बिल्बाओसामु बार्सिलोना निरीह
म्याड्रिड : स्पेनिस ला लिगा फुटबलको सोमबार विहान खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोना तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी एथलेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको छ । उक्त नतिजापछि बार्सिलोना र तालिकाको दोस्रो स्थानमा आसिन रियल म्याड्रिडबीचको दूरी ६ अंकमै सीमित भएको छ ।
लेभान्ते र डेपोर्टिभो आल्भेस वाहेक सबै टोलीले २३औं चरणको खेल खेलिसक्दा ५१ अंकसहित बार्सिलोना पहिलो र ४५ अंकसहित रियल म्याड्रिड दोस्रो स्थानमा छन्। आफ्ना स्टार खेलाडीद्वय लियोनल मेसी र लुइस स्वारेजसहित मैदानमा ओर्लिए पनि बार्सिलोना घरेलु टोली बिल्बाओसँग निरीह देखिएको थियो।
अर्जेन्टिनी स्टार मेसी तिघ्राको समस्याबाट मुक्त भएर खेलमा फर्किएका हुन्। सोही समस्याका कारण उनले अघिल्लो साता खेलिएको कोपा डेल रेको रियल म्याड्रिडविरुद्घको खेलमा पहिलो हाफ बेञ्चमा बिताएका थिए ।
अर्को खेलमा बलियो टोली सेभिल पनि आफ्नै मैदानमा कमजोर प्रतिद्वन्द्वी इबरसँग २—२ गोलको बराबरीमा रोकियो । ला लिगा तालिकाको तेस्रो स्थानमा आसिन एट्लेटिको म्याड्रिडको ४४ र चौथो स्थानमा आसिन सेभिलको ३७ अंक छ ।