पाइलट गुरुङको स्मृतिमा परिवारद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना
बाजुरा : २०७४ जेठ १६ गते बाजुराको कोल्टीमा विमान दुर्घटनामा परी मृत्यु भएका पाइलट महासेनानी कैलाश गुरुङको सम्झनामा अक्षय कोष स्थापना गरिएको छ ।
बुढीनन्दा नगरपालिका–२ मा रहेको बुढीनन्दा आधारभुत विद्यालयलाई स्वर्गीय महासेनानी कैलाश गुरुङको परिवारले १ लाख ५० हजारको छात्रबृत्ति अक्षयकोष स्थापना गरेका छन् ।
अक्षय कोषको नाम ‘पाइलट महासेनानी कैलाश गुरुङ स्मृति छात्रबृति अक्षयकोष’ राखिएको छ । कोष स्थापनाका लागि उनकी श्रीमती सेनानी सावित्रीरत्न गुरुङले मंगलबार बुढिनन्दा आधारभुत विद्यालयको खातामा सो रकम जम्मा गरेको विद्यालयका प्रधानाध्यापक बृजन शाहीले बताए ।
गत जेठमा गुरुङको वार्षिक कर्म गर्न आएका समयमा सेनानी सावित्रीरत्न गुरुङले छात्रबृत्ति दिनका लागि आफूले सहयोग गर्ने बाचा गरे अनुसार सो रकम विद्यालयको नाममा पठाएको प्रधानाध्यापक शाहीले बताए । बुढीनन्दा आधारभुत विद्यालयमा अध्ययनरत असहाय, गरिब र जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग गर्न सो छात्रबृत्ति अक्षयकोषबाट प्राप्त रकमको प्रयोग गरिने विद्यालयका प्रधानाध्यापक शाहीले बताए ।