मन तान्दै मल
डेढ-दुई दशकअघि नै विकसित मुलुकहरूमा स्थापित भइसकेको मल सपिङ कल्चर पछिल्ला वर्षमा नेपालका ठूला सहरहरूमा पनि भित्रिएको छ। काठमाडौंको मुख्य व्यापारिक स्थल असन, न्युरोडका सटरमा सपिङ गर्ने आम ग्राहक अचेल ठूला मलमा सपिङ गर्न थालेका छन्। सबै उमेरसमूहले मलमा सपिङ गर्न रुचाए पनि विशेषतः युवा पुस्ताको रोजाइमा ठूला व्यापारिक केन्द्र पर्ने गरेका छन्। विदेशी ठूला बजारमा पाइने सामान नेपालकै यस्ता मलमा पाउन थालेपछि विदेशबाट सामान किनेर ल्याउनुपर्ने झन्झट कम भएको छ।
सुपरमार्केट तथा मलहरूमा देखिएको भीडले सहरियाहरूको जीवनशैलीलाई परिवर्तन गरिदिएको छ। राजधानीवासीका लागि केही वर्षअघिसम्म मल र डिपार्टमेन्टल स्टोरमा सपिङ गर्नु फेसन थियो भने अहिले यो कल्चरको रूपमा विकसित हुँदै गएको छ।
दशकअघिसम्म बजारलाई वस्तुको विशेषताका आधारमा छुट्ट्याइन्थ्यो। जस्तो– फलफूल र तरकारीका लागि कालिमाटी, कपडा र इलेक्ट्रोनिक्स सामानका लागि न्युरोड, फुड आइटमका लागि असन, लत्ताकपडाका लागि इन्द्रचोक आदि। धेरै सपिङ गर्नुपर्दा पूरा दिन खर्चिनुपथ्र्यो। सम्पूर्ण सामान एकै छानामुनि पाइने सपिङ महलको अवधारणा आएपछि अब सपिङ लिस्ट बोकेर यताउता भौंतारिनुपर्ने अवस्था रहेन। नुनदेखि सुनसम्म पाइने मलको सपिङले युवायुवतीको सपिङ ट्रेन्ड नै बदलिएको छ।
पछिल्लो समयमा सामान महँगो हुन्छ र यो मध्यमवर्गको पहुँचमा नभएको बुझाइ थियो। तर, पछिल्लो समय मलको मूल्य र बाहिर तुलना गर्दा खासै अन्तर नभएपछि सबैको गन्तव्य सपिङ मल बनेका छन्। ठूलो परिमाणमा अर्थात् धेरै मूल्यको सामान किन्दा बढी डिस्काउन्ट पाइने मल सञ्चालकहरू बताउँछन्। बढ्दो प्रतिस्पर्धाका कारण पनि मूल्यमा धेरै असमानता नभएको उनीहरूको भनाइ छ। मलमा सपिङ गर्ने फेसनलाई कल्चरमा रूपान्तरण गर्ने मुख्य श्रेय अघिल्ला समय खुलेका ब्लुबर्ड र भाटभटेनीलाई जान्छ।
सपिङ मलमा मल्टिप्लेक्स सिनेमा हल, गेमिङ जोन, किड जोन, फुड कोर्ट आदि हुनु सामान्य भइसक्यो। अझ कतिपयमा त स्विमिङ पुल, फिटनेस सेन्टर, स्पालगायतको सुविधा पनि उपलब्ध छ। परिवारसहित गएर सपिङ गर्ने, फिल्म हेर्ने र खाना खाने प्रचलन बढ्दो छ। मलमा सपिङ गर्दा क्यास बोक्नु नपर्ने भएकाले पनि सानोतिनो सपिङका लागि समेत डिपार्टमेन्ट स्टोर तथा मल छिर्ने प्रचलन बढेको हो।
१० वर्षअघि काठमाडौंको मुटु कमलादीमा ‘सिटी सेन्टर- खुल्दा ग्राहकहरूको पहिलो आकर्षणको केन्द्र बनेको थियो। पछिल्ला वर्षमा काठमाडौंका अन्य स्थानमा ठूला मल खुले पनि अझैसम्म सिटी सेन्टरको रोजाइ उस्तै छ। सेन्ट्रल कुलिङ सिस्टम भएको सुरुका दिनमा मासिक करिब दुई लाख ग्राहक भित्र्याउने गरेकोमा हाल ग्राहक बढेर मासिक तीन लाख नाघेको छ। मलमा मासिक करिब ६÷७ करोडको सामान बिक्री हुने सञ्चालकको भनाइ छ।
सेन्टरमा ब्रान्डेड सामान पाइनुका साथै प्रायः सोरुममा फिक्स प्राइस हुनाले पनि मलमा युवा पुस्तामा पनि विशेष गरी टिनेजरको आकर्षण बढेको सेन्टरका प्रबन्धक दीपेन्द्र श्रेष्ठले बताए।
सेन्टरमा आफूलाई आवश्यक पर्ने उच्च गुणस्तरको ड्रेसदेखि जुत्ता, कस्मेटिक, विभिन्न बहुमूल्य गहना तथा अन्य सामान एकै स्थानमा किन्न पाइन्छ। अन्तर्राष्ट्रिय बजारमा चलेका लोकप्रिय ब्रान्डदेखि घरेलु बजारमा उत्पादित सामान एउटै छानामुनि पाइने भएकाले पनि आकर्षण बढेको हो-, उनले भने, ‘ सेन्टरमा सबै किसिमका ब्रान्डेड सामान उचित मूल्यमा पाइन्छ।- पार्किङको राम्रो सुविधा छ। विभिन्न इभेन्टहरू भइरहन्छन्। झन्डै एक सयवटा सोरुम, फिल्म हल, फुडकोर्टका कारण महलमा भोक लाग्दा खाने सुविधाका साथै मनोरञ्जन र किनमेल एकसाथ गर्न पाइन्छ। ‘विभिन्न समयमा लाग्ने सेल र अफरले पनि ग्राहकको मन जित्न सफल भएका छौं-, श्रेष्ठले भने।
पछिल्लो समय बजारमा प्रतिस्पर्धा बढे पनि सिटी सेन्टरको साननै अर्कै छ। ग्राहक दिनप्रतिदिन बढ्दै छन्। ग्राहकको आकर्षणलाई ध्यानमा राखेर सेन्टरले एक डेढ महिनाभित्र जिम क्लब पनि सञ्चालन गर्दैछ। बिहान ४ बजेदेखि राति ११ बजेसम्म क्लब सञ्चालन गर्ने कार्यतालिका सेन्टरले बनाएको छ।
नजिकिएको प्रणय दिवस (भ्यालेनटाइन डे) का लागि टिनेजरहरू गिफ्ट, चकलेट तथा अन्य सामान किन्न सिटी सेन्टर आउने गर्छन् र यहाँ भएको सिनेमा हलमा सिनेमा हेरेर फर्कने छन्। सेन्टरले फेब्रुअरी १ देखि १४ तारिखसम्म विशेष अफर ल्याएको छ। सिटी सेन्टरमा सामान किन्ने ग्राहकको गोलप्रथा गरेर पोखरामा तीन रात र दुई दिन बसाइको प्याकेजसमेत सार्वजनिक गरेको छ। साथै प्रणय दिवसलाई लक्षित गरेर विशेष कार्यकमको आयोजनासमेत हुने भएको छ।
फेरिँदो जीवनशैली, छोटो समयमै परिवर्तन हुने ग्राहकको रोजाइले पनि नयाँ र फेसनेबल ड्रेस र आफूले चाहेको जस्तो सामान त्यो पनि बिना बार्गेनिङ सहज पाइने भएकाले महलमा सपिङ गर्न आनन्द आउने चाबहिलकी दीक्षा थापाले बताइन्। ‘सपिङ गर्नका लागि सिटी सेन्टर नै आउने गरेकी थापाले भनिन् ‘यहाँ कलेक्सन र ब्रान्डेड दुवै सामान पाइन्छ, आफ्नो रोजाइअनुसार छानीछानी विदेशी बजारमा चलेका कपडा किन्न आएको हुँ।-
१५ वर्षअघि स्थापना भएको दरबारमार्गस्थित राइजिङ मलमा अहिले पनि ग्राहकको भीडभाड उस्तै छ। मलमा दैनिक पाँच सयभन्दा बढी ग्राहक आउँछन्। ब्रान्ड बुझेका हाम्रा रेगुलर ग्राहक छन्-, महलका प्रबन्धक दीपक अधिकारीले भने ‘विशेषगरी ‘टिनेज- आकर्षण बढी छ।- राइजिङ महलले २० वटाभन्दा बढी सोरुमका लागि भाडामा लगाएको छ। विभिन्न देशमा उत्पादन भएका ब्रान्डेड सामान एक्कै स्थानमा पाइने भएकोले महल युवा पुस्तामा पनि टिनेजको छनोटमा परेको हो।-
कार्यालय सकिएपछि र रेस्टुराँ गएर फर्कंदासमेत सपिङ गर्न मलमा जाने गरेको क्षेत्रपाटीका रविन शाक्यले बताए। शिक्षण पेसामा कार्यरत शाक्य परिवारले पहिला ब्रान्डेड सामान किन्न थापाथलीस्थित ब्लुबर्ड पुग्ने पुग्थे रे। भन्छन्, ‘अहिले जतातजै ठूला मल, डिपार्टमेन्ट स्टोर खुलेका छन्- यद्यपि मेरो गन्तव्य मल नै हुन्।
प्लस टु पढ्दै गरेको छोरालाई देखाउँदै उनले भने ‘छोरा सजन आफूलाई मन लागेको ड्रेस किन्न साथीहरूसँग मलमा आउने गरेको छ।- ‘यहाँ ग्रोसरीका सामानदेखि अन्य ब्रान्डेड ग्रामेन्ट कपडा, जुत्ता, अन्य साजसज्जाका सामान तथा सिनेमा हलसमेत भएकोले पनि मल सपिङका लागि सहज र उपयुक्त छ।-
बजारमा ब्रान्डेड नयाँ के आएको छ, त्यो सपिङ मलमा गए पछि थाहा हुने लाजिम्पार्टका रुकेश थापाले बताए। साथीहरूले लगाएको कुनै ड्रेस राम्रो लाग्यो तथा मन पर्यो भने सोधिहाल्ने चलन छ कुन सपिङ महलमा किनेको ? उत्तर आएको महल गएर अझ बढी फेसनेबल कपडा किन्ने गरेको थापाले सुनाए। शनिबार साँझ विश्वज्योति महलमा भेटिएका थापाले यहाँ भएको सोरुममा आफूले छानीछानी सामान किन्ने गरेको सुनाए। उनी मात्र होइन उनकी पे्रमिका सम्पदासमेत सामान किन्न यही आउने गर्छिन्-, उनले भने ‘प्रणय दिवसको लागि स्मरणीय गिफ्ट किन्न यहाँ आएका छौं।-
यहाँ सामान खरिद गर्नका लागि मिक्स ग्राहक आउने गरेको विश्वज्योति मलमा म्यानेजिङ डाइरेक्टर रिवाज सिंहले बताए। ‘मलमा बच्चादेखि जुनसुकै उमेरसमूहका फेसनेवल र कलेक्सन दुवै ड्रेस कपाइन्छ-, उनले भने ‘सपिङ गर्न धाएर जानु पर्दैन। कार्यालयबाट घर फर्कंदा होस् सपिङकै लागि आए पनि सार्वजनिक यातायातबाटै सहजै महलमा आउन सकिन्छ। ‘अन्य ठाउँमा भन्दा सस्तो र गुणस्तरीय स्वदेशी विदेशी ब्रान्डेड सामान पाउने भएकाले आम उपभोक्ताको रोजाइमा विश्वज्योति महल परेको हो।-
धेरैजसो ग्राहकले लोकल ब्रान्ड मन पराउने गरेको उनले सुनाए। पहिलाको एक नम्बर सिनेमा हल रहेको यस महलमा सामान्य समयमा दैनिक एक सयभन्दा बढी ग्राहक आउने गर्छन् भने अन्य चाडपर्वमा दैनिक पाँच सयसम्म ग्राहक आउने गरेको उनले सुनाए। युवायुवतीले विदेशी ब्रान्डेड सामान बढी रुचाउने गरेको उनको बुझाइ छ।
मलमा रहेको ३८ वटा सोरुमबाट प्रति सोरुम न्यूनतम १० हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्मको सामान बिक्री हुने गरेको छ। मलको माथि रेस्टुराँ र दुईवटा ब्युटिपार्लर छन्। यस मलबाट अनलाइनबाट पनि सामानहरू बिक्री हुने गरेको छ। स्थापनाको तीन वर्षमा बजारमा लोकप्रियता कमाएको यस मलमा गुुन्यूचोलोदेखि पार्टी वेयरका ड्रेससमेत पाउन सकिन्छ। ‘मल परिसरभित्र दुईवटा सिनेमा हल बन्दैछन्-, प्रबन्ध निर्देशक सिंहले भने, ‘सिनेमा हल निर्माणपछि हामी मलको ग्रान्ड ओपनिङ गर्छौं।-
चाबहिलकी सरिता लामिछानेलाई बिदाको दिन विभिन्न मल गएर घुम्न मनपर्छ। सामान्य पसलमा भीडभाड हुने, भीडभाडका कारण चोरी हुन सक्ने र पार्किङको पनि समस्या हुने भएको उनको मन मलमा गएको हो। ‘महलमा सपिङ गर्दा एक्कै स्थानमा तीनवटा फाइदा लिन सकिन्छ-, उनले भनिन् ‘मलाई सिटी सेन्टरमा छिरेपछि युरोपको कुनै सपिङ महलमा छिरेको जस्तै अनुभूति हुन्छ।- बिदाको दिन दिनभर साथीहरूसँग सेन्टरमै बस्छु। बिग सिनेमामा फोडी फिल्म हेर्छु, फुड कोडमा पिज्जा खान्छु, सपिङ गर्छु , फुल फ्रेस भएर घर फर्कन्छु।-
तीन वर्षअघि बालाजुमा स्थापना भएको बिजी मल विशेषत मोबाइल हर्बका रूपमा परिचित छ। यहाँ आयोजना हुने विभिन्न इभेन्टमध्ये मोबाइल मेला बढी लोकप्रिय छ। दैनिक तीन हजार पाँच सयदेखि चार हजारसम्म ग्राहक पुग्ने यस स्टोरमा फेन्सी आइटम, खेलकुद, कस्मेटिकालगायतका सामान पाइने बिजी मलका प्रबन्धक प्रेम शर्माले बताए।
बालाजु बसपार्क नजिक भएकाले मलमा भीआईपीदेखि विदेश जाने र अन्य सर्वसाधारण आउँछन्-, उनले भने ‘सुरुका वर्षमा कम ग्राहक भए पनि मलमा सिनेमा हल बनेपछि ह्वात्तै ग्राहक बढेको छ।- मल चल्न सिनेमा हल अनिवार्य जस्तै भइसक्यो।- मल अझै इभेन्ट बढाउने तयारी छ।
बच्चादेखि हरेक पुस्ताको आकर्षणको केन्द्र बनेको केएल टावरमा दैनिक तीन हजारभन्दा बढी ग्राहक पुग्छन्। यहाँ दिनहुँ विभिन्न इभेन्ट भइरहने भएकाले पनि युवा पुस्ताको मन तान्न सफल भएको टावरका कार्यकारी निर्देशक हीरामणि तिमल्सिनाले बताए। त्यसै पनि चाबहिल भीडभाडको क्षेत्र भएकाले मनोरञ्जन लिएर सपिङ गर्न पाइन भएकाले पनि यसमा आकर्षण बढेको हो। ‘मलमा ४५ वटा आउटलेट हुनाका साथै तीनवटा सिनेमा हल छ।-
मलमा प्रणय दिवसका लागि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ भने एक हजारभन्दा बढीको सामान किन्दा गिफ्ट ह्याम्पर तथा भौचरको व्यवस्था समेत गरिएको छ।
सपिङ महलभित्र छिर्दा जताततै झिलिमिली बत्ती, सबै ब्रान्डेड कपडा, नयाँनयाँ मोडलका मोबाइल, कम्प्युटर, ल्यापटप देखेर जो कोहीको पनि मन खुसी हुन्छ। ती ब्रान्डेड र नयाँ मोडलको सामान किन्ने हैसियत हुनेमात्रै मलमा सामान किन्न पस्ने हुन्।
अहिले काठमाडौंमा दर्जनभन्दा बढी सपिङ मल छन् भने थुप्रै बन्ने क्रममा छन्। बढ्दो व्यापारीकरणसँगै काठमाडौंलगायतका मुख्य सहरमा अहिले सपिङ मलको क्रेज छ। लगानीकर्ताको आकर्षण पनि यसमै बढेको छ।
नेपालको इतिहासमा डिपार्टमेन्टल स्टोरको कल्चर साढे दुई दशकभन्दा लामो छ। पहिलोपटक राजधानीमा विदेशी स्टाइलको ब्लुबर्ड सुपरमार्केट खुलेको थियो। तत्कालीन ब्लुस्टार होटेल परिसरमा एउटा स्टोरका रूपमा त्यो सुरु भएको थियो। त्यसपछि पुल्चोकमा नमस्ते सुपरमार्केट खुल्यो। ब्रान्ड लोयल्टीप्रति सचेत हुन थालेका नेपाली उपभोक्तामा बहुर्राष्ट्रिय उत्पादनको बानी लागेपछि सबै ब्रान्ड एकै छानामुनि उपलब्ध हुने सुपर मार्केट खुल्ने क्रम तीव्र हुन पुग्यो। महिनामा करोडौंको कारोबार गर्ने यस्ता महलमा यतिबेला मनग्य ब्यापार बढेको छ।
अझ कुनै चाडपर्वमा त महलमा हुने इभेन्टका कारण खुट्टा हाल्ने ठाउँसमेत नहुने मल सञ्चालकहरू बताउँछन्।