कपडा र सुनमा आकर्षण

कपडा र सुनमा आकर्षण

कलंकीका राधेश्याम अधिकारी हरेक वर्षको भ्यालेन्टाइन डेको दिन आफ्नी प्रेमिकाका लागि नयाँ कपडा उपहार दिने गर्छन्। उनी हरेक वर्षजस्तो कुनै न कुनै खालका लुगा आफ्नी प्रेमिकालाई गिफ्ट दिने गरेको बताउँछन्। भन्छन्, ‘म प्रायजसो सिटी सेन्टरमा प्रेमिकासँगै गएर कपडा किन्ने गर्छु-, उनी हरेक वर्ष प्रेमिकालाई कपडा नै उपहार दिने गरेको बताउँछन्। ‘उनी कपडा छान्छिन्, म पैसा तिर्छु, कहिलेकाहीँ प्रेमिकाले मलाई पनि कपडा उपहार दिने गर्छिन्-, उनले भने।

रत्न राज्यलक्ष्मी क्याम्पसमा पढ्दै गर्दा उनको चितवनकी साथीसँग प्रेम बसेको हो। पाँच वर्षअघि प्रेम बसेको र अब छिट्टै बिहे गर्ने तयारीमा रहेको उनी सुनाउँछन्। ‘सुरुका वर्षदेखि मैले गुलाफसँगै कपडा नै उपहार दिने गरेको छु-, उनले भने। सिटी सेन्टरमा भेटिएका अधिकारी र उनकी प्रेमिकाले वैशाखमा बिहेबन्धनमा बाँधिने तयारी भएको बताए। उनले खासगरी काठमाडौंका सपिङ मलमै कपडा किन्ने गरेका छन्।

लैनचौरकी शान्ति डाँगीले आफ्ना श्रीमान्का लागि हरेक वर्ष सर्ट, पाइन्टलगायतका विभिन्न लुगाफाटा किनिदिने गरेको सुनाउँछिन्। ‘मेरो श्रीमान् खासै सपिङमा जान मन पराउनुहुन्न-, उनले भनिन्,‘सधैं म नै सपिङ गर्छु।- उनले भ्यालेन्टाइन डेको अवसरमा श्रीमान्लाई एक सेट लुगा उपहार दिने गरेको सुनाइन्। जमलको विश्वज्योति मलमा भेटिएकी शान्तिले हरेक वर्षको भ्यालेन्टाइन डेकै अवसरमा  श्रीमान्लाई मन पर्ने लुगा किनिदिने गरेको बताइन्। ‘अरूबेला भन्दा भ्यालेन्टाइन डेको अवसरमा किनिदिएको लुगामा श्रीमान्ले बढी रुचि देखाउनुहुन्छ। बिहेपश्चात् मैले सधैंजसो नै मलबाट कपडा किनिदिने गरेको छु।-

बसपार्कस्थित बिजी मलमा भेटिएकी निकिता मैनाली आफ्ना प्रेमीका लागि लुगाफाटा किन्दै थिइन्। भन्छिन्, ‘अचेल फुटपाथमा पनि राम्राराम्रा लुगा देखिन्छन् तर मैले सधैंजसो बिजी मलबाटै कपडा खरिद गर्ने गरेको छु।- गुणस्तरीय सामानका लागि सपिङ मल नै उत्तम हुने उनको बुझाइ छ।

युवायुवतीका लागि भ्यालेन्टाइनड पर्वकै रूपमा चित्रित छ। श्रीमान् श्रीमतीको भन्दा पनि प्रेमी, प्रेमिका यस दिनलाई उत्सवकै रूपमा लिन्छन्। तर केही विवाहित जोडीले पनि भ्यालेन्डाइन डेलाई विशेष पर्वको रूपमा लिने गरेका छन्। उनीहरूले विभिन्न सपिङ मलमा गएर आफ्ना प्रियसीका लागि कपडा किनिदिने गरेका छन्।

पछिल्ला केही वर्षयता भ्यालेन्टाइन डेका अवसरमा सपिङ मलमा भीडभाड लाग्ने गरेको छ। अरू बेला आफ्नो अनुकूलअनुसार कपडा किन्ने गरे पनि यस अवसरमा   श्रीमान्ले  श्रीमतीलाई मन पर्ने लुगा र  श्रीमतीले श्रीमान्लाई मन पर्ने लुगा किनिदिने गरेका छन्। प्रेमीप्रेमिकाले पनि सँगै सपिङ मल गएर आफ्नो पाटर्नरलाई मन पर्ने लुगाफाटा किनिदिने चलन हरेक वर्ष बढ्दै गएको छ।

नयाँ बानेश्वरकी संगीता न्यौपाने भ्यालेन्टाइन डेको गिफ्टका लागि चाबहिलको केयल टावर पुगेकी थिइन्। सपिङ मलमा नुनदेखि सुनसम्म पाइने भएकाले उनी सधैंजसो सपिङ मलमा जाने गरेको बताउँछिन्। प्रेमीसँग भेटिएकी न्यौपाने भन्छिन्, ‘यहाँ फिल्म पनि हेरौं, भ्यालेन्टाइन डेका लागि सपिङ पनि गरौं।- सपिङ मलमा सबै चिज पाइने भएकाले उनी प्रायःजसो सपिङ मलमा जाने सिनेमा हेर्ने र एकअर्कालाई मन पर्ने लुगाफाटा किन्ने गरेको सुनाइन्। उनीहरू सात वर्षदेखि प्रेमसम्बन्धमा बाँधिएको सुनाए। ‘हाम्रो सम्बन्ध जोडिएसँगै कपडा उपहार दिन थालेका हौं।

सधैंजसो फुटपाथबाट कपडा किन्दै आएकी धादिङकी सपना रिजाल पछिल्लो समयमा सपिङ मलमा कपडा किन्न थालेको बताउँछिन्। फुटपाथमा राम्रा र गुणस्तरीय कपडा नहुने भएकाले उनी विभिन्न सपिङ मलमा गएर कपडा किन्ने गरेको बताइन्। उनले भ्यालेन्टाइन डेकै अवसरमा तीनदेखि चार हजारसम्म खर्च गरेर कपडा किन्ने गरेको सुनाउँछिन्।

भ्यालेन्टाइन डेका अवसरमा विभिन्न सपिङ मलमा प्रायःजसो जोडीको भीडभाड देखिन्छ। सिटी सेन्टर, केयल टावर, बिजी मल, विश्वज्योति मललगायत दर्जनौं मलमा माघमहिना सुरु भएदेखि नै आफ्ना मन पर्ने मान्छेका लागि मन पर्ने लुगाफाटा किन्ने गरेको देख्न पाइन्छ। मलमा उच्च धनाढ्यदेखि मध्यम वर्गका मान्छेहरू आउने गरेको व्यवसायी बताउँछन्। भ्यालेन्टाइन डे लक्षित गरी सपिङ मलका व्यापारीले नयाँ डिजाइनका कपडा राख्ने गरेका छन्। मलका व्यापारीले ग्राहकको चाहनाअनुरूप नयाँ फेसनका कपडा ल्याउने गरेको बताउँछन्। ‘ग्राहकले रोजीरोजी कपडा लैजान सक्छन्-, सिटी सेन्टरकी व्यापारी शिवानी शाह भन्छिन्। उनका अनुसार पछिल्लो समयमा भ्यालेन्टाइन डेका अवसरमा कपडाको खपत बढेको छ।

कुनै समयमा अधिकांशले न्युरोड क्षेत्रबाट आफूलाई चाहिने कपडालगायत सामान किन्ने गर्थे। तर अचेल समय फेरिएको छ। अधिकांशको रोजाइ सपिङ मल नै हुने गरेको छ। सपिङ मलमा आफूलाई चाहेको जुनसुकै सामान किन्न पाइने, सिनेमा हेर्न पाइने, भोक लागेको बेला खान पाइनेलगायत नुनदेखि सुन पाइने भएकाले अधिकांशको रोजाइ सपिङ मल हुने गरेको छ।

अचेल सपिङ मलमा सुन किन्नेको जमात पनि बढ्दै गएको छ। कुनै समय न्युरोड एवम् विशालबजार आसपासमा सुन किन्ने ग्राहक पछिल्लो समयमा सपिङ मल धाउन थालेका छन्। आफूलाई पायक पर्ने सपिङ मलबाट आफूलाई चाहिने सुन खरिद गर्न थालेको उनीहरू सुनाउँछन्। केयल टावरमा भेटिएका निकेश गौतम बिहेका लागि सुन खरिद गर्दै थिए। भन्छन्, ‘बाहिरका पसलभन्दा सपिङ पसलबाट खरिद गर्दा भरपर्दो र विश्वासिलो हुन्छ।- उनले बिहेका लागि पाँच तोला सुन किन्न लागेको बताए। ‘गरगहनाबिना बिहे अधुरो हुन्छ-, ‘उनले भने, ‘बिहेमा बढी सुन किन्दापछि आफैंलाई काम लाग्छ।-

विश्वज्योति मलमा भेटिएका रामप्रसाद राईले बिहेका लागि १० तोला सुन खरिद गर्न लागेको बताए। ‘फागुनमै हुने बिहेका लागि सुन किन्न आएको हुँ-, उनले भने। उनले बिहे धुमधामका साथ गर्ने तयारी गरेका छन्। ‘महिलाका लागि गहना अत्यावश्यकजस्तै छ-, उनले भने, ‘गहना किन्दा पछिसम्म काम लाग्छ।-

बिहेका लागि सुन अनिवार्य मानिन्छ। बिहेमा गहना नगलाउने कमै भेटिन्छन्। सपिङ मलमा सुन किन्न गएको बेला अरू काम पनि बन्ने भएकाले धेरैको रोजाइ सपिङ मल हुने गरेको हो। कतिले गरगहनालाई सोखको रूपमा पनि लिने गरेका छन्। मैतीदेवीका विनोद थापा हरेक वर्षजस्तो गहना किन्छन्। ‘मलाई गहना लगाउन मनपर्छ, त्यसकारण हरेक वर्ष नयाँनयाँ गहना लगाउने गर्छु।-

भ्यालेन्टाइन डे र बिहेको सिजनमा ग्राहकले सपिङ मलबाट कपडा र सुन किन्ने गरेका छन्। अचेल राजधानीमा खुलेका सपिङ मलले ग्राहकका आवश्यकता पूरा गर्दै आएका छन्। एउटै भवनबाट आवश्यक सबै सामान पाइने भएकाले ग्राहकको रोजाइ सपिङ मल हुने गरेको हो। पछिल्लो समयमा राजधानीमा दर्जनौं सपिङ मल सञ्चालनमा आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.