छोटा कविता
१. चौथो अंग
पश्चिम
एउटा हातमा अध्यात्म
बोकी अर्कोमा पोर्नोग्राफी
बल्छी थापेर बजार
भेडाबाख्रा, धपाइरहन्छौं हामी
हाम्रो भोको सपनाको चिहान
चौथो अंगको निबमुनि
काला अक्षरहरूले पुरिएको
ती अक्षरहरू
जो गाइरहन्छन्, उसकै गीता !
२. दुःखको कविता
शब्दहरूलाई
यथास्थानमा ससम्मान राखेर
दुःखको पिरामिड उभ्याउन चाहेँ
पत्थरको छाती पगाल्ने
महलका सुन–तामा गाल्ने
धुलाम्मे बाटोछेउ
आगो जोरेर प्रचण्ड गर्मीमा
मकै पोल्ने
लेख्न चाहेँ
सेतै फुलेकी आमैको कविता
मेरो कवितामा दुःखले आउन अस्वीकार गर्याो।
३. रु. दसको पोलिमर नोट
हामीहरू माक्र्स हौं
वा हौं माओ
बुद्ध हौं वा हौं ताओ
दर्शनलाई
रु. दसको पोलिमर नोट हुनबाट जोगाऔं !!
४. साथीलाई
तिमीलाई देख्दा
हाम्रो समयका धेरै बिर्सनलायक तस्बिर याद आउँछनर, तिमीलाई देख्नु
झन् झन् अनिवार्य लाग्छ मलाई !
५. मीनपचासपछि
शीत पुछेर परी रानी
सुक्खा पारिदिन्छिन् फूलको मुहार
काइँयो बाँचेको सिउँडी
हटाइदिन्छ निधारको मिर्मिरे केश
बिहान घामको फित्ता
गलाको नाप लिन्छ
कति कस्दा घाँटी
फुत्किँदैन वस्तु थलोबाट
राम्ररी सिकाएको छ पश्चिमले
सुदूर पग्लँदै गरेका हिउँका ढिक्का
अग्लँदै गरेका निषेध
विषयसूचीमा समाविष्ट छन्
छोरोको मीनपचासपछिको पहिलो दिन सुरु हुन्छ।