बाजुरामा नियम विपरित ठेक्कापट्टा
बाजुरा : बाजुराका केही नगरपालिकामा स्थानीय जनप्रतिनिधिले ठेक्का योजनामा लापरवाही गरेको देखिएको छ । नियम मिचेरै ठेक्कापट्टा दिने गरेको खुलेको हो ।
गत पुस २२ गते बुढीनन्दा नगरपालिकाले नन्देश्वरी हुँदै साउनेगाउँसम्मको ५५ लाख रुपैयाँको सडक निमार्णका लागि ठेक्का आह्वान गर्याे । ५९ जनाले ठेक्का फारम लिएर टेन्डर हाले ।
अन्त्यमा सबै ठेकेदार मिलेर १५ प्रतिशत रकम बाँड्ने गरी एकजनालाई कामको जिम्मा लगाइयो । पुस महिनाकै २७ गते बेलडाँडा काफकोट–कुरु सडक आयोजनाका लागि ६५ लाख ६० हजार रुपैयाँको बोलपत्र आह्वान भयो ।
उक्त योजनाको लागि बुढीन्नदा नगरपालिकाले ५६ वटा फारम बिक्री गरेको थियो । जब ठेक्का खोल्ने समयमा नगरपालिकाले चारवटा मात्र सार्वजनिक गरेको देखायो । नगरपालिकाले चारवटै फारमलाई मूल्याङकनका लागि पनि पठायो तर, बाहिर बजारमा भने ठेकेदारहरुको हिसाव किताव पैसामा भयो ।
बोलपत्र आह्वान गरेको उक्त योजनाका लागि नगरपालिकाले बुढीन्नदा नगरपालिकाको कोल्टी बजारमै ठेकेदारद्वारा पैसा बाँडफाड गरेर योजना बाँडफाड हुने गरेको हो ।
नगरपालिकाले चार फर्मको ठेकेदारहरु मिलेर एकजनालाई ठेक्का दिने र ठेक्का पाउने ठेकेदारबाट केही प्रतिशत रकम बाँडेर खाने परिपाटी देखिएको छ ।