चेल्सीको पोष्टमा म्यानचेस्टर सिटीको आधा दर्जन गोल
लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई ६-० गोलको फराकिलो अन्तरले हराएको छ। इत्तिहाद रंगशालामा हात पारेको महत्वपूर्ण जितसँगै म्यानचेस्टर सिटी पुनः अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा खेलिएको उक्त खेलमा म्यानचेस्टर सिटीका लागि सर्जियो एग्वेरोले ह्याट्रिक गरे। ३० वर्षीय अर्जिन्टिनी खेलाडीले इङ्लिस प्रिमियर लिगमा गरेको ह्याट्रिक सँख्या ११ पुगेको छ। उनी एलन सिएररसँगै प्रिमियर लिगमा सबैभन्दा बढी ह्याट्रिक गर्ने खेलाडी पनि बनेका छन्।
सिएररले पनि प्रिमियर लिगमा ११ वटा ह्याट्रिक गरेका थिए। सबै प्रतियोगितालाई मिलाउँदा भने म्यानचेस्टर सिटीका लागि एग्वेरोले गरेको यो १५औं ह्याट्रिक हो।
खेल अवधिभर चेल्सीमाथि हाबी भएको म्यानचेस्टर सिटीका लागि चौथो मिनेटमै रहिम स्टर्लिङले पहिलो गोल गरेका थिए। १३औं मिनेटमा एग्वेरोले टोलीको अग्रता दोब्बर बनाए। १९औं मिनेटमा एग्वेरोले नै म्यानचेस्टर सिटीलाई ३-० को अग्रता दिलाएका थिए।
यसैगरी २५औं मिनेटमा ईकी गुन्डोगनले गोल थपेपछि पहिलो हाफमै म्यानचेस्टर सिटी ४-० ले अगाडि बढेको थियो। ५६ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा पनि चेल्सीको पोष्टमा दुई गोल थप्यो।
एग्वेरोले ५६औं मिनेटमा पेनाल्टीमार्फत गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे। निर्धारित समयको खेल सकिनुभन्दा १० मिनेटअघि स्टर्लिङले ब्यक्तिगत रुपमा दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे। प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको सूचीमा एग्वेरोपछि रोबी फोलर दोस्रो स्थानमा छन्। उनले नौवटा ह्याट्रिक गरेका छन्।
यसैगरी सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको सूचीमा माइकल ओवन, ह्यारी केन र थिएरी हेनरी संयुक्त रुपमा तेस्रो स्थानमा छन्। उनीहरुले आठ/आठ ह्याट्रिक गरेका छन्। सातवटा ह्याट्रिकसहित वेन रोनी चौथो र ६ वटा ह्याट्रिकसहित लुइस स्वारेज पाँचौं स्थानमा छन्।
म्यानचेस्टर सिटी अंक तालिकाको पहिलो स्थानमा उक्लिए पनि दोस्रो स्थानमा झरेको लिभरपुलले एक खेल कम खेलेको छ। हालसम्म २७ खेल खेलेको म्यानचेस्टर सिटीको ६५ अंक छ। २६ खेल खेलेको लिभरपुलको समेत ६५ अंक नै भए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा झरेको हो।
यसैगरी २६ खेल खेलेको टोट्टनहाम ६० अंकसहित तेस्रो, समान खेल खेलेको म्यानचेस्टर युनाइटेड ५१ अंकसहित चौथो र समान खेल खेलेको आर्सनल ५० अंकसहित पाँचौं स्थानमा आसिन छन्। चेल्सी भने २६ खेलबाट ५० अंक बटुल्दै तालिकाको छैटौं स्थानमा छ।
एग्वेरोले सन् २०१९ सुरु भएपछि क्लबका लागि प्रिमियर लिगमा आठ गोल गरिसकेका छन्। यो अन्य खेलाडीले गरेको तुलनामा दोब्बर गोल हो। चेल्सीले सन् १९९० को डिसेम्बरयता विपक्षीको मैदानमा खेलिएका ठुला प्रतियोगितामा लगातार चार वा सोभन्दा बढी गोल खाएको यो पहिलो पटक हो।
चेल्सीले सन् २०१९ सुरु भएयता प्रिमियर लिगमा १३ गोल खाइसकेको छ। चेल्सीभन्दा बढी गोल खाने टोली फुलहाम मात्र हो। फुलहामले यस अवधिमा १५ गोल खाएको छ। सन् १९९१ पछि चेल्सीले भोगेको यो सबैभन्दा ठुलो अन्तरको हार हो। सन् १९९१ मा चेल्सीलाई नटिङ्घम फरेष्टले ७-० गोलले हराएको थियो।
आइतबार राति नै खेलिएको अर्को खेलमा टोट्टनहामले घरेलु मैदानमा लेस्टर सिटीलाई ३-१ गोलले हरायो। टोट्टनहामका लागि डेभिन्सन सान्चेज, क्रिस्टियन एरिक्सन र सन ह्युङ मिनले एक÷एक गोलको योगदान गरे। लेस्टर सिटीका लागि भने एकमात्र गोल जामी भर्डीले गरेका थिए।