तल्लो दोर्दी ८० प्रतिशत सम्पन्न

तल्लो दोर्दी ८० प्रतिशत सम्पन्न

बेंशीशहर  : लमजुङको दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाटको तल्लो दोर्दीखोला जलविद्युत् आयोजना निर्माण कार्य ८० प्रतिशत पूरा भएको छ ।

चालु आर्थिक बर्षमा निर्माणको सबै काम सकेर भदौमा विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाको छ । प्रवद्र्धक कम्पनी हिमालयन पावर पार्टनर लिमिटेडका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले आयोजनाको विद्युत् गृह, बाँध र सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । ‘बाँधको संरचनाको काम सकिएको छ । गेट जडान र पाँचसय मिटर सुरुङ खन्न बाँकी छ’, ढकालले भने, ‘बाँकी रहेको काम चैतभित्र सक्छौँ ।’ 

दुई हजार सात सय ७० मिटर सुरुङबाट आएको पानी २ हजार ६ सय मिटर पेनस्टक पाइपबाट विद्युत गृहमा खसालिने आयोजनाले जनाएको छ । पेनस्टक जडानको कार्य भइरहेको ढकालले बताए । ढकालकाअनुसार विद्युत् गृहको काम अन्तिम चरणमा पुगेको छ । संरचना निर्माणको काम सकिएपछि चैतबाट इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम हुन्छ । भदौ १५ सम्म विद्युत् उत्पादन गरि परिक्षणमा लगिने आयोजनाले जनाएको छ ।

२०७१ फागुनबाट शुरु भएको आयोजनाको निर्माण कार्य २०७४ असारसम्म सक्ने लक्ष्य थियो । भूकम्प, नाकाबन्दीलगायतका कारण आयोजना निर्माणमा ढिला भएको ढकालले बताए । दोर्दी गाउँपालिका ६ ढोडेनी र ८ बन्सारबीचको दोर्दी खोलामा बाँध बाँधेर बेसीसहर नगरपालिका ११ चिती रामचोक बेसीको मस्र्याङ्दी नदी किनारमा निर्माण गरिने विद्युत गृहमा पानी खसालिने छ । 

नदीप्रवाही यस आयोजनामा ९÷९ मेगावाटको तीनवटा फ्रान्सिस टर्बाइन जडान गरिने आयोजनाका इन्जिनियर दीपक ज्ञवालीले बताए । उत्पादित विद्युत् १ दशमलब २ किलोमिटरको दूरीमा रहेको उदीपुरस्थित निर्माणाधीन १३२ केभीको सव स्टेसनमा जोडिने छ । 

आयोजनाबाट १४ करोड ७६ लाख युनिट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुलीमध्ये आयोजनाले १४ करोड २३ लाख युनिट बिजुली बिक्री गर्ने प्रक्षेपण गरेको छ । २३ असार २०६८ मा लाइसेन्स पाएको सो आयोजनाले विद्युत् प्राधिकरणसँग सुख्खा याममा प्रतियुनिट ८ रुपियाँ ४० पैसा र वर्षायाममा ४ रुपियाँ ८० पैसामा आयोजनाले २०६९ असार १ गते विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । 

चार अर्ब २३ करोड ३५ लाख रुपियाँ आयोजना निर्माण पूरा हुने जनाएको छ । यसमा गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्भेस्टमेन्ट लिमिटेडको ३५.७ प्रतिशत, आईएमई समूहको ३४.३० प्रतिशत र स्थानीयको ३० प्रतिशत लगानी छ । यसका लागि प्राइम कमर्सियल बैंकको अगुवाइमा आठवटा बैंक तथा वित्तीय संस्थाको ७५ प्रतिशत ऋण र प्रवद्र्धकको ३५ प्रतिशत शेयर छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.