‘निश्चल मभन्दा हावा छ’

‘निश्चल मभन्दा हावा छ’

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘होस्टल रिटन्र्स’बाट नेपाली सिने क्षेत्रमा डेब्यू गरेकी हुन्। फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीत निकै हिट भयो। गीतमा स्वस्तिमाले नृत्य गरेकी छिन्। उनले हालसम्म ‘लभ लभ लभ’,‘जय भोले’, ‘छक्का पञ्जा–२’, ‘नाइँ नभन्नू ल–५’ लगायत फिल्ममा काम गरेकी छिन्। उनी अभिनीत फिल्म ‘बुलबुल’ प्रदर्शनको तयारीमा छ। स्वस्तिमासँग अन्नपूर्ण सम्पूर्ण का लागि सामीप्यराज तिमल्सेना  सृजना खड्काले खुलस्त संवाद गरेका छन्। 

प्रायः ग्ल्यामरस रोलमा देखिरहने स्वस्तिमालाई ‘बुलबुल’की रनकला बन्ने निर्णय लिन कत्तिको गाह्रो पर्‍यो ? उमेर पनि धेरै त्यसमाथि बच्चाकी आमा पनि !

सजिलो पक्कै थिएन। रनकला ३० वर्षकी ट्याम्पू चालक महिला हो। उसको ११ वर्षको बच्चा पनि छ। स्क्रिप्ट पढेपछि ‘के सोचेर मलाई यो क्यारेक्टरको लागि अफर गर्नुभएको होला’ भन्ने लाग्यो। स्क्रिनमा म ३० वर्षकी जस्तो देखिन्छु कि देखिन्न ? यो चरित्रमा दर्शकले पत्याउलान् कि नपत्याउलान् ? दोधारमा थिएँ। मेरो एकदमै नजिकका मान्छेले पनि ‘तिमीलाई यो रोल सुहाउँदैन नगर’ भनेका थिए। तर, मलाई दुस्साहस गर्न मन लाग्यो। एउटा कलाकारका हिसाबले यस्तो रोलमा काम गर्न पाउनु मेरा लागि ठूलो अवसर थियो। 

नजिकको मान्छे भनेको निश्चल (बस्नेत) हो ?

होइन। नजिकको मान्छे अरू पनि त हुन्छन् नि ! 

यो फिल्मलाई लिएर निश्चलको धारणा के थियो ?

उसले पनि यो क्यारेक्टरलाई लिएर ममाथि शंका गरेको थियो। यस्तो क्यारेक्टरमा पहिला काम नगरेकाले ‘गर्न सक्ने हो कि होइन’ भन्ने उसमा पनि शंका थियो। मैलेभन्दा पहिला उसैले स्क्रिप्ट पढेको थियो। पढिसकेपछि ‘तिमीलाई यो क्यारेक्टर सुहाँउदैन’ पनि भनेको थियो। तर, उसले नगर चाहिँ भनेन। 

ट्रेलर हेर्दै यो अलि फरकधारको फिल्म जस्तो छ। विश्वमा यस्ता थुप्रै फिल्म बनेका छन्। तपाईंले त्यस्तो कुनै फिल्म हेर्नुभएको थियो। 

एउटा दर्शकका रूपमा मलाई रियालिस्टिक र आर्टिस्टिक फिल्म हेर्न मन पर्छ। ‘ह्वाइट सन’ मलाई मन परेको फिल्म हो। हलिउडका आर्ट फिल्म हेर्दिनँ। कमर्सियल फिल्म मात्र हेर्छु। बलिउडमा राधिका आप्टेका फिल्म बढी हेर्छु। आर्टिस्टिक सर्ट मुभी पनि उत्तिकै हेर्छु। यस्ता फिल्मले मलाई अर्कै जोनमा पुर्‍याउँछन्। 

यो फिल्म गरिसकेपछि अभिनयको हिसाबले आफू कत्तिको परिवर्तन भएको पाउनुभयो ?

यो फिल्म गरिसकेपछि मैले आफूभित्रको कलाकारलाई भेट्टाएँ। यो फिल्मले मभित्र भएको कलाकारलाई बाहिर निकाल्ने काम गर्‍यो। मैले खुलेर काम गर्ने मौका पाएँ। एउटा कलाकारको रूपमा मैले खुलेर काम गर्न पाएको ‘होस्टल रिटन्र्स’ पछि यो दोस्रो फिल्म हो।

ट्रेलर आएपछि केही शब्द छाडा भयो भनिएको छ। ती शब्द तपाईं आफैँले बोल्नुभएको छ। जरुरी थियो बोल्न ?

सुरुको हाम्रो स्क्रिप्टमा ती कुरा थिएनन्। क्यारेक्टरलाई बुझ्दै जाँदा, उनीहरूसँग बोल्दै जाँदा निस्किए। त्यो हामीले होइन, क्यारेक्टरले बोलेका शब्द हुन्। त्यसलाई म आफैँले डाइलगमा थपेकी हुँ। तर, मैले यत्तिकै हावामा चाहिँ थपेको होइन। क्यारेक्टरलाई बुझेर त्यो शब्द राखेकी हुँ। ट्याम्पू चलाउने दिदीबहिनीहरूले आफ्ना साथीभाइसँग जे बोल्छन्, त्यही बोलेकी हुँ। यसको मतलब ट्याम्पू चलाउने सबै छाडा बोल्छन् भन्न खोजेको होइन। यो प्रोफेसनसँग होइन, पर्सनसँग जोडिएको कुरा हो। टे«लरमा बिप राख्नुपथ्र्यो कि के थियो त्यो चाहिँ मलाई थाहा भएन। 

ट्याम्पू चालक बन्न कसैको सहारा लिनुभयो कि भएन ?

लिएकी थिएँ। यो फिल्ममा मैले ‘गीता’ भन्ने क्यारेक्टरको रिफ्रेन्स लिएकी थिएँ। मलाई ट्याम्पू सिकाउने उर्मिला दिदीबाट धेरै कुरा सिकेँ। उहाँहरूले कस्तो लगाउनुहुन्छ बोल्नुहुन्छ, सबै विचार गरेँ। त्यसैले खासै गाह्रो भएन। दुई दिनमा ट्याम्पू चलाउन आयो। रोडमा लिएर हिँड्न एक महिनाजति लाग्यो। यो फिल्म गर्न नपाएको भए ट्याम्पू चलाउने मौका जुर्दैनथ्यो। अहिले त बाटोमा कतै ट्याम्पू देख्यो भने पनि आफ्नै हो जस्तो लाग्छ। 

आर्ट र कमर्सियल दुवै फिल्म गरिरहनुभएको छ ?  केमा बढी मजा आउँदो रहेछ ?  

दुवैको आफ्नै रमाइलो छ। दुवैका अडियन्स फरक छन्। हामी कलाकारले दर्शकले जस्तो मन पराउँछन् त्यहीअनुसार काम गर्ने हो। ‘बुलबुल’मा टे«लरपछि मलाई फरक खालका अडियन्सले एकदमै माया गर्नुभएको छ। त्यस्तै, कमर्सियल फिल्मका अडियन्स पनि छुट्टै हुन्छन्। कोही कलाकार ‘आर्टिस्टिक फिल्म मात्र गर्छु, फरक खालको क्यारेक्टरमा मात्र काम गर्छु’ भन्छन्। कोही ‘मलाई हिरोइन हुनु छैन एक्टे«स हुनु छ। डाँडाकाँडामा नाच्नु छैन’ भन्छन्। तर, म त्यो कुरा मान्दिनँ। आर्ट फिल्म गर्न जति गाह्रो छ त्योभन्दा गाह्रो डाँडाकाँडामा नाच्दा हुन्छ। घाममा डढ्नुपर्छ। न चिसो भएको बेला चिसो छ भन्न पाइन्छ। त्यसैले म त दुवै खाले फिल्मलाई उत्तिकै महत्त्व दिन्छु। 

प्रसंग बदलौँ, आजभोलि स्वस्तिमाले बोल्यो कि पोल्यो भने जस्तो छ। जे बोले पनि विवादमा पर्ने ? 

के बोलेँ र मैले त्यस्तो ? 

आँचलमाथि पत्रकारको व्यवहार ठीक भएन भन्नुभयो। युट्युबरलाई गाली गरेर स्ट्याटस लेख्नुभयो ? दुवै कुराको चर्चा छ। 

 हो, म एकदमै भोकल छु। तर, चित्त नबुझेका सबै कुरामा बोल्नु हुन्न भनेर धेरैले भन्न थालेपछि आजभोलि पहिलाको भन्दा कम बोल्छु। म आर्मीको पृष्ठभूमिमा हुर्किएकी हुँ। पढाइ पनि आर्मी स्कुलमा नै भयो। मैले सधैँ अन्यायका विरुद्ध बोल्नुुपर्छ भनेर सिकेँ। त्यसैले स्कुलमा केटीलाई दुव्र्यवहार गर्ने केटाहरूलाई कुट्न तम्सिन्थेँ। ज्यान पहिलादेखि नै सानै हो। त्यही पनि कसैले हेपेको सहन नसक्ने।

त्यसैले घरबाट निस्किने बेलामा ममीले सधैँ ‘कसैसँग झगडा नगर है नानी’ भनेर पठाउनुपथ्र्यो। अहिले पनि म उस्तै छु। कसैले कसैलाई हेपेको सहन सक्दिनँ। सुटिङ सेटमा पनि निर्देशकदेखि स्पटब्वाईसम्म सबैलाई समान व्यवहार गर्छु। स्पटब्वाईलाई हेप्ने र निर्देशकलाई मात्र सम्मान गर्ने काम मबाट हुँदैन। मलाई जथाभावी बोल्ने, हेप्ने र अनैतिक काम गर्ने मान्छे पटक्कै मन पर्दैन। निश्चल र ममा बहस हुने कुरा पनि यही हो। ऊ यस्तो कुरामा भोकल छैन। एकदमै ढिला प्रतिक्रिया दिन्छ। म भने एकदमै चाँडो प्रतिक्रिया जनाउँछु। केही कुरा गलत छ भने त्यसलाई गलत हो भन्न सक्नुपर्छ।

तर, फिल्म इन्डस्ट्री भनेको ज्यादा समय हिपोक्रिसीमा बाँचिरहेको हुन्छ नि त। कतिपय ठाउँमा मन नलागेको चिजमा पनि ठिक्क पार्नुपर्छ, हैन र ?

हो, मैले पनि भोगेको छु त्यस्तो कुरा। कहिलेकाहीँ मन नलाग्दा नलाग्दै पनि ठिक्क पार्नुपर्छ।

यस्तो कुराले कत्तिको गाह्रो बनाइरहेको छ ?

कलाकारहरू डिप्रेसनमा जाने भनेकै यही कारणले हो जस्तो लाग्छ। आफूलाई ठीक नलागेको कुरा ठीक छ भन्नुपर्छ। यहाँ आफूलाई सम्मान दिन मन नलागेकोलाई पनि जबर्जस्ती सम्मान दिनुपर्छ। मन नपर्दा नपर्दै पनि कसैसँग बोल्नुपर्छ। कसैले गलत गरिरहेको थाहा हुन्छ। तैपनि, बोल्दा भोलि आफ्नै बदनाम गर्देला भन्ने डर हुन्छ। यस्तो बेला कि चुप बस्नुपर्छ कि रिस उठ्दा उठ्दै पनि फिसिक्क हाँसिदिनुपर्छ।
 
भनेपछि स्वस्तिमा हिपोक्रिसी गर्न सक्दिनन् ?

हिपोक्रिसी मैले सबैभन्दा धेरै घृणा गर्ने कुरा हो। तर, कतिपय ठाउँमा म परिवर्तन हुन बाध्य छु। कसैलाई चित्त नदुखाउने कुरामा डिप्लोमेटिक हुनुपरेको छ। तर, कसैले नराम्रो गरिरहेको छ भने त्यसमा म डिप्लोमेटिक भएर बस्न सक्दिनँ। 

तपाईंलाई लिएर विभिन्न खालका ट्रोल पनि बनिरहेका हुन्छन् ? त्यो देख्दा कस्तो लाग्छ ?

करिअरको सुरुमा त्यतातिर ध्यान दिइन्थ्यो। आफू फेमस भएछु जस्तो लाग्थ्यो। अहिले त खासै मतलब लाग्दैन। काममा व्यस्त भइन्छ। त्यसलाई खासै महत्त्व पनि दिन्न।

तपाईं त साथीभाइसँग प्य्रांक गर्न एकदमै रुचाउनुहुन्छ क्यारे ? बेला–बेलामा भिडियो देख्न पाइन्छ ?

म एकदमै रमाइलो गरिराख्नुपर्ने खालको मान्छे हुँ। प्य्रांक गर्दा एक प्रकारको माहोल बन्छ। त्यसैले कहिलेकाहीँ त्यस्तो ठट्टा गर्न मन लाग्छ। धेरैजसो म निश्चलसँग प्य्रांक गर्छु। हामी घरमा बसेको बेलामा पनि एकअर्कालाई प्य्रांक गरिरहेका हुन्छौँ। अहिले त धेरै भयो प्य्रांक नगरेको।

तपाईंका मेल कोस्टार प्रायः नयाँ पर्ने गरेका छन्  । गाह्रो सजिलो के हुन्छ ?

पुराना कलाकारसँग काम गर्दा उहाँहरूलाई टेक्निकल कुरा थाहा हुने भएकाले केही सजिलो हुन्छ। तर, नयाँ कलाकारबाट पनि धेरै नयाँ कुरा सिक्न पाइन्छ। यो हिसाबले नयाँसँग खेल्दा मलाई फाइदा नै भएको छ। 

दाजुभाउजू सँगै फिल्म गर्ने खबर आउँछ, फेरि सेलाउँछ। जनताले दाजुभाउजूलाई सँगै कहिले देख्न पाउँछन् त ? 

त्यो चाहिँ मैले पनि समाचारहरू पढेर मात्र थाहा पाउँछु। हामी आफैँले भने अहिलेसम्म केही सोचेका छैनौँ। 

निश्चलसँग पूरै फिल्ममा दर्शककले देख्न पाउँदैनन् ?

निश्चल र मेरो फिल्म कुरेर बस्ने धेरै दर्शक हुनुहुन्छ। जस्तो पायो त्यस्तै फिल्म गरेर उहाँहरूलाई हामी निराश बनाउने पक्षमा छैनौँ। त्यसैले ऊसँग राम्रो फिल्ममा मात्र काम गर्न मन छ। फिल्ममा हामी दुई जना मात्र हुनु ठूलो कुरा होइन। दर्शकसम्म त्यसले केही प्रभाव पनि पार्नुपर्‍यो नि ! त्यस्तो कुनै अफर आयो भने गर्ने हो। 

त्यसमा तपाईंले कल्पना गरेको रोल चाहिँ के हो ? 

रोमान्टिक प्लस कमेडी खालको रोल होस्। 

धेरै हिरोइन बिहेपछि हराएर जान्छन्, तपाईंको केसमा बिहेपछि करिअर सुरु भएको छ। त्यो देख्दा ‘हत्तेरी यति चाडै बिहे नगर्नुपर्ने रहेछ’ भन्ने कुरा दिमागमा आउँछ कि आउँदैन ?

यो कुरा मेरो दिमागमा अहिलेसम्म एक प्रतिशत पनि आएको छैन। निश्चल यो फिल्डमा नभएको भए सायद हुन्थ्यो होला। ऊ पनि यही फिल्डमा भएकाले मलाई केही अप्ठ्यारो छैन। हामी दुवै जना एकअर्काको काममा मज्जाले रमाइरहेका छौँ। त्यसैले आजसम्म पनि मलाई बिहे नभएको भए हुन्थ्यो भन्ने खालको फिलिङ चाहिँ आएको छैन।

केही बाँधिएको महसुस त हुन्छ होला नि ?

त्यो त झन् पटक्कै हुँदैन। मैले बिहे गर्ने बेलामा धेरैले ‘अहिले बिहे नगर, भर्खरै करिअर सुरु हुन लागेको छ’ भनेका थिए। बिहेपछि पनि धेरैले मसँग काम गर्न खोजे। तर, भन्न अप्ठ्यारो मान्थे। बिहे गरेको केही समयसम्म ‘स्वस्तिमाले काम गर्छिन् ?’ भनेर निश्चललाई फोन आउँथ्यो। जब मैले निरन्तर एकपछि अर्को काम गर्दै गएँ। त्यसपछि बल्ल मलाई नै अप्रोच गर्न थाले।

यदि मैले काम नगर्ने भएको भए मलाई कसैले भन्दैनथ्यो। यी सबै आफूमा भरपर्ने कुरा हुन्। भोलि बच्चा पाएपछि पनि कामलाई यसरी नै निरन्तरता दिइरहन्छु। हरेक मान्छेसँग दुई वटा विकल्प हुन्छन्। कि काम गर्नुपर्‍र्यो, कि घरमा बस्नुपर्‍यो। मैले कामलाई रोजेँ। त्यसको लागि ब्याक सपोर्ट चाहिन्छ। तर, जबसम्म आफू स्ट्यान्ड लिन सक्दैन, अरूको सपोर्ट भएर मात्र केही हुँदैन। निश्चलले मलाई पूरा सपोर्ट गरेको छ। बेलुका म घर फर्किन ढिला हुँदा खाना खान कुरेर बस्छ। 

निश्चल र तपाईंलाई सबैले ‘राष्ट्रिय दाजुभाउजू’को उपमा दिएका छन्। राष्ट्रले भतिजा–भतिजी पनि त पाउने बेला भयो नि अब ?

त्यो त सोचेकै छैन। दुवै जना काममा व्यस्त छौँ। मलाई पनि बच्चा त एकदमै मन पर्छ। हामी दुवै जना अलि हावा छौँ। निश्चल देख्दा मात्रै सिरियस देखिन्छ। ऊ मभन्दा हावा छ। जिम्मेवारी वहन गर्ने कुरामा त झनै हावा छ। अझै पनि गेम खेलेर बसिरहेको हुन्छ। उसले गेम खेल्ने कुरामा हाम्रो झगडा परिरहेको हुन्छ। आइप्याडमा चौबिसै घण्टा पब्जी खेलेर बस्छ। त्यस्तो मान्छेलाई बच्चा पाएर के काम ? त्यसैले हामी दुवै जना तयार छैनौँ। बच्चा भनेको त परिवारमा नयाँ मान्छे आउने हो नि ! त्यसको लागि म एक्लै जिम्मेवार भएर पुग्दैन। दुवै जना जिम्मेवार हुनुपर्छ। 

गेमबाहेक  अरू के कुरामा झगडा पर्छ ?

हाम्रो झगडा पर्ने भनेको त्यही गेम हो। झगडा भन्नाले त्यस्तो बाझाबाझ हुँदैन। तर, केही कुरामा बहस भयो भने एकअर्कासँग बोल्दैनौँ। नबोलेपछि दुईतीन दिनसम्म बोलिँदैन। मैले गलत गरे जस्तो लाग्यो भने मै बोल्छु। नत्र, धेरैजसो उसैले फकाउँछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.