संविधान संशोधन गरेरै मधेसीका हक सुनिश्चित गर्छौँ : प्रचण्ड
सिराहा : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको हक अधिकार र यहाँको विकासमा आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । सिराहामा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संसोधन गरेरै समानुपातिक समावेशी प्रणालीलाई थप व्यवस्थित बनाउने धारणा राखे ।
महिला, मधेसी, दलित, मुस्लिम लगायत समुदायलाई समानुपातिक समावेशी प्रणालीमार्फत समेटेको उनले स्मरण गराएका थिए । साथै संविधान परिवर्तन गरेरै त्यसलाई पर्याप्त बनाउने पनि प्रतिवद्धता जनाएका छन् । आफूहरुको कम्युनिष्ट पार्टी मधेसी जनताको हित विपरित रहेको आशंका नराख्न उनको अग्रह थियो ।
मधेसी जनताको हितमा कम्युनिष्ट सरकारले नै काम गर्ने पनि उनको जिकिर थियो । ‘कम्युनिष्ट पार्टीले मधेसी जनताको, विकास निर्माणमा ध्यान दिँदैन कि भन्ने छ भने त्यो सत्य हैन,’ प्रचण्डले भने, ‘हामी एक मतले नै मधेसको विकास गरेरै यहाँका जनताको आवश्यकता पूरा गर्न सकिने प्रतिवद्धता व्यक्त गर्छौँ ।’
उनले अब कोही पनि गरिबीको कारण, शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनु नपर्ने पनि बताए । नयाँ संविधान अनुसार ती सबै कुरालाई मौलिक हकमा राखिएकाले कुनै पनि मानिस गरिबीबाट वञ्चित हुनुपरे अदालत समेत जानसक्ने भन्दै आफूहरु जनताका हक सुनिश्चित गर्न लागिपरेको बताए ।