मादी र सेती नदीमा सिग्नेचर पुल
काठमाडौं : मादी र सेती नदीमा सिग्नेचर पुल निर्माण हुने भएको छ। तनहुँको मादी खोला र कास्कीको सेती नदीमा सिग्नेचर पुल निर्माण गर्न लागिएको हो। पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने सडकलाई आकर्षक देखाउन सिग्नेचल पुल निर्माण गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालयका उपआयोजना निर्देशक सुरेश पौडेलले जानकारी दिए।
‘नेपालमा निर्माण गरिएका परम्परागत मोटरेवल पुलको विकल्पमा सिग्नेचर पुल आकर्षक देखिन्छ। पुराना पुलले पर्यटक आकर्षित गर्न सकेका छैनन्’, पौडेलले भने, ‘नयाँ पुलबाटै दृश्यावलोकन गर्न सकिनेछ।’ आकर्षक डिजाइनका कारण पुलले पर्यटकको ध्यान तान्ने उनले बताए। पोखरा घुम्म आउने पर्यटक र स्थानीयका लागि पनि पुल आकर्षणको केन्द्र हुनेछ। नेपालमा हालसम्म सिग्नेचर पुल निर्माण भएको छ। पुल आकर्षण बनाउन काठमाडौंको बिजुली बजारमा नेटवर्क आर्क ब्रिज निर्माण गरिएको छ। कोटेश्वरको तीनकुनेमा निर्माणाधीन छ। चालु आर्थिक वर्षको बजेटमा सरकारले सहर नजिकका खोलामा आकर्षक पुल बनाउने उल्लेख गरेको थियो। सडक विभाग पुल महाशाखाले सहर उन्मुख क्षेत्रका अन्य खोलमा पनि सिग्नेचर पुल बनाउने तयारी गरेको छ।
सरकारले पोखरा–मुग्लिन सडकखण्डलाई चार लेनमा विस्तार गर्ने योजना बनाएको छ। आबुखैरेनीदेखि पोखरासम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। सडक विस्तारसँगै यी दुई स्थानमा सिग्नेचर पुल बनाउन लागिएको हो। मुग्लिन–आबुखैरेनीको डीपीआर निर्माणको चरणमा छ। यो खण्डमा ६७ मेगावाट क्षमताको मस्याङदी जलविद्युत् गृह छ। जलविद्युत् गृह बचाउन आयोजनाले मस्याङदी खोलाको दुवै किनारमा सडक बनाउने योजना अघि सारेको छ। यसरी सडक निर्माण गर्दा पुरानो रेखांकन परिवर्तन गर्नुपर्नेछ। मन्त्रिपरिषद्बाट सौद्धान्तिक सहमतिपछि डीपीआर प्रक्रिया अघि बढाइनेछ।
सरकारले सहर उन्मुख क्षेत्रका अन्य खोलमा पनि सिग्नेचर पुल बनाउने तयारी गरेको छ।
पोखरा–मुग्लिन सडकखण्ड एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा विस्तार गरिनेछ। एडीबीले ऋण उपलब्ध गराउन सौद्धान्तिक सहमति दिएकाले डीपीआर निर्माण गरिएको हो। फागुनको पहिलो साता एडीबीका प्रतिनिधि यो सडकखण्ड अवलोकन गर्न आउने आयोजनाले जानकारी दिएको छ। अवलोकन भ्रमणपछि ऋणको विषयमा सहमति हुनेछ। ‘पछिल्लो समय एडीबीले पूर्व–पश्चिम राजमार्ग विस्तारमा जोड दिएको छ’, पौडेलले भने, ‘एडीबीकै ऋण सहयोगमा विस्तार र डीपीआरको काम भइरहेको छ।’
पोखरा–मुग्लिन सडकखण्ड पनि महत्त्वपूर्ण भएकाले एडीबीको सहयोग लिन खोजिएको हो। आबुखैरेनी–पोखराको डीपीआर निर्माण भइसकेकाले पहिलो चरणमा यो सडक विस्तार गरिनेछ। चालु आर्थिक वर्षभित्रमै सडक विस्तार गर्ने कम्पनी छनोट गरिनेछ। ठेक्का सम्झौता भएको साढे तीन वर्षभित्रमा सडक र सिग्नेचर पुल निर्माण हुने उनले बताए।
यस्तो हुन्छ सिग्नेचर पुल
सिग्नेचर पुल हेर्दा आकर्षक देखिन्छ। पैदलयात्रीका लागि पुलको दायाँ र बायाँ फुटपाथ हुन्छ। सोही स्थानबाट दृश्यावलोकन गर्न, फोटो खिच्न र नदी वरपरको वातावरण नियाल्न सकिन्छ। सामान्य मोटरेबल पुलभन्दा आकर्षक हुने भएकाले लागत पनि ४० प्रतिशत बढी हुन्छ। माथिबाट घुमाएर ल्याइने भएकाले एक प्रकारको आर्क पुलका रूपमा सिग्नेचरलाई बुझिन्छ। कम संख्यामा पिलरको प्रयोग हुने, बत्ती रहने, दायाँबायाँ फराकिला पैदल यात्रुका लागि स्थान छाडिनेछ। मादी र सेती नदीमा पनि यस्तै आकर्षक पुल निर्माण गर्न खोजिएको हो। आयोजनाका अनुसार मादीको लम्बाई तीन सय मिटर र सेतीको लम्बाई एक सय ३० मिटर हुनेछ। बढ्दो सहरीकरणका क्षेत्रमा ट्राफिक चाप बढी हुने हुँदा ४ लेनको सिग्नेचर पुल बनाउन लागिएको सीडीई शाक्यले बताए।
पुलको चौडाई करिब १९ मिटरको हुनेछ। एक लेन सडकको चौडाइ साढे ३ मिटरको हुन्छ। दायाँ र बायाँबाट आउने गाडीलाई दुर्घटनाबाट बचाउन १ मिटरको डिभाइडर राखिने छ। पैदल यात्रीलाई दायाँबायाँ दुई÷दुई मिटरको फुटपाथ छोडिनेछ। पुल आकर्षक देखाउन डण्डीमा कलात्मक डिजाइन दिइनेछ। बित्तीको प्रयोग पनि गरिनेछ। सडक विभागले पुलको लागत मूल्यांकन गरिरहेको छ। अन्तर्राष्ट्रियस्तरमा यस्ता पुल पर्यटकीय आकर्षणको रूपमा प्रयोग गरिने भएकाले नेपालमा पनि बनाउन लागिएको पौडेलले बताउँछन्।