उन्मुक्तिको तन्नेरी भोक

उन्मुक्तिको तन्नेरी भोक

छोराछोरी जब किशोरावस्थामा पुग्छन्, अभिभावकको अनुहारमा खुशी छाउन थाल्छ। घरपरिवारको अभिभारा बोक्ने पुस्ता तयार भएकामा अभिभावक दंग पर्छन्। तर, तिनै किशोरकिशोरीलाई घरबाट भाग्न मन लाग्ने गरेको ‘अन्नपूर्ण सम्पूर्ण’ ले गरेकाे रिपोर्टिङका क्रममा फेला पारेको छ। त्यति मात्रै होइन, किशोरकिशोरीलाई घरपरिवार बन्धन लाग्छ। नियम र अनुशासनले उनीहरूको पँखेटा बाँधेजस्तै महसुस गर्छन्। मनमनै ‘आइडल’ छान्छन्, अनि अभिभावकले कहिल्यै थाहा नपाउने गरी गोप्य कुराहरू लुकाउँछन्। मनोविद्हरू भन्छन्, ‘यो विद्रोही उमेर हो।’ 


‘घरबाट भाग्न मन लाग्छ’ 

कैलालीका सरोज विष्ट (नाम परिवर्तन) ले १५ वर्षको उमेरमै घर छाडे। सरोज होस्टेलमा बसेर कक्षा ८ मा पढ्दै थिए। उनी छ महिनादेखि घर गएका छैनन्। उनी अहिले रामेछापमा ज्यामी काम गरिरहेका छन्। ठेकेदार उनका बुबाले पटक–पटक लिन आउँदासमेत उनी जान मानेनन्। भन्छन्, ‘मलाई यतै रमाइलो छ। मेरो पनि एउटा सपना छ। सपना पूरा भएको दिन घर फर्किन्छु।’ 

११ कक्षा पढ्दै गरेका काठमाडौँ, डाँछीका १८ वर्षीय भ्यालेन्टाइन पोखरेल भन्छन्, ‘ड्याडले गिद्दी हानेपछि (किचकिच गरेपछि) तीन चोटि घरबाट भागेँ। लगेको पैसा सकियो। अरूका आमाबुबा देख्दा घरको याद आयो, अनि फर्केर आएँ।’ 

काठमाडौँ, साँखुका १७ वर्षीय प्रदीप थापा (नाम परिवर्तन)लाई अभिभावकले गाली गरिरहँदा घरबाट टाढा भाग्न मन लाग्छ। भन्छन्, ‘सधैँ किचकिच गरिरहँदा कतै गएर तपस्या गर्न मन लाग्छ। कति चोटि हिँडे पनि। आधा बाटो पुगेर फर्किएँ।’ कहिलेकाहीँ आत्महत्या गर्न मन लाग्ने उनी बताउँछन्। भन्छन्, ‘एक्लै बसेर सोचिरहँदा कहिलेकाहीँ त मर्न मन लाग्छ। धेरै पटक चक्कुले हात काट्ने कोसिस पनि गरेँ। तर, फेरि मर्न डर लाग्यो।’ 

भक्तपुर, ठिमीका सिजन पराजुली (१७) लाई स्कुल र घरको अनुशासनमा बस्दाबस्दा वाक्क लाग्छ। भन्छन्, ‘घरमा बाबुआमाको अन्डर, स्कुलमा शिक्षकको अन्डर, कति अन्डरैअन्डरमा बस्नु। कहिलेकाहीँ त सबै छोडेर हिँड्दिमजस्तो लाग्छ।’ भक्तपुरकै १६ वर्षीय आर्यन सिलवाल भन्छन्, ‘आफ्नो गल्ती नहुँदा पनि गाली गर्दा घरै छाडेर हिँड्न मन लाग्छ। दुईचार पटक त हिँडेको पनि छु।’ 

किशोर मात्रै होइन, किशोरीलाई पनि घरबाट भाग्न मन लाग्छ। काठमाडौँ, बत्तीसपुतलीकी १८ वर्षीया अपेक्षा बराललाई आफ्नो कुरा नबुझी गाली मात्रै गरिरह्यो भने घर छोड्न मन लाग्छ। भन्छिन्, ‘अस्ति एक पल्ट लुगा नै प्याक गरिसकेकी थिएँ।’ तर, मोरङ, पथरीकी १७ वर्षीया अस्मी थापालाई भने आमाबाउले गाली गर्दा एकछिन रिस उठे पनि घर नै छाडेर हिँड्न मन लाग्दैन। किशोरहरू घरबाट भाग्ने गरेको भेटियो भने किशोरीहरू चाहिँ घरभित्रै रुँदै बस्ने गरेको पाइयो। काठमाडौँ, जोरपाटीकी १७ वर्षीया रुबिना थापा भन्छिन्, ‘घरमा गाली गर्दा ढोका थुनेर एक्लै रुन्छु।’

रिपोर्टिङका क्रममा काठमाडौँ उपत्यका र धरानमा भेटिएका ४७ जनामध्ये ३१ जनाले गाली गरेको बेला घर छाड्न मन लागेको बताए। कतिपयले छाडेका पनि छन्। ३१ मध्ये नौ जना किशोरी थिए। किशोरीमध्ये तीन जनाले घरबाट भाग्ने योजना बनाएको सुनाए। बाँकीले भाग्ने हिम्मत नभएको बताए। 

२०६८ सालको जनगणनाअनुसार १५ देखि १९ वर्ष उमेर समूहका मानिस नेपालमा २९ लाख ३१ हजार छन्। यो उमेर समूहलाई ‘ट्रान्जिसनल पिरियड’ भन्छन्, मनोविद् डा. सरोज ओझा। उनका अनुसार यस उमेर समूहका मानिस बाल्यकालबाट माथि उठेको तर वयस्क भइनसकेका हुन्छन्। भन्छन्, ‘बाल मनोविज्ञानबाट एडल्ट मनोविज्ञानमा नपुग्दैको ‘ट्रान्जिसनल पिरियड’ हो यो।’ यस्तो बेलामा परिवार सचेत हुनुपर्ने उनको मत छ। भन्छन्, ‘व्यक्तित्व विकासको निकै महत्त्वपूर्ण समय हो यो। यो बेला अभिभावक एकदमै सचेत हुनुपर्छ। यो बेला जस्तो मनोविज्ञान बन्छ, त्यस्तै व्यक्ति बन्छ।’ 

किशोरावस्थालाई शरीरमा हर्मोनको विकास हुने अवस्था मानिन्छ। यही उमेरमा शारीरिक फेरबदल हुनुका साथै प्रजनन, बौद्धिक र मानसिक विकास पनि हुने गर्छ। यही उमेरमा हर्मोनको विकासको कारणले महिलामा महिनावारी सुरु हुने र पुरुषमा दाह्रीजुँगा आउने डा. ओझा बताउँछन्। भन्छन्, ‘हर्मोनल चेन्जका कारण किशोरावस्थामा उत्सुकता बढी हुन्छ।’ परिपक्व उमेर नभएकाले लहैलहैमा घर छाड्ने र कुलतमा फस्ने समय पनि यही भएको उनको भनाइ छ। 

किशोरावस्थामा पुगेपछि सम्बन्धहरू बढ्छन्। बाल्यकालको घरभित्रको वातावरणबाट किशोरकिशोरी बाहिर निस्कन्छन्। साथीहरू बढ्न थाल्छन्। त्यस्तो बेला उनीहरूले परिवारबाट एक किसिमको स्वतन्त्रताको अपेक्षा राख्ने अर्का मनोविद् डा. रितेश थापा बताउँछन्। भन्छन्, ‘किशोरावस्थामा पुगेपछि स्वतन्त्रताको खोजी गर्दै घरमा भन्दा बढी स्कुलका साथीहरूसँग समय बिताउन चाहन्छन्। किनकि, स्कुलका साथी उनीहरूको उमेर समूहका हुन्छन्।’

किशोरावस्थामा चाहनाहरू बढ्ने र त्यस्तो बेला कतिपय आमाबाउले उनीहरूको मनोविज्ञानलाई वास्ता नगरी बलजफती होस्टेलमा राखिदिँदा समस्या निम्तिने मनोविद् डा. ओझा बताउँछन्। तर, किशोरावस्थामा जिज्ञासु र विद्रोही स्वभाव हुने भएकाले आफ्नो चाहना पूरा नहुँदा घर छाडेर भाग्ने गरेको उनी बताउँछन्। यो उमेर समूहका मानिसमा सही र गलत चिन्न सक्ने क्षमताको विकास नहुने मनोविद् डा. थापा बताउँछन्। डा. थापा भन्छन्, ‘यो उमेरलाई विद्रोही उमेर पनि भनिन्छ। त्यसमाथि, सबै मैले जानेको छु भन्ने घमण्ड हुन्छ।’ 

घर र स्कुलमा स्वतन्त्रता हरण 

तस्बिर : सञ्जय रौनियार/ माेडलहरु : आरध्या, काजल, सुचिरा, रोशन र अंकित

समाज निश्चित नियमहरूले बाँधिएको हुन्छ। समाजमा सामाजिक मूल्य र मान्यता हुन्छन्। किशोरावस्थामा प्रवेश गरेपछि उनीहरूले सबैभन्दा पहिला घरको नियम पालना गर्नुपर्ने हुन्छ, त्यसपछि स्कुलको। तर, आजका किशोरकिशोरी यस्ता निमयसँग एकदमै रुष्ट देखिन्छन्। उनीहरू पारिवारिक नियमलाई बन्धन मान्छन्। उनीहरू एकदमै बढी स्वतन्त्रताको माग गर्छन्। घर र स्कुललाई स्वतन्त्रता हरण गर्ने थलोका रूपमा अथ्र्याउँछन्। रिपोर्टिङका क्रममा भेटिएका अधिकांश किशोरकिशोरीले परिवारलाई बन्धनका रूपमा लिए। 

काठमाडौँ, नारायणटारकी १६ वर्षीया सुबास्ना श्रेष्ठ भन्छिन्, ‘स्कुलमा गयो सर–म्यामको कचकच, घरमा आयो ममी–ड्याडीको कचकच। जताततै कचकचै  कचकच। मलाई यस्ता अनुशासनमा पटक्कै बस्न मन लाग्दैन।’ काठमाडौँ, चाबहिलकी १८ वर्षीया काजल बन्जारालाई पनि अनुशासनदेखि दिक्क लाग्छ। अनुशासन मात्रै होइन, स्वतन्त्रता पनि दिनुपर्नेे उनको धारणा छ। 
काठमाडौँ, नारायणटारका विशाल श्रेष्ठलाई स्कुलको नियमदेखि दिक्क लाग्छ। नियम कडा भएकै कारण उनलाई पढ्नै मन लाग्दैन। कपालसमेत पाल्न नदिएको उनी बताउँछन्। भन्छन्, ‘स्कुलमा फ्रिडम नै छैन।’ 

काठमाडौँ, खुलालटारका १८ वर्षीय सलिन थापा घरमा गाली खाइरहँदा पारिवारिक बन्धन मसहुस गर्छन्। भन्छन्, ‘मलाई मेरो खुशीले केही गर्न दिए पनि हुन्थ्योजस्तो लाग्छ।’ काठमाडौँ, थलीका १५ वर्षीय शैलेश सिम्खडालाई स्कुलको अनुशासनदेखि दिक्क लाग्छ। भन्छन्, ‘आफ्नो मनखुशी केही गर्न पाए हुन्थ्यो भन्ने लाग्छ।’ 

त्यसै गरी, धरानका १८ वर्षीय मनीष काफ्लेलाई पनि स्कुलको अनुशासन मन पर्दैन। उनको तर्क छ, ‘हरेक कुरामा अनुशासन जरुरी छजस्तो लाग्दैन।’ धरानकै १८ वर्षीय आकाश श्रेष्ठलाई पनि अनुशासन बोझिलो लाग्छ। भन्छन्, ‘अनुशासनमा फ्रिडम हुँदैन।’ भक्तपुर, ठिमीका सिजन पराजुली (१७) पारिवारिक बन्धन महसुस गर्छन्। भन्छन्, ‘जहाँ गयो, त्यहाँ अनुशासन नै अनुशासन। बिहान ६ बजेबाट स्कुलको अनुशासन, बेलुकी घर फर्कियो घरको अनुशासन। एकदमै दिक्क लाग्छ।’ तर, धरानकी १७ वर्षीया जानुका राईलाई भने अनुशासन बोझ लाग्दैन। अनुशासन आवश्यक देख्छिन् उनी। भन्छिन्, ‘अनुशासन एकदम महत्त्वपूर्ण छ। योबिना मान्छे बिग्रन्छ।’

मनोविद् डा. थापा किशोरावस्थामा नियम लाद्न नहुने विचार राख्छन्। किशोरावस्थामा नियमहरू आवश्यक पर्ने तर नियमको भारी बोकाइदिँदा उनीहरूको व्यक्तित्व विकास नहुने उनको धारणा छ। भन्छन्, ‘धेरै नियमको भारी बोकाइदिनु र छाडा छाडिदिनु दुवै गलत हो। सामाजिक मूल्य बुझाउनुपर्छ। खुलेआम हिँड्न दिनु हुँदैन।’ उनी किशोरावस्थामा प्रवेश गरेपछि स्वतन्त्रता खोज्ने प्रक्रिया स्वाभाविक भएको बताउँछन्। ‘स्वतन्त्रताको खोजी गर्दै उनीहरू घरमा भन्दा स्कुलका साथीहरूसँग बढी समय बिताउन खोज्छन्,’ थापा भन्छन्, 
‘विपरीत लिंगीप्रति आर्कषण पनि त्यही बेला बढी हुन्छ। यही उमेरमा कुलतमा फस्ने सम्भावना बढी हुन्छ।’ 

आइडलको नक्कल

भनिन्छ, किशोरावस्था आइडल छान्ने र उसैको नक्कल गर्ने उमेर हो। यही उमेरमा मानिसहरूले देख्छन्, रंगीचंगी सपना। नेतादेखि अभिनेतासम्म, वैज्ञानिकदेखि पाइटलसम्मलाई आफ्नो ‘फेभरेट पर्सन’ छानेर उसैको अनुकरण गरिन्छ। उसकै जस्तो हाउभाउ उतार्ने प्रयत्न गरिन्छ। कस्ता आइडल अर्थात् आदर्श छान्छन् त आजका किशोरकिशोरी ? 

काठमाडौँ, ग्रिनल्यान्ड सिटीका १८ वर्षीय समिर सुनारलाई पाइलट विजय लामा एकदमै मन पर्छ। भन्छन्, ‘उहाँको इन्टरभ्यू हेरेपछि प्रभावित भएँ।’ काठमाडौँ, धापासीका १७ वर्षीय प्रसिद्ध कार्कीको आइडल बिल गेट्स र विनोद चौधरी हुन्। उनीहरूजस्तै धनी बन्ने सपना देख्छन् उनी। भन्छन्, ‘दुवैलाई उछिन्ने मेरो सपना छ।’ काठमाडौँ, टोखाका १५ वर्षीय अंकित डंगोल क्रिस्टियानो रोनाल्डोका फ्यान हुन्। भविष्यमा रोनाल्डोजस्तै फुटबल खेलाडी बन्न चाहन्छन्। तर, दुःख मान्दै भन्छन्, ‘घरमा मन लागे जति खेल्न दिनुहुन्न। खै, कसरी बन्ने हो खेलाडी ?’ 

काठमाडौँ, आलापोटका १८ वर्षीय सञ्जीव फुयाल नेपाली क्रिकेटर पारस खड्कालाई आफ्नो आइडल मान्छन्। काठमाडौँ, थली बस्ने १६ वर्षीया निकिता नेपाललाई कोरियन फिल्मका अभिनेत्रीहरू मन पर्छन्। डिल्लीबजारकी १७ वर्षीय सुचिरा केसीको आइडल मेकअप आर्टिस्ट लिमी तामाङ हो। भन्छिन्, ‘मलाई पनि उहाँजस्तै मेकअप आर्टिस्ट बन्न मन छ।’ स्वयम्भूका १७ वर्षीय रोशन जिम्बा तामाङ र धरानका डम्बर तामाङलाई फुटबलर लियोनल मेसी मन पर्छ। रोशन भन्छन्, ‘मेरो आइडल लियोनल मेसी हुन्। म उनले खेलेको भिडियो हेर्दै फुटबल अभ्यास गर्छु। फेसन पनि उनको जस्तै गर्छु।’ डम्बर सुनाउँछन्, ‘मेस्सीको इमानदारी र हार्ड वर्क एकदमै मन पर्छ।’ उता, धनुकुटा, हिलेकी १७ वर्षीया अनिला क्षेत्रीलाई मदर टेरेसा मन पर्छ। टेरेसाको समाजप्रतिको  दायित्वबाट उनी प्रभावित छिन्। भन्छिन्, ‘म उहाँलाई फलो गरिरहेकी छु।’ भक्तपुरका १६ वर्षीया आर्यन सिलवालले अमरसिंह थापालाई आइडल मानेका छन्।

रिपोर्टिङका क्रममा भेटिएका ४७ जना किशोरकिशोरीमध्ये १२ जनाले आफ्नी आमालाई आइडल रोजे। १५ जनाले कला क्षेत्रका व्यक्तिलाई आइडल छाने। ११ जनाले खेलाडीलाई आइडल माने। मनोविद् डा. थापा भन्छन्, ‘यही उमेरमा अरूलाई आइडल मानिन्छ र उसैको नक्कल पनि गरिन्छ।’ 

मनोचिकित्सक प्रा.डा. रवि शाक्यका अनुसार किशोरकिशोरी आफूले आइडल ठानेको व्यक्तिसँग आफूलाई दाँज्नछन् र उसैलाई पछ्याउन थाल्छन्। शाक्य भन्छन्, ‘आइडलको हुलियासँग मिल्ने गेटअप गर्न थाल्छन्। यस्तो अवस्थालाई ‘आइडेन्टिटी क्राइसिस’ भनिन्छ।’

गोपनीयताको चिन्ता 

बाल्यकालमा गोपनीयता भन्ने हुँदैन। जब उमेर बढ्दै जान्छ, निजत्वको सुरुवात हुन्छ। बाल्यकालमा अभिभावकको उच्च निगरानीमा हुर्किएका बालबालिका किशोरावस्थामा प्रवेश गरेपछि स्वतन्त्र हुन थाल्छन्। मनोविद् डा. थापा यो उमेरका किशोरकिशोरीले आफ्नो गोपनीयताको निकै ख्याल राख्ने गरेको बताउँछन्। ‘कतिपय गोप्य कुरा अभिभावकले थाहा नपाए हुन्थ्यो भन्ठान्छन्,’ उनी भन्छन्, ‘पुरानो पुस्ताले समस्या बुझेन भन्दै आफ्ना साथीसँग सेयर गर्छन्।’ 

झापा, दमककी १८ वर्षीया स्मृति मगर आफ्नो गोपनीयता अभिभावकले थाहा नपाऊन् भन्छिन्। आफ्नो सबै कुरा थाहा पाउँदा परिवारलाई नराम्रो लाग्न सक्ने उनको भनाइ छ। सुनसरी, बराहक्षेत्रकी १७ वर्षीया मेरिसा राईलाई पनि परिवारले थाहा नपाउने केही गोपनीयता आफूसँग हुने बताउँछिन्। भक्तपुर, नयाँ ठिमीकी १६ वर्षीया अस्मिता खत्रीलाई पनि आफ्ना गोप्य कुरा घरमा कसैले थाहा नहोस् भन्ने लाग्छ। थाहा पाए स्वतन्त्रता खोसिने डर छ उनलाई। भक्तपुर, लोकन्थलीकी महिमा पाठक (१६) भन्छिन्, ‘आफ्नो गोप्य कुरा बाबाआमालाई थाहा दिने कुरै भएन नि।’ काठमाडौँ, घट्टेकुलोकी सिमन लुङ्गेली मगर (१७) पनि आफ्ना गोप्य कुरा अभिभावकबाट लुकाउँछिन्। भन्छिन्, ‘थाहा पाएपछि यो गर्, त्यो नगर् भन्नुहुन्छ।’

काठमाडौँ, धापासीकी १५ वर्षीया पल्पसा प्रधान ७० प्रतिशत गोपनीयता आमासँग सेयर गर्ने गरेको बताउँछिन्। बाँकी २० प्रतिशत साथीलाई सेयर गर्ने र १० प्रतिशत आफैसँग राख्ने गरेको उनी सुनाउँछिन्। भन्छिन्, ‘कतिपय कुरा आमालाई भन्न आवश्यक हुँदैन नि।’ सल्यानका १५ वर्षीय विवेक बुढामगर गोप्य कुरा पहिला दाइलाई भन्छन्। त्यसपछि साथीलाई सुनाउँछन्। तर, आमाबुवालाई भन्दैनन्। 

उमेर बढ्दै गएपछि कतिपय नितान्त व्यक्तिगत गोपनीयता पनि हुन सक्छ। तर, समस्या पर्दासमेत अभिभावकसँग गोपनीयता नखोल्ने गरेको मनोविद् डा. थापा बताउँछन्। ‘समस्या गोप्य राख्दाराख्दै डिप्रेसनमा पुगेर मृत्युसमेत हुने गरेको छ,’ उनी भन्छन्, ‘संसारमा १४ देखि २९ वर्षसम्मको मानिसको मृत्युको दोस्रो कारण नै आत्महत्या मानिन्छ।’ डा. थापा आफ्नो अनुभव सुनाउँछन्, ‘छोरी प्रेममा परी गर्भपतन गराएर डिप्रेसनको रोगी भइसकेको समेत आमाबाउलाई थाहा हुँदैन।’

प्रेममा स्वतन्त्र पुस्ता 

नयाँ पुस्तालाई प्रेममा स्वतन्त्र पुस्ता पनि मानिन्छ। नेपाली समाजमा कुनै समय मागी विवाह चल्थ्यो। त्यस्तै, बालविवाह÷बहुविवाहलगायत अनमेल विवाहका रूप पनि समाजमा देखिन्थे। तर, पछिल्लो पुस्ता प्रेमप्रति उदार छ। रिपोर्टिङका क्रममा भेटिएका अधिकांशले प्रेम विवाह गर्ने बताए। प्रेम प्राप्तिका लागि जस्तै बाधा पनि तोड्नेसमेत उनीहरूले सुनाए। 

भक्तपुरका अमित पौडेल (१७) आफ्नो प्रेम प्राप्तिका लागि घरबाटै भगाउनसमेत पछि नपर्ने बताउँछन्। भन्छन्, ‘म त गर्लफ्रेन्डलाई भगाइदिन्छु।’ प्रेम सम्बन्धमा समस्या आयो भने परिवारलाई सम्झाउने बताउँछन्, धरानका १९ वर्षीय गौरव लिम्बू।  प्रेमबारे धरानकी १७ वर्षीय समीक्षा लिम्बूको भने फरक भनाइ छ। उनी भन्छिन्, ‘म त परिवारले जे भन्छ, त्यही गर्छु।’  तर, सोलुखुम्बुकी  १७ वर्षीया गायत्रा राईको मत समीक्षाको भन्दा विपरीत छ। भन्छिन्, ‘आफ्नो प्रेम बचाउन जे गर्न पनि तयार हुन्छु।’ रामेछापकी १७ वर्षीया रविना भण्डारी पनि प्रेम सम्बन्ध सफल बनाउन सक्दो प्रयास गर्ने बताउँछिन्। काठमाडौँ, ताहाचलका अंकित मानन्धर (१८), कालोपुलकी आराध्या गिरी (१८) र सुन्दरीजलका शैलेश सिम्खडा (१५) परिवारलाई सोधेर प्रेम सम्बन्ध अगाडि बढाउने राय राख्छन्। 

संवेदनशील उमेर 

किशोरावस्थालाई संवेदनशील उमेर मानिन्छ। अन्र्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार किशोरकिशोरीलाई युद्धमा सुराकी, भरिया र भान्सेका रूपमा द्वन्द्वरत मुलुकहरूमा प्रयोग गरिन्छ। गृहयुद्धमा फसेका मुलुकका किशोरकिशोरी नै सबैभन्दा बढी पीडित भएको पाइन्छ। 
नेपालको सन्दर्भमा स्वास्थ्य मन्त्रालयको सन् २०१६ को एक रिपोर्टका अनुसार नेपालको १५ प्रतिशत किशोरी १५ देखि १९ वर्ष नपुग्दै आमा बनिसकेका हुन्छिन्। ग्रामीण क्षेत्रमा २२ प्रतिशत र शहरी क्षेत्रमा १४ प्रतिशत किशोरी गर्भवती हुन्छन्। 
मनोविद् डा. थापा किशोरावस्था एकदमै महत्त्वपूर्ण र संवेदनशील भएको बताउँछन्। किशोरावस्था अपरिपक्व उमेर भएकाले बढी पीडित हुने सम्भावना रहेको बताउँछन्, डा. ओझा। ‘आतंककारी समूहले पनि किशोरकिशोरीलाई प्रयोग गरेको देखिन्छ,’ उनी भन्छन्, ‘उनीहरूलाई जस्तो तालिम दियो, उनीहरू त्यस्तै बन्छन्।’ किशोरकिशोरीलाई सही मार्गमा ल्याउन परिवार मात्रै होइन, समाज र राष्ट्र पनि गम्भीर हुनुपर्ने उनको मत छ। भन्छन्, ‘यही उमेरदेखि नैतिक शिक्षा दिनुपर्छ।’ 

किशोरावस्थालाई विद्रोही उमेर पनि मान्छन्, डा. रितेश थापा। यही समयमा ‘ब्रेनवास’ गरी उनीहरूलाई द्वन्द्वमा प्रयोग गर्न सकिने उनी बताउँछन्। भन्छन्, ‘अन्तर्राष्ट्रिय सन्दर्भमा हेर्ने हो भने यही उमेर समूहका मानिसलाई ‘ब्रेनवास’ गरी प्रयोग भएको पाइन्छ। नेपालमै पनि द्वन्द्वको बेला किशोरकिशोरीलाई प्रयोग गरिएको घटना सुनिएका थिए।’ 

हर्मोनको विकासले यो उमेरमा जोश बढी हुने मनोविद्हरू बताउँछन्। ‘यस्तो उमेरमा होशभन्दा बढी जोश हुन्छ,’ डा. थापा भन्छन्, ‘सोच्ने र तर्क गर्ने क्षमताको विकास भइनसके मानिसलाई सपना देखाउन सजिलो हुन्छ।’

संकटमा परिवार 

बढ्दो शहरीकरण, बसाइँ सराइ र सम्बन्ध विच्छेदका कारण पारिवारिक संकट चुलिएको कतिपय विद्वान् बताउँछन्। संयुक्त परिवार भत्किएर एकल परिवारतर्फ समाज अघि बढ्दै छ, जसको असर किशोरकिशारीमा पर्ने मनोविद्हरूको भनाइ छ। मनोविद् डा. थापाका अनुसार सम्बन्ध विच्छेदको असर किशोरकिशोरीमा पर्छ। 

समाज शहरीकरणतर्फ अघि बढेको छ। यस्तो बेला श्रीमान्–श्रीमती दुवै जना रोजगारीमा जानुपर्ने अवस्था छ। संयुक्त परिवार भत्किएकाले घरमा बालबच्चा र किशोरकिशोरीलाई रेखदेख गर्ने मान्छे हुँदैन। सन्तानलाई समय दिन नसक्दा किशोरकिशोरीको समस्या चुलिएको डा. थापा बताउँछन्। 

पछिल्लो समय सूचना सञ्चारको विकासले नयाँ र पुरानो पुस्ताका बीचमा ठूलो अन्तर देखिएको विज्ञहरू बताउँछन्। एकदमै छिटो बदलिएको विश्वमा सानै उमेरबाट बालबालिका मोबाइल चलाउन सिपालु हुने गरेको र मोबाइल चलाउन नजान्ने अभिभावकलाई केही थाहा छैन भन्ने मनोविज्ञानको विकास हुने डा. थापाको भनाइ छ। उनी भन्छन्, ‘पुस्तान्तर भएपछि रुचि फरक हुन्छ। रुचि फरक भएपछि बेमेल निम्त्याउँछ। त्यही बेमेलले द्वन्द्व सिर्जना गर्छ।’

नेपालबाट लाखौँ मानिस वैदेशिक रोजगारीमा गएका छन्। नेपालमै हुनेले पनि व्यस्त जीवनमा परिवारलाई समय दिन सकिरहेका छैनन्। यस्तो अवस्थामा अभिभावक र किशोरकिशारीबीच पातलिँदै गएको सम्बन्ध नै सबैभन्दा ठूलो समस्या देख्छन्, मनोविद् डा. रितेश थापा। भन्छन्, ‘यो खाडल बढ्दो छ। यो बढिरह्यो भने समाजमा विकराल समस्या आउन सक्छ।’ 

 


‘नियम लाद्नु हुँदैन’


मनोविद् डा.रितेश थापा

किशोरावस्थामा पुगेपछि हर्मोनमा परिवर्तन आउँछ। हर्मोनको विकासले मानसिक र शारीरिक परिवर्तन ल्याउँछ। हर्मोनल चेन्जले शरीरमा परिवर्तनसँगै सोच्ने तरिकामा समेत परिवर्तन आउँछ। त्यस्तो बेला सही र गलत चिन्ने क्षमताको विकास भइसकेको हुँदैन। यो उमेरलाई विद्रोही उमेर पनि भनिन्छ। किनकि, यस्तो उमेरमा उनीहरू आमाबाबुले भनेको मान्दैनन् र ‘मैले नै जानेको छु’ भन्ठान्छन्। 

१४ देखि १९ वर्षको उमेर समूहका मानिस परिवारभन्दा साथीहरूसँग धेरै समय बिताउन चाहन्छन्। बाल्यावस्थामा व्यक्तिले परिवारको हेरचाह पाएको हुन्छ। किशोरावस्थामा प्रवेश गरेपछि उसले स्वतन्त्रता खोज्छ। यो स्वाभाविक पनि हो। स्वतन्त्रताको खोजी गर्दै उनीहरू घरमा भन्दा स्कुल र कलेजमा बढी समय बिताउन खोज्छन्। आफ्नो उमेर समूहका साथीसँग समय बिताउन रुचाउँछन्। विपरीत लिंगीप्रति आर्कषित हुन्छन्। यही उमेरमा लागुऔषध दुव्र्यसनमा फस्ने सम्भावना बढी हुन्छ। 

पछिल्लो समय सूचना–सञ्चारको विकासले पुस्तान्तरमा धेरै ठूलो असर पारेको छ। अहिलेको विश्व एकदमै छिटो परिवर्तन भइरहेको छ। पुस्तान्तरको समस्याले रुचिमा बेमेल निम्त्याउँछ। अभिभावक र सन्तानको रुचि नमिलेपछि द्वन्द्व सिर्जना हुन्छ। घर छाडेर भाग्ने कारण पनि यही हो। यो उमेरमा  हर्मोनको परिवर्तनले विद्रोही स्वभावको विकास हुन्छ। 

अन्तर्राष्ट्रिय सन्दर्भमा हेर्ने हो भने यही उमेर समूहका मानिसलाई ‘ब्रेनवास’ गरिएको पाइन्छ। नेपालमै पनि द्वन्द्वको बेला किशोरकिशोरीलाई प्रयोग गरिएको घटना सुनेका थियौँ। यस्तो उमेरमा जोश बढी हुने भएकाले उनीहरूलाई सपना देखाउन सजिलो हुन्छ। उनीहरूमा होशभन्दा बढी जोश हुन्छ। सोच्न र तर्क गर्न सक्दैनन्। कसैलाई आइडल बनाउने गर्छन्। यस्तो बेला उनीहरूलाई ‘म्यानिपुलेट’ गर्न सजिलो हुन्छ। 

सन्तानलाई धेरै निगरानीमा राख्दा पनि उनीहरूको विकास हुँदैन। ठूलो रूखको सेपमा सानो बिरुवा परेजस्तै हुन्छ। अभिभावकले उनीहरूको उमेरजन्य व्यवहारमा आएको परिवर्तन बुझ्नुपर्छ। उनीहरूमाथि धेरै नियम लाद्नु हुँदैन। किशोरकिशोरीले पनि अभिभावकसँग समस्या सेयर गर्नुपर्छ। अभिभावक भनेको अनुभवप्राप्त मान्छे हो। अभिभावकसँग ज्ञान कम होला, तर अनुभव धेरै हुन्छ। 

अभिभावक र सन्तानबीचको पातलिँदै गएको सम्बन्ध नै अहिलेको सबैभन्दा ठूलो समस्या हो। यो खाडल बढ्दो छ। यो बढिरह्यो भने समस्या झन् विकराल बन्न सक्छ। 
(कुराकानीमा आधारित)  



‘मेरो पनि एउटा सपना छ’

सरोज विष्ट (नाम परिवर्तन), कैलाली 

अहिले १५ वर्षको भएँ। बुबा ठेकेदार हुनुहुन्छ। आमा घरमै बस्नुहुन्छ। 

होस्टेलमा बसेर ८ कक्षामा पढ्दै थिएँ। काठमाडौँ एकदमै घुम्न मन लाग्यो। त्यसपछि होस्टेलभित्र र बाहिरका साथीहरू मिलेर काठमाडौँ आउने योजना बनायौँ। काठमाडौँ भाग्नेमा हामी १० जना भयौँ। त्यसपछि भदौ महिनामा हामी नाइट बस चढेर काठमाडौँ आयौँ। 

त्यस बेला हामीसँग ९६ हजार रुपैयाँ थियो। मसँग ओप्पो मोबाइल पनि थियो। हामीमध्ये मभन्दा साना दुई जना थिए। १९ वर्ष पुगेको एक जना दाइ पनि सँगै हुनुहुन्थ्यो। अरू मजस्तै १५–१६ वर्षका थिए। 

बिहान काठमाडौँ ओर्लिएर दिनभरि घुम्यौँ, अनि राति होटलमा बस्यौँ। धेरै दिनसम्म यसै गरी घुमिरह्यौँ। पैसा सकिँदै गयो। त्यसपछि हामी भक्तपुरतिर घुम्न गयौँ। होटलमा बस्दा पैसा धेरै खर्च हुने भएपछि कोठा खोजेर बस्यौँ। कोठामा ग्यास चुलो पनि जोड्यौँ। भाँडाकुँडा किन्यौँ। 

हामी सबै जनाले मोबाइल अफ गरेका थियौँ। तर, साना दुई जना भाइलाई केही दिनमै उनको आमाबुबाले लिएर गए। हामी कोठामा बसेर तास खेल्ने, कहिलेकाहीँ बियर खाने गर्न थाल्यौँ। पैसा सकिँदै गयो। त्यसपछि काम खोज्न थाल्यौँ। भन्नेबित्तिकै काम पाइएन। साथीहरू तितरबितर हुन थाले। कोही कता, कोही कता गए। मैले पनि त्यो कोठा छाडिदिएँ। त्यसपछि काठमाडौँ, पेप्सीकोलातिर गएँ। गोजीमा सुको थिएन। एकदमै भोक लागेको थियो। भोकै सडकमा पनि सुतेँ। अनि, १५ सयमा ओप्पो मोबाइल बेचेँ। 

त्यो पैसाले केही दिन खाएँ। पैसा सकियो। अनि एक जना तामाङ अंकलसँग भेट भयो। उहाँसँग रामेछापमा कुल्ली काम गर्न आएँ। उहाँले दिनको पाँच सय रुपैयाँ दिनु हुन्थ्यो। सुनकोशीको छेउमा ढुंगामा जाली लगाउने काम गरेँ। २० हजार रुपैयाँ कमाएँ। 

मलाई खोज्दै बुबा काठमाडौँ आउनुभयो। मेरो नयाँ नम्बर फेला पारेर बुबाले फोन गर्नुभयो। ‘पढ्न हिँड्’ भन्नुभयो। ‘अहिले काम गरिरहेको छु, दशैँमा आउँछु’ भनेँ। तर, म गइनँ। कहिलेकाहीँ पढ्नुपर्छ भन्ने पनि लाग्छ। तर, मलाई यतै रमाइलो भइरहेको छ। म यतै बस्नुको कारण छ। मेरो पनि एउटा सपना छ। 
(कुराकानीमा आधारित) 


अभिभावकले के गर्ने, के नगर्ने ? 

प्रा.डा. रवि शाक्य, मनोचिकित्सक 

  •  आमाबाबुले आफ्ना छोराछोरीलाई उनीहरूका साथीभाइका अगाडि बेइज्जत गर्नु हुँदैन। कुनै गल्ती गरेकै भए पनि साथीहरूका अगाडि गाली गर्ने वा यसले यस्तो गलत गरेको छ भनेर सुनाउनु हुँदैन।
  • कुराकानी गर्दा आमाबाबुले आफू अनुभवी र पाको भएको भान दिनुपर्छ। तर, उनीहरूलाई स्वतन्त्र रूपमा सोच्न सक्ने निर्णय लिनुपर्दा ‘म भएको भए यसो गर्थें, तिमी पनि बुझ्ने भइसकेका छौ, जे निर्णय गर्छौ गर’ भनेर आफैँ निर्णय लिन दिनुपर्छ।
  •  जाँड रक्सी सेवन तथा लागुऔषधका नराम्रा पक्षबारे जानकारी दिनुपर्छ।
  •  आफूलाई एकदमै उदार र आधुनिक देखाउन छोराछोरीसँगै बसेर रक्सी, चुरोट खाने गर्नु हुँदैन।
  •  छोराछोरीका अगाडि आमाबाबुले झगडा गर्नु हुँदैन।
  •  छोराछोरीलाई रुचि नै नभएको क्षेत्रमा जबर्जस्ती धकेल्नु हुँदैन। उनीहरूलाई रुचि लागेको क्षेत्र र विषयमा करिअर बनाउने   अवसर दिनुपर्छ।
  •  छोराछोरीको सरसंगतबारे चासो दिनुपर्छ। उनीहरूका नजिकका साथीहरूको गतिविधि नियाल्नुपर्छ। 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.