प्रदेश २ ले बिपी उद्यान मासेकोप्रति कांग्रेसको आपत्ति
काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिपी उद्यानमा अर्कैको नाममा पार्क निर्माणका लागि शिलान्यास गरेकोप्रति नेपाली कांग्रेले आपत्ति जनाएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसले आपत्ति जनाएको हो।
कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामका अस्पताल केन्द्रीय सरकारले नामेट पार्ने प्रयास गरेको र प्रदेश सरकारले समेत बिपी पार्क अर्कैको नाममा शिलान्यास गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।
‘बिपी कोइरालाका नाममा वीरगंजमा निर्माण गर्ने निश्चित भएको बिपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ हालै गरिएको शिलान्यास कार्यक्रमप्रति यो बैठक गम्भीर आपत्ती प्रकट गर्दछ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पूर्व निर्णयलाई तत्कालै यथास्थितिमै कायम राख्न र यथाशिघ्र बिपी उद्यान निर्माण प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस माग गर्दछ।’
कांग्रेसले बिपीका नाममा उद्यान निर्माण गर्ने उद्देश्यका साथ सोही प्रयोजनका लागि जग्गा प्रबन्ध र सो जग्गा अन्य नाममा प्रयोग गर्न नमिल्ने प्रतिबन्धात्मक व्यवस्था भएपनि प्रदेश सरकारले दुरुपयोग गरेको दाबी गरेको छ। कांग्रेसले तत्काल पुरानो निर्णय बमोजिमकै प्रक्रियामा अघि बढाउन प्रदेश सरकारलाई सचेतसमेत गराएको छ।
कांग्रेस प्रवक्ता शर्माले नेपाली राजनैतिक इतिहासका सर्वाधिक प्रिय राजनीतिज्ञमाथिको निषेधका रुपमा यो घटनालाई लिएको बताए। ‘नियतवश गरिएको बिपी कोइरालाको नामप्रतिको अवहेलनाको गम्भीर दुस्साहसलाई तत्काल सच्याउन नेपाली कांग्रेस आग्रह गर्दछ’, शर्माले भने, ‘अन्यथा तत्कालै संसददेखि सडकसम्म कडा दबाबको सामना गर्नु पर्ने चेतावनी पनि दिन चाहन्छु।’
२०५९ सालका बिपी उद्यानको बोर्ड अगाडि मन्तव्य राख्दै वीरगन्ज उपमहानगरपालिकाका प्रमुख गोपाल गिरी । तस्बिर : नेपाली कांग्रेस