नेपाल हिरो गोल्ड कपको फाइनलमा
काठमाडौं : नेपाल हिरो गोल्ड कप महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । पछिल्लो महत्वपूर्ण खेलमा म्यानमारले भारलाई २–० ले पराजित गरेपछि नेपाल फाइनलमा प्रवेश गरेको हो ।
भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपालको महिला टोली फाइनलमा प्रवेश गरेको हो । बुधबार भएको खेलमा नेपालले इरानलाई ३–० र म्यानमारले भारतलाई २–० गोलले पराजित गर्दै शुक्रबार हुने फाइनलमा स्थान बनाएका हुन् ।
बलियो टोली इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाली महिला फुटबल टोली फाइनल पुगेको हो ।भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा भएको जित्नै पर्ने खेलमा फिफा वरियताको १०६ औं स्थानको नेपालले ६० औं वरियताको बलियो टोली इरानलाई ३-० ले हराएको हो ।
नेपालको प्रभावशाली जितमा पहिलो गोल खेलको ४१ औं मिनेटमा अनिता बस्नेतले गरिन् । नेपालको जितमा थप दुई गोल स्ट्राइकर साबित्रा भण्डारीले गरिन् । उनले खेलको दोस्रो हाफमा दुवै गोल गरिन् ।खेलको ५९ औँ र ८९ औं मिनेटमा साबित्राले गोल गर्न सफल भइन् ।
हिरो कपमा साबित्राले चार गोल गरिसकेकी छन् । सावित्राले बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध पनि दुई गोल गरेकी थिइन् । आफ्नो पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित भएको थियो । नेपालले त्यसयताका दुवै खेलमा जित निकालेको छ।