गहुँमा फौजी कीराको प्रकोप, किसान चिन्तित
बैतडी : जिल्लाको पाटन नगरपालिकाका विभिन्न स्थानमा गहुँमा फौजी कीराको प्रकोप देखिएको छ। पाटन-६ स्थित पाटन सेरोमा गहुँमा फौजी कीराको प्रकोप देखिएको किसान शंकरदत्त भट्टले बताए। उनले गहुँ उत्पादन हुने खेतमा फौजीकीराको प्रकोप बढेपछि चिन्ताले सताएको बताए।
गहुँमा फौजी कीराको प्रकोप देखिएपछि भोकमरी हुने चिन्ताले सताउन थालेको अर्का किसान गणेशदत्त भट्टले बताए। उनले भने, 'गहुँमा बाला लाग्ने बेला फौजी कीरा लागेर नष्ट गरिसकेको छ। खेतभरी फौजी कीरा फैलिने क्रम जारी छ। गहुँ उत्पादन हुने खेतमै फौजी कीराको प्रकोप देखिए पछि भोक प्यासै हराउन थालेको छ।'
पाटनमा ५० भन्दा बढी किसानको खेत रहेको सेरामा फौजीका कीराको प्रकोप देखिएको पाटनका स्थानीय वसन्तप्रकाश बिष्टले बताए। किसानले मिहनेत गरेर लगाएको खेतामा फौजी कीराले आक्रमण गरेपछि यो वर्ष गहुँ उत्पादनमा कमी आउने उनले बताए।
गहुँमा फौजी कीराको प्रकोप देखिएपछि किसानमा भोकमरी हुने चिन्ता छाएको छ। 'मिहनेत गरेर लगाएको बालीमा कीराले सखाप पारेपछि के खाने भन्ने चिन्ता छाएको छ।यसले हामीलाई निकै दुखित बनाएको छ।'पाटनका स्थानीय धर्मसिंह बिष्टले भने, 'किसानको समस्या बुझ्ने कोही भएनन्।जुनसुकै ठाउँमा पनि किसानले नै समस्या भोग्नु परिरहेको छ।'
गहुँमा फौजी कीराको प्रकोपका बारेमा आफूलाई ढिलो जानकारी आएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए।उनले गहुँमा फौजी कीराले आक्रमण गरेर धेरै क्षति पुर्याएको जानकारी आएको बताए।' अब फौजी कीराको प्रकोप नभएका ठाउँमा यसको नियन्त्रणका लागि बिषादीको प्रयोग गर्नुपर्छ। त्यसका लागि बिषादी किन्ने प्रक्रिया सुरु गरिएको छ।'
जिल्लामा कुल २१ हजार हेक्टरमा गहुँखेती गरिँदै आएको छ। सो मध्ये पाटन क्षेत्रमा ३५० हेक्टरमा गहुँखेती गरिँदै आएको छ। उत्पादनका हिसाबले पाटन गहुँ उत्पादन बढी हुने क्षेत्र भएपनि यो वर्ष भने फौजी कीराको प्रकोपले उत्पादन घट्ने अनुमान गरिएको कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख चन्दले बताए। फौजी कीराले गहुँको पात तथा डाँठ खाइदिने भएकाले गहुँबाली पुरै नष्ट हुने गरेको कृषि प्राविधिकले बताएका छन्।
बैतडीको पाटनमा फौजी कीराको प्रकोप देखिएको गहुँबाली।