नागरिकताको समस्या चाँडै समाधान हुन्छ : प्रचण्ड

नागरिकताको समस्या चाँडै समाधान हुन्छ : प्रचण्ड

सिरहा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जन्मसिद्ध नागरिकका सन्तानले पाउने नागरिकताको समस्या चाँडै समाधान हुने बताएका छन्।

सोमबार सिरहाको अर्नमा गाउँपालिका १ महनौरमा स्वास्थ्य चौकी र मिर्चैया नगरपालिकामा प्रथम ‘मिर्चैया महोत्सव’ उद्घाटन गर्न आएका अध्यक्ष दाहालले नागरिकता विधेयक संसदमा पेश भएर राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको बताए।

‘जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको आधार नागरिकता पाउने व्यवस्था हुन गइरहेको छ,’ अध्यक्ष दाहालले भने, ‘जसरी विगतमा मधेसको समस्या नागरिकता थियो, अब समाधान हुन्छ।’

मधेसी जनताको हकहित र अधिकारका पक्षमा आफूले निरन्तर पहलकदमी भुमिका खेलेको प्रष्ट पारे। ‘संविधानलाई मधेसी जनताको आवश्यकता र औचित्यको आधारमा संशोधन, परिमार्जन गर्दै जाने भनेर मैले, प्रधानमन्त्री केपी ओलीजीले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं,’ उनले भने,‘मधेसको विकास निर्माणमा नेकपा नेतृत्वको सरकारको ध्यान कम भएको भन्ने शंका नगर्नु। मधेसको विकास गरेर मात्रै मधेसी जनताको माग सम्बोधन गर्न सकिनेछ।’

मधेसमा पूर्वाधार विकासका लागि दुई अर्ब रुपैयाँको विशेष प्याकेज सरकारले ल्याएको उनले जानकारी गराए। सिँचाइ र खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न ऊर्जा तथा सिँचाइ र खानेपानी मन्त्रालय मार्फत प्रदेश २ को आठ वटै जिल्लाका लागि प्रक्रिया अघि बढाएको उनले बताए।

भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टर सहितको आवश्यक व्यवस्था होस् भनेर सरकारसँग तत्काल माग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।

‘सिरहा जिल्ला आँप र धान उत्पादनमा देशमै अब्बल जिल्ला हो। सिरहालाई आँप र धानको जोनको रुपमा विकास गर्न पहल गर्नेछु,’ उनले भने,‘धानखेतीमा उर्वर यस जिल्लाबाट उत्पादन भएको धानले नै हजारौँ नेपालीको आवश्यकता धान्न सक्छ।’

अहिलेको संविधानले शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको उनले बताए। ‘अब आर्थिक अभावमा उपचार नपाएर कोही मर्नु पर्दैन, पढ्नबाट बन्चित हुनु पर्दैन,’ उनले भने,‘गरिबको उपचार सरकारले गर्छ । नगरे अदालतमा सरकारमाथि मुद्दा दिन पाइन्छ, सरकारमाथि मुद्दा लाग्छ।’

पूर्वाधार विकास, उत्पादन वृद्धि, व्यापार घाटाको सन्तुलन मिलाउने, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा सरकार लागि परेको उनको भनाई थियो। नेपाललाई समृद्ध बनाउन जसले लगानी गरेपनि फरक नपर्ने उनले बताए।

‘उत्पादनमा वृद्धि, रोजगारीको लागि विदेशिएका युवाहरुले स्वदेशमै रोजगारी पाए भन्ने जो कोहीले लगानी गरेपनि फरक पर्दैन,’ उनले भने,‘विकासलाई गति दिने भनेको सार्वजनिक क्षेत्र र निजी क्षेत्रको सहकार्यले मात्रै सम्भव छ।’

दुई करोड २१ लख ७६ हजार लागतमा सुनकोशी कन्ट्रक्सनले स्वास्थ्य चौकी भवन निर्माण गरेको हो। भवन निर्माणको लागि आवश्यक जमिन स्थानीय हरिलाल कामती, धर्मदेव कामती र हितेन्द्र कामतीले आफ्ना स्वर्गीय बुवा आमाका नाममा दान गरेका थिए।

प्रथम मिर्चैया महोत्सवमा सिरहा जन्म स्थान भई विभिन्न क्षेत्रमा प्रगति गरेका व्यक्तिहरुलाई अध्यक्ष दाहालको हातबाट सम्मान पनि गरिएको छ। सम्मानित हुनेहरुमा उद्योगपति तथा पूर्व गैर आवासीय संघका अध्यक्ष डा. उपेन्द्र महतो, कृषि वैज्ञानिक बैजनाथ महतो, नेपाल प्रहरीका पूर्व महानिरीक्षक उपेन्द्रकान्त आर्यालय, उद्योगपति पशुपति मुरारकका लगायत रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.