सरस्वती पूजाका लागि मूर्ति भित्र्याइँदै (फोटो फिचर)
जनकपुरधाम : आइतबार हुने सरस्वती पूजाको लागि शनिबार नै मूर्तिमा भित्र्याउन विद्यार्थीलाई भ्याइ नभ्याइ छ। जनकपुरमा सरस्वतीको माटोको मूर्ति बनाएर पूजा गर्ने प्रचलन रहेको छ। विद्यालय, शैक्षिक संस्थान सहित चोक र टोलमा विद्यार्थीहरुको समूहले सरस्वती पूजा आयोजना गर्ने गरेका छन्।
पूजाको मुख्य आकर्षण सरस्वतीको मूर्ति नै हुने गर्दछ। त्यसैगरी पंडाल सजावट, साँस्कृतिक कार्यक्रमले पूजाको भव्यतालाई अझैं बढाउने गर्दछ। सरस्वती पूजाका लागि नगरभरि दर्जनौं स्थानमा मूर्तिकारले माटोको मूर्ति बनाउने काम डेढ महिना अगावै सुरु गर्छन्।
माटोबाट बनाइएका कलात्मक सरस्वतीका मूर्तिहरु कम्तीमा ३ हजारदेखि ३५ हजारसम्म बिक्रि हुने गरेको मूर्तिकार योगेन्द्र पंडित बताउँछन्। आज मूर्ति भित्र्याएर आइतबार पूजाअर्चना गर्ने र सोमबार जलाशयमा सेलाइने गरिन्छ।