नेपाल आज भारतसँग भिड्दै
काठमाडौं : भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले सोमबार आयोजक भारतसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा म्यानमारसँग ३-० गोलले पराजित भएको नेपाललाई अगाडि बढ्न भारतलाई हराउनुपर्ने अवस्था छ।
भारतले पहिलो खेलमा इरानलाई १-० गोलले हराएको छ। भारतीय फुटबल संघले नेपालको विराटनगरमा आगामी फागुन २८ देखि चैत ८ सम्म हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि हिरो गोल्डप आयोजना गरेको हो।
हिरो गोल्डकप प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरानले भाग लिएका छन्। नेपालले आफ्नो तेस्रो खेल फागुन १ गते इरानसँग खेल्नेछ। प्रतियोगितामा म्यानमार र भारतले तीनतीन अंक बनाएका छन्। इरान र नेपालले खाता खोल्न सकेका छैनन्। राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल फागुन ३ गते हुनेछ।