त्यस्ता दिन फर्केर कहिल्यै नआऊन्
जाजरकोट : बुढेस कालको साहारा एक मात्र छोरो माओवादी द्वन्दका क्रममा मारिएपछि भेरीमालिका नगरपालिका-१ कालेगाँउकी ६८ वर्षीया चनमती बटाला अहिले साहाराविहीन भएका छिन्। देश र जनताको मुक्तिका लागि तत्कालिन विद्रोही माओवादीले २३ वर्ष अघि थालेको 'जनयुद्ध' मा लागेकै कारण २४ वर्षे लक्का जवान छोरो दीपक बटाला २०५५ सालमा सुरक्षाकर्मीको शिकार बनेपछि चनमतिका दु:खका दिन सुरु भए।
त्यति बेला दिपक स्थानीय त्रिभुवन माविमा पढ्दै थिए। उनी माओवादी निकट विद्यार्थी संगठनमा आवद्ध थिए।विद्यार्थी संगठनमा आवद्ध भएकै कारण घरबाटै गिरफ्तार गरी उनको हत्या गरियो। चनमतीका श्रीमानको पहिले नै मृत्यु भइसकेको थियो।चार छोरी विवाह गरेर आ-आफ्नो घरमा छन्।अहिले वृद्धा चनमति एउटी अपाङ्ग छोरीसहित साहाराविहीन अवस्थामा छिन्।
चनमती भन्छिन्, 'आफ्नो छोराजस्तै हजारौं नेपालीले युद्धको नाममा अकालमा ज्यान गुमाए। हजारौं व्यक्तिको रगतको खोलो बगाएर व्यवस्था त परिवर्तन भयो तर हाम्रो दु:खमा साथ दिने कोही भएन।' माओवादीले जनयुद्धताका बाँड्ने गरेका आश्वासन र सपना खोक्रा सावित हुँदै गएकोमा दुःख लागेको उनले बताइन्। 'नेताहरुले आफ्नो स्वार्थ पूर्तिका लागि सोझासाझा जनतालाई मर्न र मार्न लगाए। तर के पाए? काटमारभन्दा नेपाली जनतालाई सुशासन, विकास, शान्ति र स्थिरता चाहिएको छ', उनले भनिन्, 'नेपाली नेपालीबीच काटमार कहिल्यै नहोस्। मेरो जस्तो नियती कसैले पनि भोग्न नपरोस्। फेरि त्यस्ता दिन फर्केर कहिल्यै नआउन।'
२०५२ साल फागुन १ गते तत्कालिन नेपाल कम्नियुस्ट पार्टी माओवादीले शसस्त्र युद्धको घोषणा गरी 'जनयुद्ध' थालेको २३ वर्ष पुग्यो। माओवादी जनयुद्ध छोडेर शान्ति प्रक्रियामा आएकै १२ वर्ष बितिसक्यो। तर सुन्दर सपना सजाएर द्वन्दमा होमिएका हजारौंको पीडा भने अहिलेसम्म कायमै छ।
जाजरकोट, रुकुम, रोल्पा, कालिकोटलगायतका मध्यपश्चिम पहाडलाई आधारभूमि बनाएर माआवादीले संचालन गरेको 'जनयुद्ध' पछिल्लो पुस्ताका लागि एकादेशको दन्ते कथाजस्तै बनेको छ। तर अघिल्लो पुस्ता जसले शसस्त्र द्वन्द भोगे, व्यहोरे ती मानिस फेरी यस्ता दिन कहिल्यै नदोरिउन भनेर कामना गर्छन्।
द्वन्दपीडित स्थानीय।
माओवादी द्वन्दको क्रममा सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका भेरीमालिका नगरपालिका- १ पिपेका भद्रवीर रानाकी श्रीमति बली राना अहिले पनि श्रीमान फर्केर आउँछन् कि भन्ने झिनो आशा पालेर बाँचिरहेकी छिन्। 'माओवादी आउँथे, घरमा पकाएको खान खान्थे, कार्यक्रममा बोलाएर लान्थे, त्यही गरेको निहुँमा सुरक्षाकर्मीले श्रीमानलाई घरबाटै पक्राउ गरेर बेपत्ता पारेको करिब १७ वर्ष वितिसक्यो, 'बलीले भनिन्, 'जीवन साथी गुमाउनुको पीडा आँसु पिएर सहेकी छु। फेरि पनि मेरोजस्तो पीडा कसैले भोग्न नपरोस्। युद्धको नाममा हामीजस्ता सोझा नागरिकलाई तड्पाउने काम कसैले नगरुन।'
२०५६ साल जेठ २९ गते जिल्लाको लहँ प्रहरी चौकीमा आक्रमण गरी चार प्रहरीको हत्या गरेर चौकी कब्जा गरेपछि स्थानीय चारजना कांग्रेस कार्यकर्तालाई लाइन लगाएर माओवादीले काटेको प्रत्यक्ष देखेको लहँ ४ का रामबहादुर खत्रीलाई अहिले त्यो घटना सम्झदा पनि आङ सिरिङ हुन्छ।
'मलाई पनि लाइनमा लगाइयो, म लाइनको अन्तिममा थिए, अगाडीबाट काट्दै आए, खत्रीले भने, 'काटिनु भन्दा भाग्छु, जे परे पर्ला भनेर भागे। बाँच्न सफल भएँ। पछि सदरमुकाममा आएर लुकेर बसे । अहिलेसम्म गाउँ फर्केर गएका छैन।' भन्छन्, 'फेरि यस्तो दिन कहिल्यै देख्न र भोग्न नपरोस्।'
सुराकीको आरोप लगाउँदै माओवादीले मार्ने धम्की दिएपछि खुकुरी दस्ता बनाएर कांग्रेसका ती युवाहरु प्रहरी चौकीकै शरणमा बस्दै आएका थिए।उक्त घटना पछि धेरै कांग्रेस कार्याकर्ताले थातथलो छोडे। सदरमुकाम र शहरी क्षेत्रतिर विस्थापित भए। घटना सम्झँदै नलगाड ७ दल्लीका वीनबहादुर सिंहले भने, 'बाँच्ने र मर्ने ठेगान हुँदैनथ्यो। त्यतिबेलाको अवस्था निकै जटिल थियो।'
द्वन्दको दोहोरो मारमा यस क्षेत्रका सर्वसाधारण जनता परेको नागरिक अगुवा राजेन्द्र विक्रम शाह बताउँछन्। 'एकातिर माओवादी कार्यकर्तालाई खाना खुवाएको, कार्यक्रममा भाग लिएको, चन्दा दिएको, सुराकी लगायतका क्रियाकलापमा संलग्न भएको भन्दै सुरक्षाकर्मीको निसानामा सर्वसाधारण पर्थे।त्यसो नगरे माओवादी निसानामा पर्ने त्रास थियो।
यही त्रासको बीचमा १० वर्षे युद्धमा कयौंका सिन्दुर पुछिए, कैयौं टुहुरा तथा घाइते भए।कतिको घरबार उजाड भयो।यति हुँदाहुँदै पनि देशको आर्थिक, सामाजिक अवस्थामा आमुल परिवर्तन गर्ने सुन्दर सपना बुनेर युद्धमा होमिएका युवायुवतीहरु अहिले निराश छन्', शाह भन्छन्, 'अरुको अवस्था सुधार्ने भनेर युद्धमा होमिएका आफ्नै दुरावस्था भएपछि कामको खोजीमा खाडीमुलुक जान बाध्य छन्।
जनयुद्ध थालनी गर्ने माओवादी शान्तिप्रक्रियामा प्रवेश गरेसँगै पटक पटक सत्तामा गएपनि कार्यकर्ता र जनयुद्धमा सहयोग गर्ने नागरिकको चाहनाअनुसार अगाडी बढ्न नसकेको स्थानीयको गुनासो छ। 'खोलो तर्यो, लौरो बिर्सियो भने झैं माओवादीले व्यवहार गरेको भेरीमालिका-१ रावतगाउँकी माओवादी सहिद पत्नी दीपा विकले भनिन्, 'हिजो मार्न र मर्न लगाउनेले सहिद, बेपत्ता र अन्य सर्वहारा वर्गको जीवन निर्वाहमा कुनै चासो दिएन यो दुःखको कुरा हो।'
जनयुद्धकालमा जाजरकोटका ३ सय ७३ जनाले ज्यान गुमाएका थिए भने सयौ विस्थापित र घाइते भएका थिए। त्यस्तै सयौं महिला विधवा भए। बालबालिका टुहुरा भए।दर्जनौ सरकारी संरचना ध्वस्त भए। सरकार माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १० वर्ष वितिसक्दा पनि न त पीडितले न्याय पाएका छन्, न क्षतिपूर्ति।न त सबै सरकारी संरचना पूर्णरुपमा पुर्ननिर्माण हुन सकेका छन्।