जिल्ला अस्पतालमा डाक्टर अभाव

जिल्ला अस्पतालमा डाक्टर अभाव

रुकुम पश्चिम : जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा बिरामीको उपचारमा समस्या भएको छ। दरबन्दीअनुसार डाक्टरको पदपूर्ति हुन नसक्दा एक जना मेडिकल अधिकृतले मात्र बिरामीको स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यता छ।

०४५ सालमा स्थापित १५ शय्याको अस्पतालमा ३७ शय्याको सेवा प्रवाह भइरहेको छ। ३० वर्षअघिकै १५ शय्याका लागि स्वीकृत दरबन्दीले नै सेवा दिनुपर्ने बाध्यता छ। अस्पतालमा नवौं तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी भए पनि लामो समयदेखि निमित्तकै भरमा अस्पतालको सेवा सञ्चालन भइरहेको हो।

अस्पतालमा मेसु एक र अन्य डाक्टर तीन गरी जम्मा चार जना डाक्टरको दरबन्दी छ। तर, अस्पतालमा एक जना डाक्टरले मात्र बिरामीको स्वास्थ्य परीक्षणसँगै प्रशासनिक कामसमेत हेर्दै आएका छन्। हरेक दिन एक सय ५० देखि दुई सय संख्यामा बिरामीको चाप हुने गरेको छ। मेडिकल अधिकृत सुशील पोखरेलले प्रशासनिक कामका साथै बिरामीको स्वास्थ्य परीक्षण एक्लैले गर्नुपर्दा अस्पतालबाट प्रवाह हुने सेवा प्रभावकारी हुन नसकेको बताए। जसले गर्दा बिरामीको ज्यानसमेत जोखिममा परेको छ। यसअघि चार जना डाक्टरले सेवा दिँदै आएका थिए। दुई जना डाक्टरको करार अवधि सकिएर गएको र एक जना डाक्टर रविन थामीको सरुवा भएको तथा अर्का डा. आलोक महतो तालिममा गएको अस्पतालको सबै भार आफूमाथि परेको निमित्त प्रमुख डाक्टर पोखरेलले गुनासो गरे।

अस्पतालको बहिरंग सेवा, अन्तरंग सेवा, २४ सै घण्टा इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवाका साथै जटिल प्रकारको प्रसूति सेवा (सीएस) समेत आफू एक्लैले गर्दा भ्याइनभ्याई हुने गरेको पोखरेलको भनाइ छ। ‘२४ सै घण्टा एक्लै खटेर सेवा दिनुपर्दा सेवा प्रभाकारी हुन सकिरहेको छैन’, उनले भने, ‘नवौं तहको मेसु नहुँदा प्रशासनको कामसमेत आफैंले गर्नुपरेको छ।’ एक्लैले लगातार काम गर्दा बिरामीको राम्रो हेरचाह गर्न नपाएको र बिरामीको गुनासोसेमत बढिरहेको उनले बताए। अस्पतालमा उपलब्ध जनशक्ति बिरामीको चापका आधारमा अपुग भएको विषयमा सरोकारवाला जानकार भए पनि कसैले चासो नदिएको अस्पताल प्रशासनले जनाएको छ। कर्णाली प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयमा जनशक्ति अभावबारे अवगत गराउँदै डाक्टरको माग गरी पठाए पनि कुनै जवाफ नआएको अस्पताल प्रशासन शाखा प्रमुख ईश्वर रावलले जानकारी दिए।

एक जना मात्रै डाक्टर हुँदा सेवा लिन आफूहरूले घण्टौं कुर्नुपरेकोे सेवाग्राहीको गुनासो छ। यस अस्पतालबाट सेवा लिन रुकुम पश्चिम तथा पूर्वका साथै रोल्पा, सल्यान र जाजरकोटदेखि बिरामी आउने गरेका छन्। तीन दशकअघिको जनसंख्या र बिरामीको चापलाई ध्यानमा राखेर १५ शय्याबाट सेवा सुरु गरेको जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा सीमित भौतिक संरचनाबाट ३७ शय्या सञ्चालन गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.