमा ‘साहित्यिक कृतिको अर्थ के हो भनेर हामीले लेखकलाई सोध्ने होइन, बरु पाठले (टेक्ट्स) के भन्यो त्यो हेर्ने हो।’ बार्थभन्दा अगाडि गएर नगरकोटीले पात्र र चरित्रको पक्षमा गरेको वकालत अचम्मलाग्दो छ।

बार्थभन्दा अगाडि गएर नगरकोटीले पात्र र चरित्रको पक्षमा गरेको वकालत अचम्मलाग्दो छ। हुन त पात्र पाठकजस्तो जैविक स्तरमा अस्तित्वगत हुँदैन तर अवधारणगत तहमै सही- त्यसरी सोच्नुले उनको उर्वर मस्तिष्कतिर संकेत गर्छ।

हुन त पात्र पाठकजस्तो जैविक स्तरमा अस्तित्वगत हुँदैन तर अवधारणागत तहमै सही, त्यसरी सोच्नुले उनको उर्वर मस्तिष्कतिर संकेत गर्छ। अब्सर्ड नाटकले दिने नै संकेत हो। बोलीचालीको भाषामा त्यसले भन्दैन। पात्रको स्वतन्त्र सत्ताको सिद्धान्त कसैले निरुपण गरिसकेको विषय भए मलाई थाहा छैन, मेरो अल्पज्ञान। तर, बार्थभन्दा पर गएर त्यस्तो सोच्न सक्नु, सानो स्केलमै सही, त्यो अद्वितीय लाग्यो। हाम्रो सन्दर्भमा समयले पक्कै यसको महत्व केलाउला।

सपना, विभ्रम र यथार्थ

बाथ–टबको अर्को विशेषता सपना, विभ्रम र यथार्थको दोसाँधमा कथ्य अघि बढ्नु हो। नगरकोटीकै शब्दमा सपना र विपनाको दसगजा। तैरिरहेको बाथ–टबबाट आख्यानको पात्र (सिरियल किलर) सामुन्ने प्रकट भई आफ्नो भूमिका फेर्न करबल गर्छ। नत्र लेखकलाई ‘मर्न तयार हौ’ भन्दै पिस्तोलको ट्रिगरसम्मै औंला पुर्‍याउँछ। अर्को दृश्यमा, सिरियल किलर सामान्य भेषमा आउँछ र भन्छ- त्यो त बाथ–टबमा उसले देखेको सपना थियो। त्यो सुनी अनिद्रा रनभुल्ल पर्छे। अन्ततिर पागल प्रेमीले छाडेको भनिएको पाण्डुलिपि पढ्दा सबै पात्रको भूमिकाअघि नै लिपिबद्ध भएकोले प्रारब्धको खेल ठहर्छ। यसरी सपना, विभ्रम, यथार्थ, फेरि अर्को तहको सपना, विभ्रम यथार्थ र फेरि सपना, विभ्रम र यथार्थहरू उनिँदै जान्छन्।

जेलिँदै जान्छन्। नगरकोटी नाटकमा अर्जेन्टाइन लेखक बोर्गेसको नजिकै उभिएका छन्। बोर्गेस मान्थे, कला स्वप्नकै रूप हुन्। बाथ–टब हेर्दा मस्तिष्कमा झुल्किरहने कथा चुवाङ जुको ‘पुतलीको सपना’ हो। त्यो कथा आउँथ्यो, बिलाउँथ्यो। अनेकौंपटक त्यस्तो भयो। सपना, विभ्रम र यथार्थलाई उन्दै अघि बढेको नाटकको गतिमा दर्शक रमाउँछन्। तहगत सपना र यथार्थमा केही रोमाञ्च, केही विस्मय, केही विसंगत, केही हास्य, केही निराशा मिस्सिँदै आउँछन् र प्रभावलाई सघन बनाउँछन्। बहुल तहमा घटित हुने सघन प्रभाव नै नगरकोटीको सिग्नेचर शैली लाग्छ। त्यो सिग्नेचर कोर्ने मानस, नगरकोटीको डिएन हो।

सामाजिक यथार्थवाद र प्रयोगधर्मिता

सामाजिक यथार्थवादले नेपाली साहित्यलाई ध्वस्त पार्‍यो- नगरकोटीको दुस्साहसी धारणा कतै पढेँ। उक्त विचार कति सही ? कति गलत ? समीक्षकले आकलन गर्दै जालान्। त्यो ल्याकत म राख्दिनँ। केचाहिँ भन्छु भने, सामाजिक यथार्थवादले सिर्जेको विधागत एकरसताबाट (मोनोटोनी) नेपाल साहित्यलाई नगरकोटीले एक हदमा मुक्तचाहिँ गरेकै हुन्। उत्कृष्ट साहित्यमा हुनुपर्ने एक तत्व नवीनता (नोवल्टी)मा नगरकोटीको योगदान कम आँक्न सकिन्न। भलै नगरकोटीको पक्ष र विपक्षमा पाठक, सम्पादक, समीक्षक, लेखकहरू स्वयं ध्रुवीकृत नभएका होइनन्। पछिल्लो समय आख्यानकार गनेस पौडेल पनि त्यो जन्रामा थपिए।

सामाजिक यथार्थवादकै सन्दर्भमा स्वैरकल्पनाको नवीन प्रयोग बाथ–टबमा छ। निशब्दशमशेरले प्रयोगधर्मी आख्यान लेख्दै गर्दा मृत्युको स्वकीय सचिवको सन्देश आउँछ। स्वकीय सचिव राणाको आयु सक्किएको बताउँछ। तर, प्रयोगधर्मी आख्यान लेखेकाले आख्यान नसकुन्जेल निखिँद्रो आयुलाई स्थगनमा राख्ने सुविधा दिएको छ स्वकीय सचिवले। सामाजिक यथार्थ लेखकले त्यो सुविधा नपाउने बताउँदै नाटकले अर्कै मोड लिन्छ।

अनुपम नाट्य संयोजन

नाटक समुच्चय हो- पटकथा, निर्देशकीय क्षमता र पात्रहरूको चरित्र निर्वाहको। मञ्च, ध्वनि र प्रकाशको पनि। टाइपराइटर नदेखाई दानाहरूलाई खसालेर उत्पन्न ध्वनिबाट टाइपराइटरको टंकन दर्शाउनु, आकाशबाट झरेको गोलाकार नेटबाट सन्देश पठाउने दृश्य संयोजन नवीन लाग्छ। मानौं, त्यो नेट टाइम स्पेस र्‍याप कन्टिनुअम हो, जसले अर्कै दिक् र काललाई प्रतिनिधित्व गर्छ। निशब्दशमशेरको भूमिकामा नीर शाह प्रभावी लाग्छन्। सिरियल किलरको भूमिकामा बज्रेश खनाल जमेका छन्। अनिद्राको भूमिकामा भूषिता वशिष्ठले मोहितै पार्छ। विस्मित भएँ, उनको नाट्य अभिनय देखेर। अनुपम नाट्य संयोजनले बाथ–टब उत्कृष्ट नाटक बनेको छ, नगरकोटीकै नाटक ‘कोमा’भन्दा उत्कृष्ट।

उपसंंहार

यो समीक्षा होइन। मैले ग्रहण गरेको प्रभाव हो। माथि लेखेजस्तो नाटकका सबै पक्ष उत्कृष्ट र राम्रो मात्र छ त ? केही सुझाव छैन ? प्रश्न उभिन्छ। यौटा मित्रवत् सुझाव छ। आफ्नो डार्क साइडलाई बुझ्ने सवालमा नगरकोटी अग्रपंक्तिमा छन्। त्यसैले उत्तिकै जोखिममा पनि। यो प्याराडक्समा क्लिनिकल साइकलजिस्ट जोर्डन पिटरसनले व्याख्या नै गरेका छन्। अनुकूल मिले कुनै दिन लेख्नेछु। नगरकोटीका नाटकका संवाद र स्वैरकल्पना देख्दा कहिलेकाहीँ म भयभीत हुन्छु। शून्यमा शून्यसरी बिलाएँ...मा अन्तरनिहित ध्येयतिर लेखकको अवचेतन लालसाबाट जन्मनसक्ने परिणामबाट तर्सन्छु। वर्तमान समयमा स्वैरकल्पनालाई त्यति पर लैजाने लेखक नेपालमा सायदै अर्को छ। अब केही कदम पर लगे, कतै त्यसले निहिलिज्मतिर पो पुर्‍याउँछ कि भन्ने चिन्ता पनि हो मेरो। त्यतातिर पनि सोच्नुपर्ने हो कि भन्ने नगरकोटीसँग मेरो मित्रवत् आग्रह छ।

आग्रहमा मेरो स्वार्थ छ। हामीहरूले जे कृष्णमूर्तिका केही थप पुस्तक पढेर चर्चा गर्नै बाँकी छ। अध्यात्मको (कर्मकाण्डको होइन) बारेमा आफ्ना थप धारणा आदानप्रदान गर्न बाँकी नै छ। सुफीको मधुर संगीतसँग बब डिलनको प्रतिरोधी गीत सुन्न बाँकी नै छ। वसन्तपुरको टेरेसमा कफी खाँदै केही सघन विमर्श गर्न, रूख र चराचुरुंगीसँग पदयात्रामा निस्कनै बाँकी छ। फेरि हामीले नगरकोटीका अझ कैयन् प्रयोगधर्मी र नवीन सिर्जना पनि त पढ्न, हेर्न सुन्न (? ) बाँकी नै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.