रातु खोला दाेहन : क्रसर र ठेकेदारको पक्षमा बर्दिबास नगरपालिका
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिकाले रातु खोला उत्खननको विषयलाई खण्डन गरेको छ। सोमबार विज्ञप्ति सार्वजनिक गर्दै नगरपालिकाले सञ्चार माध्यममले भ्रम फैलाएको आरोप लगाएको हो।
नगरपालिकाले निकालेको विज्ञप्तिमा मिडियाले भ्रम फैलाउने काम गरेको आरोप लगाइएको हो। नगरपालिकाले विज्ञप्ति सार्वजनिक गरेको भोलिपल्ट रातु खोलामा पुग्दा भने दोहन नरोकिएको प्रष्ट देखिन्छ।
रातु खोलाको अबैध उत्खनन् रोक्न जनमानसबाट उठेको अवाजलाई सम्बोधन गर्नुको साटो बर्दिबास नगरपालिकाले चेतावनी दिँदै मिडियामाथि आक्षेप लगाएको हो।
नगरपालिकाका प्रवक्ता शम्शेर सिंह लामाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,‘रातु खोलाको उत्खननको विषयमा आम जनमानसमा भ्रमपूर्ण सन्देश प्रसार भइरहेको छ। पूर्वग्राही मानसिकताले ग्रसित त्यस्ता तथ्यहिन र बनावटी समाचारप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।’
नगरपालिकाले खोलाबाट अवैध उत्खनन् नभएको दाबी गरेको छ। असोज २८ गते १८ क्रसर उद्योगलाई गैरकानुनी उत्खनन् बन्द गर्न पत्र पठाइएको जानकारी गराएको नगरपालिकाले जिल्ला समन्वय समितिबाट प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन ९आइई० बाट स्वीकृत भएपछि मात्र ठेक्का सम्झौता भएको दाबी गरेको छ।
उता प्रदेश(२ सरकारले बनाएको बालुवा र गिट्टी उत्खनन् तथा क्रसर संचाल कार्यविधि विपरित रातु खोलाको उत्खनन् र त्यहाँ क्रसर संचालन भइरहेको छ।
सम्झौता अनुसार उत्खनन् नगरेको सन्दर्भमा ठेकेदारलाई लिखित तथा मौखिक निर्देशन समेत दिइएको छ। अवैध उत्खनन् रोक्न नगरपालिका सधै प्रतिबद्ध रहने विज्ञप्तिमा उल्लेख गरेको छ।
‘कसैले वा ठेकेदारले सम्झौता विपरित उत्खनन् गरेमा कारबाही गर्न नगरपालिका तयार छ,’ प्रवक्ता लामाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,‘सिंगो बर्दिबास नगरपालिकाललाई बदनाम गराउन र तथ्यलाई तोडमोड गर्दै जनतामा भ्रम छर्ने दुश्प्रयास नगर्न समेत सम्बन्धित सबैलाई सचेत गराइन्छ।’