मनाङ सडेन डेथको सिकार
पोखरा : मनकामना केबलकार पोखरा कपमा सिग्नेचर मनाङ मर्स्याङदी क्लब सडेन डेथको सिकार भएको छ। पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमलीले मनाङलाई सडेन डेथमा हराउँदै फाइनलमा स्थान बनाएको छ।
पोखरा रंगशालामा शनिबार भएको सेमिफाइनलमा डफिन्सले सिग्नेचर मनाङलाई हराउँदै एपीएफसँग फाइनल खेल्ने भएको छ। फाइनल आइतबार हुनेछ।
निर्धारित समयमा दुवै टोलीले १–० र थपिएको २० मिनेटमा कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि दुवैले ४–४ गोल गरेपछि खेल सडेन डेथमा पुगेको थियो।
सडनडेथमा सिग्नेचर मनाङका विमल रानाको प्रहार क्रसबार माथिबाट बाहिरिन पुग्नु नै दुर्भाग्य बन्यो। मनाङका सुरज विकले टाइब्रेकमा प्रहार गरेको बल बारमा लागेर बाहिरिएकोे थियो। डफिन्सका वियिक, एक्विम, सिलो मार्टिन्स, औरेल एनामी र कप्तान जो एंगोलाले पेनाल्टीमा गोल गरे।
सडेन डेथमा डफिन्सका जो एंगौलाले गोल गरे भने डफिन्सका उभिएमले टाइब्रेकरमा प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरिएको थियो। प्रतियोगितामा पाहुना टोलीका अर्मेल अहन्दा म्यान अफ दी म्याच घोषित भए।
प्रतिस्पर्धात्मक खेलको ६६ औं मिनेटमा मनाङका कमल श्रेष्ठले गोल लाइनबाटै बल क्लियर गर्न खोज्दा गोल भएको थियो। डफिन्सले १–० को अग्रता लिएको १५ मिनेट बित्न नपाउँदै मनाङले गोल फर्काएको थियो। मनाङका लागि खेलको ८० औं मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गरे।
कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताका विजेताले सात लाख ५५ हजार र उपविजेताले चार लाख पाँच हजार रुपैयाँ पाउने छन्।