अज्ञात रोगले बैतडीमा भैंसी मर्न थाले
बैतडी : जिल्लाको सुर्नया गाउँपालिका-८ मा अज्ञात रोगले धमधाम भैंसी मर्न थालेका छन्।गएको एक हप्तायता पालेका भैंसी मर्न थालेपछि किसान चिन्तित भएका छन्। गहुँत रातो हुने, खुट्टा सुन्निने, र्याल चुहाउने, खाना नखानेजस्ता लक्षण देखिएको किसान पठानसिंह बोहराले बताए।उनको अज्ञात रोगबाट एउटा भैंसी मरेको छ भने अरुमा पनि यस्तै लक्षण देखा परेको उनले बताए।रोगका कारण भैंसी मर्न थालेपछि चिन्ता बढेको बोहराले बताए।
गाउँमा अहिलेसम्म दुईवटा भैंसी मरिसेका छन् भने १० भन्दा बढी बिरामी परेका छन्। किसानले पालेका भैंसी रोगले मर्न थालेको वडा नम्बर ८ का वडाअध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए। उनले भने, 'वडाको ढोले, सेलालगायतका टोलमा किसानले पालेका भैंसी धमाधम मर्न थालेका छन्।यसले किसानलाई हजारौंको नोक्सानी भएको छ।वडामा पशु प्राविधिक नहुँदा रोगको बारेमा पहिचान हुन सकेको छैन्।'
गाउँपालिका भरी एकजना पशु प्राविधिक मात्रै छन्।उनललाई खबर गरिसकेको वडा अध्यक्ष बोहराले बताए।स्थानीय तहका वडामा प्राविधिक कर्मचारी समेत नहुँदा किसानले समय समयमा विभिन्न समस्या झेल्दै आएका छन्।
जिल्लाको लेकाली क्षेत्रका किसान भैंसी पालनबाटै जिविकोपार्जन गर्दै आएका छन्।पछिल्लो समयमा विभिन्न रोगका कारण भैंसी मर्न थालेपछि किसान चिन्ता छाएको छ।सुर्नया गाउँपालिका-८ मा गत वर्ष पनि अज्ञात रोगका कारण १० भैंसी मरेका थिए।