आर्मी टिम च्याम्पियन, सुशील र दिवाना उत्कृष्ट
काठमाडौं : त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिपको उत्कृष्ट खेलाडी घोषित भएका छन्। उत्कृष्ट खेलाडी घोषित भएका सुशीलले मोटरसाइकल र दिवानाले स्कुटर प्राप्त गरेका छन्। उत्कृष्ट दुवैलाई गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंह र प्रतियोगिता संयोजक राजीव श्रेष्ठले पुरस्कृत गरे।
गणेशमान सिंह फाउन्डेसनको आयोजनामा वसन्तपुर डबलीमा आयोजना भएको प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बन्यो। शनिबार भएका आठ फाइनलमध्ये आर्मी पाँच स्वर्ण जित्दै च्याम्पियन बनेको हो। शुक्रबार सम्पन्न महिलातर्फको टिम च्याम्पियन पनि आर्मी नै भएको थियो।
पुरुष ४९ केजी तौल समूहमा आर्मीका सुशील थापाले एपीएफका प्रदीप महर्जनलाई पराजित गर्दै स्वर्ण जिते। प्रदेश ६ का मोहन गुरुङ र प्रदेश ७ का भानु विष्टले कांस्य पदक हात पारे।
५२ केजीमा आर्मीका प्रेम चौधरीले एपीएफका विक्रम परियारलाई पराजित गरे। पुलिसका चन्द्रबहादुर थापा र प्रदेश १ का सुलभराज तुलाधर तेस्रो भए।
आर्मीकै विमल रोकाले ५६ केजीको उपाधि भिडन्तमा एपीएफका पुरन राईलाई पराजित गरे। प्रदेश २ का गणेश थापा र प्रदेश ७ का महेन्द्र चन्द तेस्रो भए।
गणेशमान स्मृति राष्ट्रिय खुला बक्सिङमा महिलातर्फ उत्कृष्ट खेलाडी आर्मीकी दिवाना शेर्मा।तस्बिरः अन्नपूर्ण
पुलिसका दिनेश श्रेष्ठले ६० केजी तौल समूहमा आर्मीका एकबहादुर घलेलाई पराजित गर्दै स्वर्ण हात पारे। प्रदेश ५ का गणेश थापामगर र एपीएफका प्रकाश लिम्बू तेस्रो भए।
पुलिसका भूपेन्द्र थापाले एपीएफका सोनाम सार्कीलाई पराजित गर्दै ६४ केजी तौल समूहको उपाधि जित्दा आर्मीका सुरेश नेपाली र प्रदेश ६ का इन्द्र सुनार तेस्रो भए।
६९ केजीमा एपीएफका विकास लामाले आर्मीका विष्णुप्रसाद घलेलाई हराउँदै प्रथम स्थान हासिल गरे। प्रदेश १ का राजेश गुरुङ र प्रदेश ३ का मनिष डंगोल कांस्यमा सीमित भए।
७५ केजी तौल समूहमा एपीएफका सुमन कार्कीले आर्मीका दीपक श्रेष्ठलाई वाकओभर दिए। प्रदेश २ का दिवस गुरुङ र प्रदेश ३ का दिवेश भूमिलाल तेस्रो भए।
गणेशमान स्मृति राष्ट्रिय खुला बक्सिङमा पुरुषतर्फ उत्कृष्ट खेलाडी आर्मीका सुशील थापा।तस्बिरः अन्नपूर्ण
आर्मीका रवि सुनारले ८१ केजीको फाइनलमा प्रदेश ५ का केशर खत्रीलाई पहिलो राउन्डमा नै नकआउट गरे। प्रदेश ७ का हिक्मतबहादुर शाही र प्रदेश ४ का सुसन पुनले कांस्य पदक प्राप्त गरे।
माघ २२ देखि भएको प्रतियोगिताका प्रत्येक तौल समूहका विजेताले २५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै दोस्रो हुनेले १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले सात हजार पाँच सय रुपैयाँ प्राप्त गरे।