इङ्ल्यान्डलाई विश्वकप जिताउने गोलरक्षक बंक्सको निधन : जो पेलेको प्रहार रोकेर चर्चाको शिखरमा पुगे
एजेन्सी
बैंक्सले सन् १९६३ देखि सन् १९७२ को बीचमा इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ७३ खेल खेलेका थिए। आफ्नो समयका विश्व चर्चित गोलरक्षक बैंक्सले विश्व फुटबल महासंघ (फिफा) बाट ६ पटक विश्वकै सर्वोत्कृष्ट गोलरक्षकको अवार्ड पनि पाएका थिए। सन् १९७० को विश्वकपमा ब्राजिलका महान खेलाडी पेलेले गरेको शक्तिशाली प्रहारलाई उत्कृष्ट बचाउ गरेपछि बैंक्सको चर्चा निकै चुलिएको थियो।
बैंक्सले इङ्लिस क्लब चेस्टरफिल्ड, लेस्टर सिटी, स्टोक सिटीलगायतका क्लबबाट लामो समय ब्यवसायिक फुटबल खेलेका थिए। सेफिल्डमा जन्मिएका गोलरक्षक बैंक्सले लेस्टर सिटी र स्टोकलाई लिग कपको उपाधि जिताउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
‘गोर्डनको निधन भएको समाचार सुनाउनु पर्दा हामी मर्माहत भएका छौं’, उनको परिवारका एक सदस्यले भनेका छन्, ‘अब उहाँ हामीमाझ हुनुहुन्न तर, उहाँका थुप्रै सुखद अनुभवहरु सँधै हाम्रो मानषपटलमा जिवित रहने छन्।’ उनको निधनको कारण भने समाचारमा खुलाइएको छैन।
इङ्ल्यान्डले सन् १९६६ को विश्वकप जित्दा टोलीमा रहेका अर्का चर्चित खेलाडी सर बबी चार्लटनले गोर्डनको निधनको समाचारले आफूलाई मर्माहत तुल्याएको बताएका छन्। ‘हामीले लामो समय सँगसँगै खेल्यौं। वास्तबमै गोर्डन अभूतपूर्व गोलरक्षक थिए। उनी इङ्ल्यान्डका सर्वकालीन महान गोलरक्षक हुन् भन्नेमा कुनै शंका छैन’, चार्लटनले भनेका छन्। चार्लटनले पनि गोर्डनले पेलेको प्रहारलाई उत्कृष्ट रुपमा बचाउ गरेको क्षम सम्झिएका छन्।
इङ्ल्यान्डले सन् १९६६ को विश्वकप जित्दा टोलीमा रहेका सदस्यमध्ये निधन हुने गोर्डन चौथो खेलाडी हुन्। गोर्डनभन्दा पहिले उक्त टोलीमा रहेका खेलाडी बबी मुर, रेय विल्सन र एलन बलको निधन भइसकेको छ।