'ओली-प्रचण्ड सहमति भइसक्यो, अमेरिकाले निम्तो पठायो'
काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर पार्टी सचिवालयको धारणा नै आधिकारिक रहेको बताएका छन् ।
'यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक हो । यसमा अब अल्झिनुपर्दैन', पौडेलले आइतवार रिर्पोटर्स क्लबमा भने ।
प्रचण्ड-अमेरिकी राजदूत वार्ता
नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे । 'नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भइसकेको छ', पौडेलले भने, 'राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो 'स्पिरिट'मा आएको हो भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।'
साक्षात्कारमा बोल्दै नेता पौडेलले अमेरिकी राजदूतले अध्यक्ष प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसहेको खुलासा गरे । उनले भने,'सबै कुरा मिलिसक्यो, सहमति भइसक्यो । अब यसलाई अनावश्यक उचाल्नुहुँदैन ।'
ओली-प्रचण्ड मिलाप
पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको जनाए । 'उहाँहरुबीच तीन घण्टा कुराकानी भयो । मिलेर जाने सहमति भएको छ', उनले भने, 'अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।'
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भीर कुराकानी भएको पनि पौडेलले बताए । 'सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे सहमति भएको छ', पौडेलले भने, 'पार्टी एकीकरणलाई दुवै अध्यक्षले पहलकदमी लिने र फत्ते बनाउने पनि गम्भिर कुरा भएको छ । पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरुबीच कुरा भएको छ ।'
वक्तब्य निकाल्दा ख्याल गरौँ
फरक प्रसंगमा उनले पूर्व प्रधानमन्त्री, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले वक्तव्य जारी गर्दा शब्दहरु ख्याल गर्नुपर्नेमा जोड दिए । उनले भने,'शब्दहरुको ख्याल गर्नुपर्छ । अरु कुनैपनि राष्ट्रलाई चिढ्याउनुहुँदैन ।'
उनले नेपालले शान्ति प्रक्रिया मौलिक ढंगले टुंगो लगाउने काम गरिरहेको सुनाए । तर, केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु र केही 'संघ÷संस्थाहरुले यो विषयलाई उचाल्ने काम गरेको उनको आरोप छ । उनले भने, 'संघ÷संस्था भनेर मैले कांग्रेसलाई भन्न खोजेको होइन । कांग्रेस त शान्ति प्रक्रिया टुंगो लगाउन दृढ छ । हामी सबै मिलेर कोशिस गरिरहेका छौं ।'