मेची महाकाली यात्राको तयारीमा राप्रपा : शाकाहारी आहारदेखि साँझको आरतीसम्म
काठमाडौं : राप्रपाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अन्तर्गत हरेक दिन धार्मिक अनुष्ठान गरी यात्रा सुरु गर्ने र बेलुका आरती गरी समापन गर्ने भएको छ।
फागुन १५ देखि ३० गतेसम्म हुने यात्राको राप्रपा अध्यक्ष कमल थापाले ताप्लेजुङ सदरमुकाममा औपचारिक उद्घाटन गर्ने छन्।
ताप्लेजुङबाट पाँचथर, इलाम, झापा सहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुग्ने यात्रा कञ्चनपुरबाट फर्केर बुटवलबाट पाल्पा, स्याङ्जा, कास्की हुँदै फागुन २९ गते काठमाडौं उपत्यका प्रवेश गर्नेछ।
ताप्लेजुङबाट काठमाडौं सम्मको १५ दिने यात्राले २२६० किमि दुरीको यात्रा तय गर्ने छ। फागुन ३० गते राजधानीमा सभा गर्ने राप्रपाको तयारी छ।
यात्रा अवधिभर शाकाहारी भोजनको व्यवस्था गरिएको र यसबारे यात्रा पुग्ने जिल्लाका सम्बन्धित समितिलाई सर्कुलर समेत पठाइएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
यात्राको क्रममा हिन्दु, बौद्ध र किराँत धर्मलाई चिनाउने सजावटयुक्त मन्दिर तथा चैत्य बनाइने तथा राष्ट्रिय तथा धार्मिक गीत संगीत बजाइनेछ।
'विभिन्न नदी तथा कुण्डको पानी संकलन गर्ने र संकलन गरिएको जललाई काठमाडौंमा हुने कलश यात्रामा प्रयोग गरि पशुपतिनाथ मन्दिरमा अभिषेक गरिने' श्रेष्ठले बताए।
यात्राका क्रममा साना ठूला गरी १०० भन्दा बढी सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्ने तयारी छ।