मनाङमा हिमपातको प्रभाव : तीन सातादेखि ढुवानी ठप्प
बेसीसहर : तीन सातादेखिको झरी र हिमपात रोकिए पनि हिउँ पन्छाउन नसक्दा मनाङमा यातायात सेवा ठप्प बनेको छ । हिमपातका कारण पहिरो, ढलेका रुख र चट्टानका कारण यातायात नचल्दा खाद्यान्न आपूर्ति हुन सकेको छैन ।
तीन सातायता मनाङमा सवारी आवागमन ठप्प छ । लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको दानाक्युसम्म मुस्किलले सवारी चलेको छ । दानाक्युदेखि माथी सवारी जान नसकेको सवारी चालक यम गुरुङले बताए ।
हिउँ बर्षाले तिमाङ र थान्चोकबीचको स्याक्र्यु खोला नजिकै ढुंगा पल्टाएर बाटो अवरुद्ध बनाएको छ । हिउँ नपग्लिएकाले हिँड्न मिल्ने बाटोसमेत छैन । यातायात नचल्दा मनाङ ङिस्याङ, चामे र नार्पाभूमि गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् ।
स्थानीयले यसअघि राखिएको मौजात खाद्यान्न प्रयोग गरेका छन् । हरियो तरकारी, गोलभेँडा, मासुलगायत सामाग्रीको भने अभाव भएको छ । दानाक्युबाट बोकाएर लगेको सामान तिमाङ, चामे र ढिकुरपोखरीमै सकिदाँ माथिल्लो क्षेत्रहरु पुग्न सकेको छैन । सवारी रोकिए पनि दैनिक १०÷१५ जना पर्यटकहरु हिँडेरै मनाङ पुग्ने गरेका छन् ।
घरेलु विकास समितिका उद्योग अधिकृत प्रदीप न्यौपानेले सवारी नचल्दा दानाक्युदेखी चामेसम्म हिँड्न पाँच घण्टा लागेको बताए । चामेदेखि मनाङसम्म सवारीसाधनमा साढे २ घण्टामा आउनेहरू अहिले २ दिन हिँड्न बाध्य छन् । ‘हिउँमा चिप्लिएर मान्छे हिड्नै गाह्रो छ । सामान त ल्याउनै सकिन्न’, गौरी शंकर आधारभुत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले भने, ‘हिउँ पर्नु अघि नै खाद्यान्न ल्याएकाले अहिले खान पाइएको छ ।’
बजारमा भने खाद्यान्न पाउन छाडेको छ । हरियो तरकारी, गोलभेँडा, कुखुरा तथा खसीको मासु पाइन छोडेको छ । ‘तीन साता भयो तरकारी देख्न नपाइएको’, सिटिजन बैंक चामेका प्रबन्धक रवीन्द्र पोख्रेलले भने, ‘घरबाट ल्याएको गुन्द्रुक भट्ट थियो र खान पाइएको छ ।’ गण्डकी विकास बैंक चामे शाखाका प्रबन्धक विश्वराज पौडेलकाअनुसार हिमपातले पानी जम्दा खानेपानीको पनि समस्या हुने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीका अनुसार हिउँ नपग्दासम्म सवारीसाधन गुड्न सक्ने अवस्था छैन । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार सडक कार्यालय दमौलीको सहयोगमा स्याक्र्यु खोलाको ढुंगा फुटाएर पहिरो हटाउने तयारी गरिएको छ ।
सरकारी कार्यालयदेखि बजारसम्म आउजाउ गर्न सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेर हिउँ पन्छाएर बाटो खुलाइएको प्रजिअ देवकोटाले बताए । यातायात नचलेपनि तत्कालका लागि जिल्लामा खाद्यान्न अभाव नभएको उनले बताए । ‘गाडी चल्न सकेको त छैन्, बोकाएरै भएपनि खाद्यान्न ल्याएका छन्’, प्रजिअ देवकोटाले भने, ‘गाडीबाट ढुवानी रोकिए पनि अभावै भने भएको छैन् ।’