गुलजारका पात्रहरू

गुलजारका पात्रहरू

गुलजारको नाम आउनेबित्तिकै हामीसामु एउटा तस्बिर प्रकट हुन्छ। सेतो फुलेको कपाल, सेतै कमिज अनि सेतै सुरुवाल। खुट्टामा रामायणको झल्को दिने खराउ जुत्ता अनि अनुहारमा बच्चाको जस्तो निर्मल हाँसो। साथै अर्को एउटा तस्बिर पनि आउँछ, एक कवि अनि गीतकारको तस्बिर। समग्रमा एक धुरन्धर लेखकको तस्बिर। तर के गुलजारको नाम उच्चारण गर्दा आउने तस्बिर यत्तिमात्रै हो त ? पक्कै होइन।

गुलजारको नामसँगै अर्को एउटा आकृति पनि आउँछ। तर यो आकृति उनको अरू तस्बिरको अगाडि अलि फिक्का भइदिन्छ। एक लेखकको रूपमा गुलजारको परिचय आफैंमा यति विशाल छ कि एक निर्देशकको रूपमा उनको परिचय आफैं छायामा पर्न जान्छ। तर सत्य के पनि हो भने सय वर्षभन्दा लामो इतिहास बोकेको भारतीय सिनेमाको कुनै पनि समीक्षा गर्दा यदि निर्देशक गुलजारको नाम छुट्यो भने त्यो अपूर्ण हुन्छ। एक गीतकारको रूपमा भारतीय फिल्म इतिहासको दस्तावेजमा गुलजारको नाम स्वर्णिम अक्षरले सुसज्जित छ, त्यसमा उनको नाम ‘अटोमेटिक इन्ट्री’ हुन्छ।

०००

सन् १९७१ मा आफ्नो पहिलो फिल्म ‘मेरे अपने’ निर्देशन गर्दा एक गीतकार, संवाद र पटकथा लेखकको रूपमा गुलजार स्थापित भइसकेका थिए। तर उनी लेखकको रूपमामात्र सीमित रहन चाहेनन्। ‘स्टोरी टेलिङ’का विभिन्न माध्यमसँग उनी परिचित हुन चाहे, फिल्म निर्देशन यसैको एउटा पाटो थियो। हरेक निर्देशकले आफूले पहिल्याउने एउटा धार हुन्छ, आफूले रोज्न खोजेको एउटा बाटो हुन्छ।

निर्देशक सत्यजित रे ले सन् १९५५ मा आफ्नो पहिलो फिल्म बनाए ‘पाथेर पाँचाली’, बंगाली भाषामा। पहिलो फिल्मको कल्पना पनि नगरिएको विश्वव्यापी सफलतापछि उनले अरू दुई चलचित्र बनाए ‘अपराजितो’ र ‘अपु संसार’, अपु ट्रिलोजीको रूपमा। रे ले त्यसपछि पनि थुप्रै चलचित्र बनाए, तर एक फिल्ममेकरको रूपमा रायको धार त्यही अपु ट्रिलोजीले निर्धारण गरिदियो। उनको ‘लिगेसी’को लागि बाटो प्रशस्त गरिदियो।

‘दो बिघा जमिन’ विमल रायको धार बन्यो भने ‘आनन्द’ र त्यस किसिमका चलचित्र ऋषिकेश मुखर्जीको धार बन्यो। श्याम बेनेगलले आफ्नो पहिले चलचित्र ‘अंकुर’बाटै निर्देशकको रूपमा आफ्नो धार पहिल्याए। यस हिसाबले ‘परिचय’ र ‘कोसिस’ बनाउँदासम्म गुलजारले पनि एक निर्देशकको रूपमा आफ्नो धार पत्ता लाइसकेका थिए।

उनी सामाजिक विषय र खासगरी समाजबाट एक हिसाबले अलग्गिएका पात्रहरूको बारेमा सिनेमा बनाउन चाहन्थे। गुलजारका पात्रहरू समाजबाट मात्र होइन, एक हिसाबले आफैंसँग पनि अलग्गिएका हुन्छन्, खासगरी आपसी सम्बन्धमा देखिएको मतभिन्नता र घर्षणका कारण। कालान्तरमा गुलजारको धार उनले बनाएका फिल्मले भन्दा पनि उनले निर्माण गरेका पात्र र तिनका चरित्रले निर्धारण गरे।

०००

यसको सबैभन्दा सबल उदाहरण उनले सन् १९७५ मा बनाएको बहुचर्चित फिल्म ‘आँधी’ले दियो। आवरणमा राजनीतिको कथा भए पनि ‘आँधी’ बिहेपछि नौ वर्ष अलग भएको एक जोडीको कथा थियो, महŒवाकांक्षा र ‘इगो’ को कथा। नौ वर्षपछि उक्त जोडी चुनाव प्रचारप्रसारको सिलसिलामा एकचोटि फेरि आमनेसामने हुन पुग्छ। आफूद्वारा भएका गल्ती र आफ्ना कमजेरीको दुवैले समीक्षा गर्छन्। फेरि आपसमा नजिक आउन पुग्छन्। र, पनि सधैंको लागि नजिक हुन सक्दैनन्। आरतीदेवी (सुचित्रा सेन) र जेके (सञ्जीव कुमार) को प्रेमबीच आरतीदेवीको राजनीतिक जीवन खलनायक भएर आइदिन्छ।

पात्र आरतीदेवीको बोल्ने, हिँड्ने शैली, हेयर स्टाइल र पर्दाको उनको राजनीतिक जीवन तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग मेल खाएको विषयले उक्त फिल्म त्यसबखत विवादास्पद पनि बनेको थियो। तर सोही फिल्मले एक निर्देशकको रूपमा गुलजारको उपस्थितिलाई अरू सबल बनाइदियो। यसअघि कवि र गीतकारको रूपमा चिनिएका गुलजार ‘आँधी’ पछि एक कुशल निर्देशकको रूपमा पनि ‘नोटिस’ भए।

हरेक पुस्तक र त्यसका पात्रहरूमा लेखकको अंश कतै न कतै, कुनै न कुनै रूपमा भेटिएजस्तै आफ्नो फिल्म ‘आँधी’ र त्यसका एक प्रमुख पात्र जेकेमा पनि गुलजार अप्रत्यक्ष रूपमा भेटिन्छन्। चलचित्रमा आपसी सम्बन्धको सुरुआती पलहरूमा आरतीदेवीले ठट्टा गर्दै जेकेलाई भन्छिन्,

‘तिमीसँग तिम्रो कविता र सायरी नहुने हो भने तिमी एकदम साधारण मान्छे हुने थियौ।’ पेसाले होटेल म्यानेजर भए पनि जेके (सञ्जीव कुमार) आरतीदेवीलाई फोनमै पनि कविता सुनाउने गर्छन्, मनले उनी कवि हुन्।

भनिन्छ, वास्तविक जीवनमा पनि बेलाबेला, ठट्टामै सही, राखी गुलजारलाई भन्ने गर्थिन् ‘तिम्रो कविता र तिम्रो सायरी बिना तिमी एकदम साधारण मान्छे हुने थियौ।’

०००                                                         

सन् १९७५ मै केहीबेर अरु भुलौं। निर्देशकको रूपमा ७० को दशक गुलजारको लागि एक स्वर्णिम काल थियो भने खासगरी वर्ष १९७५ त्यस स्वर्णिमकालको उत्कर्ष थियो। त्यो वर्ष उनले थप अरू दुई चलचित्र बना, ‘खुशबू’ र वर्षको अन्त्यतिर ‘मौसम’। ‘मौसम’ मा एकपटक फेरि देखिए सञ्जीव कुमार, उमेर ढल्किसकेको समाजको एक प्रतिष्ठित डाक्टरको भूमिकामा।

डाक्टर अमरथानसँग पैसा छ, इज्जत छ, सान छ। २५ वर्षपछि जब उनी दार्जिलिङ सहर फेरि जान्छन्, केही पुराना सम्झना फेरि ताजा हुन पुग्छन्। २५ वर्षअघि अमरनाथसँग यौवन हुन्छ, डाक्टर बन्ने सपना हुन्छ। एउटा वाचा गरिएको हुन्छ, जुन पूरा भएको हुँदैन। त्यसपछि बितेको समयमा अमरनाथसँग आफ्नो गल्तीको स्विकारोक्ति र पश्चाताप दुवै हुन्छ। ‘मौसम’ त्यही अमरनाथको कथा हो, जो २५ वर्षपछि आफ्नो गल्ती सच्याउन हरसम्भव कोसिस गर्छ।

गुलजारका पात्रहरूको विगत हुन्छ, अप्ठ्यारो अनुभव हुन्छ, जुन उनीहरू वर्तमानमा सच्याउने प्रयत्न गर्छन्। उनका पात्रहरू एकआपसमा अल्झिएका हुन्छन्, आपसी सम्बन्ध केही बल्झिएको हुन्छ। एउटा ‘नोस्टाल्जिया’ हुन्छ, जुन उनले बनाएका करिबकरिब सबै फिल्ममा भेटिन्छ। गुलजारले न त पूर्ण रूपले व्यावसायिक चलचित्र बनाए, न त पूर्ण ‘आर्ट’ फिल्ममा उनको झुकाव रह्यो।

विमल राय र ऋषिकेश मुखर्जीको जस्तो मध्यममार्गी धार पनि ठ्याक्कै गुलजारको होइन। गुलजारले समातेको धार धेरै हदसम्म उनका पात्रहरूले निर्धारण गरेको बाटो हो। उनले निर्माण गरेका पात्रहरूले नै एक निर्देशकको रूपमा गुलजारलाई अलग परिचय दिए। आफ्ना सन्तानको असल कर्मले आमाबाबुको नामले एउटा थप, अलग परिचय पाएजस्तो।

०००

ट्रेन स्टेसनमा आएर रोकिएको छ। पानी पर्न पनि ठ्याक्कै यहीबेला सुरु भएको छ। आजको रात प्ल्याटफर्ममै बिताउनु पर्नेछ। लामो दूरीको, लामो समय कुर्नुपर्ने ट्रेन समात्ने यात्रुको लागि एउटा कोठा छ, रात गुजार्नको लागि। नायक त्यहाँ पुछ। एउटी महिला उभिएकी देख्छ, अनुहार भने सुरुमा देखिन्न। यता उता झोला मिलाउँदै गर्दा दुईजनाको नजर जुध्न पुग्छ।

पूर्वपत्नीसँग यसरी अकस्मात् ट्रेनको प्ल्याटफर्ममा भेट हुँदा कति अप्ठ्यारो होला ! नबोलिरहन पनि अप्ठ्यारो, बोल्न त झनै अप्ठ्यारो ! तर नबोली पनि सुख छैन। सुरुआती अप्ठ्यारो र आनाकानीपछि विस्तारै खुल्न थाल्छ। कुनै समय आफूले सँगै बाँचेको विगत कोट्याउन थाल्छ। आफूबाट भएका गल्ती आत्मसात् गर्छ। पूर्वपत्नीको कुरा गराई, हाउभाउबाट उसले अझै पनि आफूप्रति सहानुभूति राखेजस्तो महसुस गर्छ। क्षणभरमै पहिलेजस्तो लाग्छ। क्षणभरमै वर्तमानजस्तो लाग्छ।

गुलजारद्वारा निर्देशित सन् १९८७ को चलचित्र ‘इजाजत’ को मोटामोटी कथा हो यो। ‘इजाजत’को प्रमुख पात्र महिन्दर, जसको भूमिकामा छन् प्रतिभाशाली कलाकार नसिरुद्दिन शाह, धेरै कोणबाट गुलजारको प्रतिनिधि पात्र हो। परिवारको करकापमा विवाह गरे पनि महिन्दर आफ्नी पत्नी सुधा (रेखा) सँग खुसी छ। तर खुसी धेरैबेर टिक्दैन।

विवाह पूर्वकी उसकी प्रेमिका माया (अनुराधा पटेल) को उसको जीवनमा पुनः प्रवेशसँगै अवस्था बदलिन्छ। एउटा समय यस्तो पनि आउँछ, महिन्दरले पत्नी र प्रेमिका दुवैबाट माया र सहानुभूति पाउँछ। तर यो खुसी र सन्तुलन पनि धेरैबेर टिक्न सम्भव छैन। विद्रोह निश्चित छ। अन्त्यमा महिन्दर एक्लो हुन्छ।

अप्ठ्यारो र निकास मुस्किल भएको अवस्थामा पनि गुलजारका पात्रहरू आशा राख्न छाड्दैनन्। कठिन परिस्थितिका बाबजुद आशा राख्नु र आफ्नो गल्तीलाई सम्भव भएसम्म सच्याउन खोज्नु उनीहरूको स्वभाव हो। गुलजारका पात्रहरूको स्वाभाव हो।

००० 

पूर्वपत्नीको निधारमा टीका र निधारको बीचमा सिन्दूरले के संकेत गर्ला ? एक मनले यो भन्ला कि उनको अर्को विवाह भइसक्यो, खेल खत्तम। यसमा अरू कुनै तर्क आवश्यक छैन। साथै अर्को मनले यो पनि अनुमान लगाउला कि सायद छुट्टिइसकेपछि पनि उनले मेरो नामको टीका लगाउन छोडिनन्, बस् यत्तिकै, तर उनको बिहे भने भएको छैन। दोस्रो अनुमान चरम आशावादी सोच हो।

केही हदसम्म वाहियात पनि हो। तर गुलजारका पात्रहरू, सुन्दा वाहियात नै सही, आशावादी रहिरहन मन पराउँछन्। सुधाको निधारमा सिन्दूर देख्दा महिन्दर भित्रभित्रै रोमाञ्चित हुन्छ तर निराश भने हुँदैन। विगतको गल्ती सच्याएर वर्तमानलाई सुधार्न सकिन्छ भन्ने उसलाई हमेशा लागिरहन्छ। यो महिन्दरको चरित्र हो। किनभने ऊ गुलजारको पात्र हो।

सन् ७० को दशकको उत्कर्ष र ८० को दशकको उचाइपछि ९० को दशकमा फिल्म निर्देशनमा गुलजार केही मात्रामा सेलाए। साहित्यको बाटो हुँदै फिल्म निर्देशनमा प्रवेश गरेका गुलजार त्यस कर्ममा करिब तीन दशक बिताइसकेपछि अन्ततः चलचित्र निर्देशनबाट बिदा भए। अन्त्यतिर उनले केही फरक विषयमा फिल्म पनि बनाए, ‘माचिस’ र ‘हुतुतु’ यसका उदाहरण हुन्। तर समग्रमा ‘आँधी’ र ‘इजाजत’ नै उनले रोजेको बाटो हो।

‘मौसम’ नै उनको ऋतु हो, जहाँ उनी फुल्छन्, मुस्कुराउँछन्। सिनेमाको विशाल संसारमा गल्ती गरेर पश्चाताप गरिरहेका अमरनाथ या महिन्दरनै नै उनका प्रतिनिधि पात्र हुन्। व्यक्तिगत महŒवाकांक्षा र आपसी मतभिन्नताका कारण बल्झिरहेको आरतीदेवीको प्रेम जीवन र भविष्यको अस्पष्टता नै गुलजारको स्पष्टता हो।

सम्पुरन सिंह कालराको नामबाट सिर्जनशील यात्राको सुरुआत भएको कथाले पछि गएर गुलजारको नाम लियो, उनको पुरानो नाम हरायो। युवावस्था बेलाको उनको अनुहारको रङ, रूप परिवर्तन भयो। ओठ माथिको कालो जुँगा सेतो भयो, लगाउने कमिजजस्तै। तर उनको परिचय भने अमर रह्यो। आफूले लेखेका कविता र रचना गरेका गीत निश्चय पनि गुलजारको आवाज हो। तर उनले निर्देशन गरेका चलचित्र, तिनका पात्रहरू र ती पात्रहरूले रोजेको जिन्दगीको बाटो भने गुलजारको पूर्ण आवाज हो। र, यो आवाज सधैं अमर रहिरहनेछ, एउटा परिचय बोकिरहनेछ।

सन् १९७७ मा गुलजार आफैंले निर्देशन गरेको चलचित्र ‘किनारा’ को एउटा चर्चित र मर्मस्पर्शी गीतको शब्द र अर्थजस्तै

नाम गुम जाएगा, चेहरा ये बदल जाएगा

मेरी आवाज ही पहचान है, अगर याद रहे


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.