कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको धर्ना, ३२ वर्षे लागू गर्न माग
काठमाडौँ : नेपाल विद्यार्थी संघको एक समुहले माउ पार्टी नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । नैनसिंह महर अध्यक्ष रहेको नेविसंघ केन्द्रीय समिति भंग भएपछि नयाँ बन्ने समितिमा ३२ वर्षे उमेर हदबन्दी लगाउनुपर्ने माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।
पार्टीको केन्द्रीय समितिको बैठक जारी रहेका बेला बाहिर नेविसंघ आवद्ध नेता कार्यकर्ताले पार्टी मुख्यालय सानेपा बाहिर धर्ना दिएका हुन् । केन्द्रीय समिति बैठकमा नेविसंघको नयाँ तदर्थ समितिका बारेमा पनि छलफल भइरहेको छ ।
'हाम्रो माग नेविसंघ भंग नगरी त्यसैलाई अधिवेशन गर्न दिनुपर्छ भन्ने थियो तर त्यो पुरा भएन', नेविसंघको निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले भने, 'अब बन्ने तदर्थ समितिमा ३२ बर्ष मुनिकालाई ल्याउनुपर्छ ।' कांग्रेसले नेविसंघमा ३२ बर्षे उमेरहदबन्दी तोकिसकेको छ ।