सांसद बिडारी भन्छन् : पार्टी र सरकारले भेनेजुएलाबारे बोलेर ठीक गरे
काठमाडौँ : राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका सांसद रामनारायण बिडारीले भेनेजुएलामा अमेरिकी हस्तक्षेप प्रकरणमा आफ्नो पार्टी र सरकारले बोल्नु ठीक भएको बताएका छन् ।
मंगलबार बिहान बसेको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै बिडारीले भेनेजुएला प्रकरणमा पार्टी र सरकारको बचाउ गरेका हुन् ।
'जनतालाई जानकारी दिनुपर्यो, भ्रममा राख्नु हुँदैन। जनतामा भ्रम पठाउने काम भएको छ। असलंग्न राष्ट्र नेपालले संसारका जुनकुनै देशमा शोषक र ठुलाले हस्तक्षेप गरे नेपालले बोल्छ र बोल्नुपर्छ', जनतालाई भ्रममा राख्नु बेठीक हुने जिकिर गर्दै बिडारीले भने, 'पार्टी अध्यक्ष र परराष्ट्र मन्त्रालयले भेनेजुएलाबारे सही बोलेका छन् । कुनै पनि देशको अन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्नुहुँदैन।'
सांसद बिडारीले भेनेजुएला अन्यायमा परेका बेला नेपालको सरकारकोसमेत नेतृत्व गरेको कम्युनिष्ट सरकारले बोल्नैपर्ने जिकिर गरे । 'जनताबाट निर्वाचित कुनै पनि मुलुकको सरकारविरुद्ध अन्याय हुँदा कम्युनिष्टहरु बोल्छन् तर अरु भने चुप बसेर दलाली गर्छन्', बिडारीले भने, 'तर कम्युनिष्टले भने त्यसको खबरदारी गर्छ।पार्टी र सरकारले आआफ्नो तरिकाले बोलेर सही गरेका छन् ।'
सरकारले दृष्टि गुमायो ?
राष्ट्रिय सभामा बोल्ने क्रममा सांसद बिडारीले त्रिभुवन राजपथको बिजोग अवस्थाबारे पनि प्रश्न उठाए । उनले जीर्ण भएको त्रिभुवन राजथतर्फ ध्यान नदिएकाले सरकारले दृष्टि गुमाएको हुन सक्ने भन्दै कटाक्ष गरे ।
'सरकार दृष्टिविहीन भयो भन्ने पीर लागिरहेको छ, दि दृष्टि नभएको भए उपचार गरौँ', उनले भने, 'वैकल्पिक भनिएको त्रिभुवन राजपथ अन्तर्गत नौबिसेबाट भैँसेसम्म खल्डैखल्डा मात्रै छन् । सरकारका मानिसलाई तलब मात्रै खाएर बस्न लाज लाग्दैन ?, तत्काल मर्मत गर्नुपर्यो ।'