पीएसजीसँग घरमै हार्यो म्यानचेस्टर युनाइटेड
लन्डन : युरोपियन फुटबलको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता ‘च्याम्पियन्स लिग’ को बुधबार बिहान खेलिएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) र इटालीको एएस रोमाले महत्वपूर्ण जित हात पारेका छन्। प्रिक्वार्टरफाइनलको पहिलो लेग खेलमा पीएसजीले बलियो इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा २-० गोलले हरायो। एएस रोमाले भने घरेलु मैदानको फाइदा उठाउँदै पोर्चुगिज क्लब एफसी पोर्टोमाथि २-१ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो।
घरेलु मैदान ओल्ड ट्राफोर्डमै पीएसजीसँग हारेपछि म्यानचेस्टर युनाइटेडको क्वार्टरफाइनल सम्भावना पनि कमजोर बनेको छ। अब प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेल आगामी मार्च ६ तारिखमा पीएसजीको घरेलु मैदानमा खेलिने छ। घाइते भएका कारण आफ्ना प्रभावशाली ब्राजिलियन खेलाडी नेमार बिना नै मैदानमा ओर्लिएको पीएसजीका लागि आठ मिनेटको बीचमा प्रेसनल किमपेम्बे र केलियन एमबाप्पेले एक/एक गोलको योगदान गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५३ औं मिनेटमा किमपेम्बेले फ्रान्सेली लिग च्याम्पियन पीएसजीका लागि पहिलो गोल गरे। ६० औं मिनेटमा एमबाप्पेले अर्को गोल थप्दै भ्रमणकारी टोलीलाई पीएसजीलाई सजिलो जित दिलाए।
निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि म्यानचेस्टर युनाइटेडका अनुभवी खेलाडी पल पोग्बा लगातार दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। त्यसअघि उनले खेल सुरु भएको २६ औं मिनेटमै पहिलो कार्ड पाएका थिए।
प्रशिक्षक सोल्सकरले आफ्ना खेलाडीले स्वभाविक खेल प्रदर्शन गर्न नसक्दा पराजय भोग्नु परेको प्रतिक्रिया दिए। उनले टोलीको अगाडि बढ्ने सम्भावना अझै कायम रहेको धारणा पनि वयक्त गरे। ‘अबको यात्रा हाम्रा लागि निकै कठिन छ तर, सबै सम्भावना भने अझै समाप्त भइसकेको छैन’, उनले भनेका छन्।
यसैगरी पीएसजीका प्रशिक्षक थोमस टुचेलले पहिलो हाफमा आफ्ना खेलाडीले गोल गर्ने थुप्रै गतिला अवसरलाई खेर फाले पनि दोस्रो हाफमा खेलाडी लयमा फर्किएको बताए। ‘हामीले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसर खेर फाल्यौं। दोस्रो हाफको सशक्त प्रदर्शनले नै हामीलाई बलियो प्रतिद्वन्द्वीविरुद्ध जित दिलायो’, उनले भने। उनले आफ्नो टोली जितको हकदार भएको धारणा पनि व्यक्त गरे।
अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको नेतृत्वमा १२ खेल खेलेको म्यानचेस्टर युनाइटेडले भोगेको यो पहिलो पराजय हो। उनको प्रशिक्षकत्वमा खेलेको १२ मध्ये १० खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको थियो।
युरोपियन प्रतियोगितामा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा भोगेको यो सबैभन्दा ठूलो अन्तरको हारसमेत हो। पीएसजी भने कुनै पनि युरोपियन प्रतियोगितामा म्यान युनाइटेडलाई उसैको घरेलु मैदानमा हराउने पहिलो फ्रान्सेली क्लब बनेको छ। यसअघि ओल्ड ट्राफोर्डमा खेलिएका १४ मध्ये १० खेलमा फ्रान्सेली क्लब पराजित भएका थिए भने चार खेल बराबरीमा सकिएको थिए।
पीएसजीका एमबाप्पे सन् २०१६/१७ सिजनपछि च्याम्पियन्स लिगको नकआउट चरणमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। उनले यस अवधिमा पीएसजीका लागि सात गोल गरेका छन्। यस अवधिमा उनीभन्दा बढी गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो (१६ गोल) हुन्।
यसैगरी एमबाप्पे च्याम्पियन्स लिगको आफ्नो सुरुवाती तीन ‘अवे खेल’ मा गोल गर्ने इङ्ल्यान्डका तेस्रो खेलाडी पनि बनेका छन्। यसअघि यस्तो सफलता हात पार्ने दुईजना इङ्लिस खेलाडी लुइस एनरिक र एडिन डेको हुन्।
बुधबार बिहान भएको म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा दुबै गोलका लागि पीएसजीका एन्जल डी मारियाले पास उपलब्ध गराएका थिए। उनले च्याम्पियन्स लिगमा दुई गोलका लागि पास उपलब्ध गराएको यो तेस्रो पटक हो। पीएसजीका गोलरक्षक जियानलुइगी बुफोन ४१ वर्षको उमेरमा च्याम्पियन्स लिग खेल्ने विश्वकै चौथो खेलाडी बनेका छन्। यसअघि मार्को बोलोट्टा, मार्क स्वार्जर र ओलेक्जेन्डर सोभकोभस्कीले यस्तो कीर्तिमान बनाएका थिए।
यसैगरी एफसी पोर्टोविरुद्धको खेलमा रोमाका लागि सात मिनेटको बीचमा निकोलो जानिलोले दुबै गोल गरेका थिए। ७० औं मिनेटमा पहिलो गोल गरेका जानिलोले ७६ औं मिनेटमा टोलीका लागि अर्को गोल थपेका थिए। एफसी पोर्टोका लागि भने एकमात्र गोल ७९ औं मिनेटमा एड्रिन लोपेजले गरे।