हुम्लामा हावाहुरीले दर्जन बढी स्कुलको छानो उडायो
सिमकोट : हिमपातपछि तिव्र रुपमा चलेको हावाहुरीले हुम्लाका एक दर्जनभन्दा बढी स्कुलहरुको छानो उडाएको छ । सदरमुकाम सिमकोटमै रहेको मानसरोवर माध्यमिक विद्यालय र साहारा समुहको छात्राबासको छानो नै उडाएको छ ।
शिक्षा विकास समन्वय इकाई प्रमुख वर्ष फडेराका अनुसार हावाहुरीले रलिङ्ग मावि बरगाउँ, मालिका मावि लाली, कैलाश आधारभुत विद्यालय प्युस, लगायत विद्यालयका कक्षाकोठाको छाना उडाएको हो ।
मिनपचास बिदाको समय परेको बेला विद्यालयमा कोही नहुँदा मानवीय क्षति भने भएन । सदरमुकाम सिमकोटको मानसरोवर माविको कक्षा १२ कोठे भवनको पूरै छानो हावाहुरीले उडाएपछि कक्षा कोठाभित्रै २ फिटभन्दा बढी हिउँ जमेको छ ।
विद्यायका प्रधानाध्यापक अमरबहादुर शाहीका अनुसार फागुनको पहिलो साताबाट विद्यालयको पठन पाठन सुरु हुने विद्यालयका कक्षा कोठामा हिउँ थुप्रिएपछि कक्षा सञ्चालन गर्न कठिनाइ भएको छ ।
यस्तै सिमकोट तल्लो बजारमा जिल्लाभरीका ५७ जना फरक क्षमता भएका बालबालिकालाई आवास र पठनपनठनको व्यवस्था गर्दै आएको साहारा नेपालको छात्राबासको छानो उडाएपछि छात्रावासमा आश्रय लिएका बालवालिकालाई बस्नै समस्या भएको बताइएको छ ।
छात्राबासको छानो उडाएपछि फरक क्षमता भएका बालिबालिकालाई खुला आकासमुनि चिसो हिउँमै बस्न बाध्य छन् । कोठामा राखिएका खाध्यन्न समेत हिउँले भिजाएर खाना पकाउन समेत नहुने भएपछि उनीहरुलाई बिहान बेलुकाको खाना समेत खान धौ भएको छ ।
लगातार ३ दिनसम्म परेको हिमपातसँगैको हावाहुरीले जिल्लाका धेरै सार्वजनिक र व्यक्तिगत भवनको समेत छाना उडाएको भन्दै राहतका लागि केही स्थानीयले प्रशासनसँग गुनासो गरेका छन् ।