‘प्रमिथस’ गुरुलाई प्रणाम !

‘प्रमिथस’ गुरुलाई प्रणाम !

भोटे कुकुर र मानिस

भन्नेहरू भन्थे– माछापुच्छ«ेको टुप्पोबाट भीमसेनले ठेलो हानेको ढुंगो पोखरा आइपुग्यो। महाभारतकालीन भीमसेन कसरी माछापुच्छ«ेको टुप्पोमा पुगे र किन उनले ठेलो हानेको ढुंगो बज्रेको ठाउँमा जमिन दबिएको कुनै चिन्ह छैन भन्ने तर्कशास्त्रको विपरीत विश्वासका आहानका धेरै अर्थ होलान्। अद्यापि त्यस भीमकाय ढुंगोलाई पोखरावासीहरू भीमढुंगो भन्छन्। कसैले भक्तिपूर्वक देवी स्थापना गरिदिएपछि सायद त्यस वरपरको पाटनलाई भीमकालीन पाटन भनियो। मेरो घर यही पाटन नजिकको टोल बागबजारमा पर्छ। सेतीखोलाको बगर क्षेत्र भएकोले जनजिब्रोले औपचारिक ‘बागबजार’ नभनेर अनौपचारिक बगर भन्न रुचाउँछ।

भीमढुंगो भित्र पारी पृथ्वीनारायण क्याम्पस (पहिले कलेज भनिन्थ्यो) भीमकाली पाटनमा बसेको ५७ वर्ष भयो। अहिले त्यस क्याम्पसभित्र धेरै पक्की भवन बनिसकेका छन्। म बालक छँदा भीमढुंगोछेउमा केही खरका कच्ची छाप्राहरू थिए, वरपर खरबारी, झाडी र मैदान मात्र थिए। दिउँसै स्याल कराउँथे। हामी ६÷७ जना बालक बिहान र दिनको अपेक्षाकृत सुरक्षित समयमा कहिले कपडा बटुलबाटुल पारी पोको पारेको भकुन्डो, कहिले साँच्चै रबरको भकुण्डो लिएर त्यहाँ खेल्न जान्थ्यौं। कहिलेकाहीँ लुकामारी खेल्न, दगुर्न र सेतीखोला पारि, काहुँडाँडा मन्तिर, (जहाँ अहिले मणिपाल अस्पताल छ) फूलबारी ब्यारेकका सैनिकहरूले तारो हानेको हेर्न पनि जान्थ्यौं। सैनिकहरूले तारो हान्दा हुने भयानक गर्जन र जमिनमा गोली लाग्दा उड्ने धुलोको फुस्रो बादलले हामी डराउँथ्यौ तर रोमाञ्चित पनि हुन्थ्यौं। त्यही रोमाञ्चले तानिएर एक बिहान म क्याम्पसको डिलबाट साथीहरूसित तारो हानेको हेर्दै थिएँ, क्वार्टरतिरबाट अजंगको भोटे कुकुर भुक्दै, हाम फाल्दै हामीतिर आयो।

हाम्रो सातो गयो। हामी जुन बाटो आएका थियौं, सक्दो चाँडो त्यही बाटोतिर भाग्न थाल्यौं। भाग्दा म साथीहरूभन्दा केही पछाडि परेँ। त्यसैले भोटे कुकुरले मलाई नै तारो बनायो। मैले सुनेको थिएँ, त्यो बाघसित लड्ने भोटे कुकुर हो त्यसैले डरले कहालिएर रोएँ अनि कतातिर दगुर्ने भन्ने अलमलमा परेँ। मलाई भोटे कुकुरको पछिपछि कोही दगुर्दै आइरहेछन् भन्ने चेतना भएन। भोटे कुकुर नजिकै आइपुगेपछि म कहालिएर जथाभावी भागेँ।

‘बाबु यता आउ !’ कसैले मलाई भने। म उतै दगुरेँ अनि ती मानिसको छातीमा लुकेँ। तिनले मलाई अँगालोमा बेरी सुमसुम्याए। म केही शान्त भएँ। आँसुले धमिलो भएका आँखाहरू पुछ्दै यताउती हेरेँ। भोटे कुकुर सिकार खोसिएको दिग्दारीमा लुरुलुरु क्वार्टरतिर गइरहेको थियो।

‘बाबु, अबदेखि यता नआऊ है। कुकुरले टोक्छ,’ ती मानिसले भने।

‘हुन्छ,’ मैले हिकहिकाउँदै भनेँ।

यसरी मार्फत् भोटे कुकुर ती मानिससित मेरो पहिलोपल्ट भेट भएको थियो। उनी थिए– जर्ज जोन, कलेजका प्रिन्सिपल।

केरलियन ठिटो

गणतन्त्र भारतको सबैभन्दा शिक्षित राज्य भन्ने दर्जामा रहेको केरलामा ८६ वर्ष पहिले जर्ज जोन जन्मेका थिए। मलयालम भाषामा ‘केरला’को अर्थ हुन्छ– नरिवलको रुख। सुन्दर समुद्री तट, सर्वत्र नरिवलका रूखहरूको प्राकृति परिदृश्य अनि तिरुवितामकुरको इडाआरनमुला गाउँको शिक्षक परिवारमा जन्मेका जोनमा शिक्षाआर्जन गर्ने उत्कण्ठा थियो। स्कुलको शिक्षा आर्जन गरुञ्जेल उनले खेलकुद गर्न, कविता, निबन्ध लेख्न र परतन्त्र भारतका भारत छोडो आन्दोलनमा ‘महात्मा गान्धी जिन्दावाद !’ सम्मका नारा लाउन भ्याए। त्यहीबीच उनले पत्रकार बन्न चाहे। स्कुले शिक्षा समाप्त भएपछि उनले टाइपिङ र सर्टह्यान्ड सिके। त्यसपछि उच्च शिक्षा प्राप्त गर्ने उद्देश्य राखी उनी नागपुरतिर हान्निए। उनले युनियन विब्लिकल सेमिनारी कलेजमा छात्रवृत्तिसहित भर्ना पाए।

नागपुर कलेजमा वर्षको तीन महिना (मार्च, अप्रिल र मे) बिदा हुन्थ्यो। बिदामा सिनियर दाजुहरू वा साथीहरूसित घुम्न निस्कन्थे, जोन। सन् १९५३ मा स्नातक सकेपछि जोन साथीहरूसित नेपाल घुम्न हिँडे, खल्तीमा परिचयपत्र बोकेर। सुगौली सन्धिपछिको नेपाल घुम्न त्यसबेला अहिले जस्तो सजिलो थिएन।

रक्सोलबाट अमलेखगन्जसम्म एनजी रेल्वे चढेर, त्यसपछि फटाफट हिँडेर मकवानपुरको भीमफेदी, चन्द्रगढी, कुलेखानी हुँदै काठमाडौं खाल्टोको यात्रा ! यात्रामा उनले पार्टपुर्जा फुकालेर मानिसहरूले गाडी बोकी ल्याएको अचम्मको दृश्य पनि देखे।

मासिक ६ रुपैयाँ भाडा तिरेर काठमाडौंको बसाइ। साथीहरू केही समय काठमाडौं घुमेर देश फर्के। तर, जोनलाई यहाँ के ले अड्यायो ?       उनी नोकरी गर्न थाले। साथमा राति पढाइ हुने नेपाल नेसनल कलेजमा एमए पढ्न थाले। प्रिन्सिपल थिए, शंकरदेव पन्त।

जोनले ड्राई क्लिनर्समा काम गरे, टाइपिङ इन्स्टिच्युटमा काम गरे, अंग्रेजी राम्रो भएकाले देवकोटाले झैं अंग्रेजी ट्युसन पनि पढाए। त्यसबेला त्रिभुवन विश्वविद्यालय थिएन। एमएको जाँच पटना विश्वविद्यालयमा गई दिनुपथ्र्याे। एमए अध्ययन गर्दा १७ जना विद्यार्थी थिए। तर, पटना पुगी परीक्षा दिँदा उत्तीर्ण हुनेमा जोन र प्रख्यात साहित्यकार आनन्ददेव भट्ट दुईजना मात्रै भए।

अब जोनको ‘देसी ट्युसन कक्षा’ रफ्तारमा चल्न थाल्यो। टाइपिङ इन्स्टिच्युटको प्रमुख पनि। महिनामा आम्दानीले तीन हजार रुपैयाँ नाघ्यो। तर, अधिकांश नेपालीहरू भारतमा रुपैयाँ–पैसा आर्जन गर्न भास्सिएझैं केरलियन ठिटो जोन सम्पत्ति आर्जन गर्न नेपाल भास्सिएका थिएनन्। उनको अभ्यन्तरमा कुनै छटपटी थियो, जुन उनी व्यस्त दिनचर्याले दबाउँथे। उनका बाबुआमाले उनलाई घर बोलाइरहन्थे तर कुन अव्यक्त भावना वा चाहनाले उनले नेपाललाई नै घर सम्झन थालिसकेका थिए।

पालेदेखि प्रिन्सिपलसम्म

कुनै समय महान् भूगर्भविद् टोनी हेगनले विश्वको सबैभन्दा सुन्दर ठाउँ भनी प्रशंसा गरिएको पोखरा २०१७ सालमा पनि प्राकृतिक रूपले सुन्दर थियो। पैदल हिँड्दा आठ दिन लाग्ने काठमाडौंलाई राजमार्गले होइन, हवाईमार्गले जोडेको थियो। डकोटा विमानहरू चल्थे। तर, पत्रिका नबोक्ने हुनाले पोखरामा ‘गोरखापत्र’ आइपुग्न सुदूरवर्ती ताराबाट प्रकाश आइपुग्न जति त होइन, तीन हप्ता जति लाग्थ्यो। पोखरामा केही हाइस्कुल चलेका थिए। हाइस्कुल उत्तीर्ण गरेपछि धेरैजना घरै बस्थे।

केहीले मात्र काठमाडौं वा बनारस गई पढ्ने हैसियत राख्थे। केही म्याट्रिक पास विद्यार्थीले २०१६ सालमै कलेज चाहियो भनी जुलुस निकालिसकेका थिए। त्यसैले २०१७ सालमा बडाहाकिम नारायणप्रसाद शर्माको अध्यक्षतामा कलेज सञ्चालक समिति गठन भएको थियो। सदस्यमा थिए सचिव शिवप्रसाद थापा, प्रेमराज मुल्मी, दिलबहादुर भारी, त्रैलोक्यनाथ       श्रेष्ठ, अमृतप्रसाद शेरचन, सुन्दरप्रसाद मर्सानी, भोलानाथ पराजुली, रमेशकान्त सिग्देल, हिकबहादुर शाक्य, ऋषिकेशव पराजुली र       श्रीप्रसाद गुरुङ।

कलाकार दुर्गा बरालले २०३० सालमा बनाएको सर जर्ज जोनको चित्र 

समिति गठन भएपछि प्रिन्सिपल बन्ने मानिसको खोजी सुरु भयो। प्रकृति जति सुन्दर भए पनि दुर्गम मानिने पोखरामा को आएर कलेज चलाइदिने ?       धेरै निराशाहरूबीच काठमाडौंमा कुनै रैथाने होइन, जर्ज जोन फेला परे। आफूसित ट्युसन पढ्ने विमलबहादुर थापाले उनलाई सचिवले हस्ताक्षर गरी पठाएको नियुक्तिपत्र दिएपछि (मिति २०१७ भदौ २ गते) मासिक रु. तीन सय ५०।– मा प्रिन्सिपल बन्न जोन मासिक तीन हजारभन्दा बढीको नियमित आम्दानी परित्याग गरी पोखरातर्फ लागे।

कलेज कागजमा मात्र थियो, भौतिक संरचनामा थिएन। त्यसैले अस्थायी रूपमा नदीपुरस्थित कन्या माविमा साँझको समय कलेजको कक्षा सञ्चालन भयो। मइन्टोलको उज्यालोमा जोन नेपालीबाहेक सबै विषय पढाउँथे। पियन थिएन। जोन आफैं मइन्टोल, हाजिर कापी, घण्टी आदि बोकी आउँथे। घण्टी बजाउँथे। एकपल्ट उनी बाटोमा चिप्लिएर लडे। फेर्ने लुगाको अभावमा जोन लुँगी लाएर पढाउन गए।

कन्या माविमा के कुरा मिलेन, कलेज नारायणस्थानको पौवामा सर्‍यो। जोनले असन्तुष्ट विद्यार्थीलाई थामथुम पारेर गुन्द्री र ढुंगामा बसाई पढाए। अति भयो। धेरैले महसुस गरे। पछि नयाँ बडाहाकिम तेजबहादुर प्रसाईंले भीमकाली पाटनमा कलेजका लागि एक सय १० रोपनी जग्गा दिएपछि, २०१८ सालमा नयाँ अध्याय सुरु भयो। अब प्रिन्सिपल जोनको अगुवाइमा कलेजको लागि कक्षा कोठाहरू र क्वार्टर निर्माणका लागि छाप्रो हाल्ने भगिरथ कार्य आरम्भ भयो। छेउछाउका गाउँहरूमा गएर खर, बाँसहरू ओसारिए। जोनले गाउँबाट खर बोके। बाँस बोके। सहयोगीहरूसित काँधमा काँध मिलाएर छाप्रोहरू ठड्याए। सञ्चालक समितिसित पैसा थिएन। जोनले सांस्कृतिक कार्यक्रम, नाटक आदि गरेर कलेजको व्यवहार चलाए। अर्थाभावले समयमा तलब खान पाइन्नथ्यो महिनौंसम्म। जोनले अभावहरूसित हार खाएर भाग्ने कुनै उपक्रम गरेनन्।

पसिना बगाई ठड्याएको झुप्रो राजा महाराजाका दरबारभन्दा राम्रो र प्यारो लाग्छ। तर, २०२० सालमा बहुला आँधीले कलेजका झुप्रो उडाइदिएपछि अवस्था के भयो होला ?       तर, जोन आत्तिएनन्। उनले अमृतप्रसाद शेरचनको पसलबाट तीनवटा त्रिपाल किनेर ल्याए अनि त्यसैमन्तिर विद्यार्थीलाई पढाउन थाले। केही समयावधिपछि सरकारले कलेजको पहिलो भवन ‘कला भवन’ बनाइदियो। त्यसपछि अन्य भवनहरू बन्न थाले। त्यहीताका पिस्कोर भोलिटिन्यर भई नेपाल आएकी डोरथी मिरोले क्वार्टर्स र संग्रहालय बनाउन मद्दत गरे।

अनेक चुनौती र अभावहरूसित संघर्ष गर्ने क्रममै जोनले परिवारको इच्छाअनुरूप बीएस्सीको पढाइ सकेर बसेकी एलियाम्मासित २०१८ सालमा जेठमा विवाह गरे। एलियाम्मालाई पोखरा ल्याए। एलियाम्माले जोनको संघर्षमा सधैं साथ दिइन्। कलेजमा डिमोन्स्ट्रेटर र पछि प्राध्यापक भएर सेवा गरिन्। उनले त्रिविबाट विज्ञानमा विद्यावारिधि पनि गरिन्।

कलेजका प्रारम्भिक समयहरूमा जोन छिनमा प्रिन्सिपल हुन्थे, छिनमा प्राध्यापक हुन्थे, छिनमा पाले हुन्थे, छिनमा चौकीदार हुन्थे, छिनमा मजदुर हुन्थे। कलेजका भवनहरू र रंगशाला निर्माणका काममा उनका धेरै पसिना बगेका थिए। कालो वर्ण, होचो कद र कति विद्यार्थीभन्दा सानो उमेरका जोनलाई अनुहार हेरी थोरैले मात्र पत्याउँथे। कति नयाँ विद्यार्थी उनलाई पाले सम्झेर ‘प्रिन्सिपल जोन सर कहाँ हुनुहुन्छ ? ’ भनी सोध्थे। उनी मुसुमुसु हाँस्दै प्रिन्सिपलको कोठा देखाइदिन्थे र एकछिनपछि प्रिन्सिपलको कुर्सीमा बसी भन्थे, ‘भन भाइ, के काम छ ? ’ विद्यार्थीहरू लज्जित हुन्थे।

उनीबारे कलेजमा अनेक कथा प्रचलित थिए र छन्। एकपल्ट केही विद्यार्थी शौचालयको पछाडि बसी चुरोट तानिरहेका थिए। जोनले टाढैबाट देखे र नदेखेझैं गरे। केही समयपछि उनी बाल्टिभरि पानी लिई शौचालय पछाडि गए अनि विद्यार्थीलाई हेर्दै भने, ‘ए, म त आगलागी भयो कि भनेर पानी लिई आएको, होइन रहेछ।’ विद्यार्थीहरू लज्जित भए।

गालीगलौजका माकुरेजाल

जोनले आफ्नो उत्सर्गपूर्ण जीवनमा सहयोगी हातहरू मात्र पाएनन्, प्रत्यक्ष र परोक्ष रूपमा अनेक लात पनि सहे। दुर्गम पोखराको पहिलो कलेज निर्माण र सञ्चालनका क्रममा उनले के मात्र सहेनन् होला ?       उनले तत्कालीन पञ्चायत व्यवस्थाका अनुदारवादी शासकहरूको हप्कीखप्की कति खाए, विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिका अनेक झमेला र हिंस्रक भिडन्तहरू सहे, प्राध्यापकहरूका अनेक असन्तुष्टि सहे। कतिले उनलाई प्रिन्सिपल पदबाट हटाउने अभियान पनि चलाए। उनी कुटाइमा पनि परे।

वि.सं. २०२६ सालको एउटा घटना सम्झन्छु। त्यसबेला म गण्डकी बोर्डिङ स्कुल लामाचौरमा कक्षा ८ मा पढ्थेँ। छुट्टीमा घर आउँदा कलेजमा ठूलो झगडा मच्चिएको हल्ला सुनेँ। म रमिता हेर्न कलेजतिर दगुरेँ। कलेज गेटबाहिर पुलिसहरू र रमितेहरू थुप्रै थिए। रमितेहरूको भीडमा बाटो बनाउँदै म कलेजभित्र छिरेँ। कलेजका विद्यार्थीहरू जाँचका कापी च्यात्दै नाराबाजी गर्दै रहेछन्। नाराबाजीको बीचमा मैले प्रिन्सिपल जोनलाई गम्भीर तर निडर भई उभिइरहेको देखेँ। कसैकसैले ‘तँ काले !’ भनी मुख छोड्दा उनी मुसुक्क मुस्कुराइदिन्थे।

कुटाइ खाने ९९ प्रतिशत सम्भावना भए पनि उनी आक्रोशित विद्यार्थीको भीडलाई छोडेर कतै भागेका थिएनन्। मेरो बाल मस्तिष्कले त्यसबेला बुझ्न सकेन तर पछि बुझेँ– प्रिन्सिपल जोन तलब पकाउन प्रिन्सिपल भएका सामान्य प्रिन्सिपल थिएनन्, उनी प्रिन्सिपलभन्दा बढी थिए, महान् थिए। उनी सत्य र उत्सर्गको बलले निडर थिए।

त्यसदिन बिहानभर कलेजमा तनाब भयो। मज्जाले रमिता हेरेपछि म कलेज गेटबाहिर निस्किएँ। अचानक के भयो– मान्छेहरू भागाभाग गर्न थाले, त्यहीबेला ढड्याम्म गोली चलेको आवाज आयो। म घरतिर भागेँ। घरभित्र पसेपछि बल्ल सास फेरेँ। सम्झेँ प्रिन्सिपल जोनको अवस्था के भयो होला ?

प्रमिथियन जीवन–उत्सर्ग

केरलाको सामुद्रिक हावापानीमा जन्मिएका जोन। नागपुरमा स्नातकको पढाइ सकेर काठमाडौं घुम्न आएका जोन। काठमाडौंमा अनेक अवसर प्राप्त गरी रमाइरहेका जोन। यी सबै अवसर त्याग गरी अभाव र चुनौतीको जीवन वर्णन गर्न पोखरालाई कर्मभूमि बनाउनु अनि उच्च शिक्षाको जग हाल्ने, विकास गर्ने काममा सम्पूर्ण जीवन समर्पित गर्नु– विश्वको कुनै पनि महान् प्रेरणा कथाभन्दा कम्ती लाग्दैन। उनले जग हालेको कलेजमा उनीपछि उनका कति चेलाहरू प्रिन्सिपल बने।

उनका कति चेलाहरू देशका ठूलाठूला नेता बने, साहित्यकार बने, डाक्टर बने, इन्जिनियर बने, व्यवसायी बने, समाजसेवी र शिक्षक बने– हिसाब छैन। उनी २०१७ सालदेखि अनवरत रूपले २०३० सालसम्म र पछि २०३२ सालदेखि २०४२ सालसम्म २३ वर्ष आफूले जग हालेको कलेजमा प्रिन्सिपल बने। आइपरेका हरेक काम गर्ने उनको कार्यशैली भोगेका लामो समयका सहयोगी मानबहादुर पाले त्यसैले भन्थे, ‘जोन सर फस्र्ट प्रिन्सिपल, म सेकेन्ड प्रिन्सिपल।’

जोनले आफ्नो जवानी र जीवनको मुख्य समय पोखराको पहिलो कलेजलाई समर्पण गरे। तर, उनले केही समय बागलुङ, कीर्तिपुर क्याम्पसहरूलाई पनि दिए। २०५२ सालमा त्रिवि सेवाबाट अवकाश ग्रहण गरेपछि उनले पोखरामा पछि खुलेका क्याम्पसहरूमा सेवा दिए। समग्रमा उनी यो देशमा उच्च शिक्षाको ज्योति नबलेको ठाउँमा ज्योति बाल्न र त्यसलाई आँधीहुरीबाट जोगाएर अमरज्योति (ईटर्नल–फ्लेम) पार्न जन्मिएका थिए। मलाई लाग्छ, करुणमूर्ति प्रमिथसले स्वर्गबाट आगो चोरी ल्याएर पृथ्वीमा अँध्यारोमा रुमल्लिएका मानिसका लागि बालेझैं उनले अजम्मरी पीडाहरू सहँदै उच्च शिक्षाको ज्योति बालेका थिए।

यदि जोन पोखरा नआइदिएका भए वा पोखरा आएर पनि हतास भई भागेका भए सम्पूर्ण पश्चिमाञ्चल क्षेत्रमा उच्च शिक्षा धेरै वर्षपछि धकेलिन्थ्यो। अहिले ८६ वर्षको उमेरमा जोन आफ्नी सहधर्मिणी एलियाम्मासित स्थायी रूपले पोखरावासी, नेपाली नागरिक भएर अवकाशको जीवन बिताइरहेका छन्। तर, सयौं, हजारौं गुरुका गुरु जोनलाई अवकाशमा पनि फुर्सद छैन। सायद कर्मयोगीहरूलाई मृत्युले मात्र फुर्सद दिन्छ।

उच्च शिक्षाका प्रमिथस गुरु जर्ज जोनलाई मेरो प्रणाम !        


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.